नक्कली गरिमा धानको क्षति मूल्याङ्कन « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

नक्कली गरिमा धानको क्षति मूल्याङ्कन


६ मंसिर २०७६, शुक्रबार


चितवन । चितवनका छ र मकवानपुरका दुई पालिकामा लगाइएको नक्कली गरिमा धानको क्षति मूल्याङ्कन गरिएको छ । जग्गाको उत्पादन क्षमताको आधारमा रु १० करोड ३७ लाख २९ हजार ४८४ र उत्पादन लागतको आधारमा रु सात करोड ३६ लाख ९१ हजार ३०० बराबरको क्षति मूल्याङ्कन गरिएको छ ।

बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापाको नेतृत्वमा गठन भएको समितिले दुवै जिल्लामा लगाइएको धानको क्षति मूल्याङ्कन गरेको हो । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालका अनुसार क्षतिको विवरण कृषि सचिव युवकध्वज जिसीलाई समितिले आज बुझाउँदै छ । ढकालले भने, ‘हामी आजै कृषि सचिवलाई प्रतिवेदन बुझाउँदै छौं । क्षतिपूर्ति के कति हुने भन्ने निर्णय सरकारले गर्छ ।’

केन्द्रका बाली विकास अधिकृत माधव पौडेलका अनुसार समितिले बालीको लागत अनुमानको आधारमा, बीमा नीतिको आधारमा र उत्पादन क्षमताको आधारमा क्षति मूल्याङ्कन गरेको छ । बालिको लागत अनुमानको आधारमा रु ७ करोड ३६ लाख ९१ हजार ३१७ क्षतिको मूल्याङ्कन गरिएको पौडेलले जानकारी दिए । यसमा प्रतिकट्ठा लागत मूल्य रु तीन हजार ६३५ मूल्याङ्कन गरिएको छ ।

बीमा नीतिको आधारमा रु ६ करोड ६३ लाख २२ हजार १८६ क्षति मूल्याङ्कन गरिएको छ । यसमा पनि प्रतिकट्ठा लागत रु ३ हजार ६३५ नै मूल्याङ्कन गरिएको छ । उत्पादन क्षमताको आधारमा सबैभन्दा बढी रु १० करोड ३७ लाख २९ हजार ४८४ क्षति मूल्याङ्कन गरिएको उनले जानकारी दिए । यसमा प्रतिकट्ठा रु ५ हजार ११६ मूल्याङ्कन गरिएको छ ।

कृषि ज्ञान केन्द्र, चितवनले दिएको जानकारीअनुसार उत्पादन क्षमताको आधारमा मकवानपुरको मनोहरी गाउंँपालिकाको २७२ बिघा क्षेत्रफलको रु ५ हजार ११६ का दरले रु १३ लाख ९१ हजार ७३३ बराबरको क्षति मूल्याङ्कन गरिएको छ । यसैगरी राक्सिराङ गाउंँपालिकाको ७६ बिघामा लगाइएको धानको रु तीन लाख ८८ हजार ८६६ क्षति मुल्याङ्कन गरिएको छ ।

चितवन जिल्लाको राप्ती नगरपालिकाको ६ हजार ४० बिघाको प्रतिकठ्ठा सोहीअनुसार रु ३ करोड ९ लाख ४ हजार ६६६, खैरहनी नगरपालिकाको ४ हजार १११ बिघा क्षेत्रफलको रु २ करोड १० लाख ३८ हजार ९८३, कालिका नगरपालिकाको १ हजार ६८ बिघाको रु ५४ लाख ६७ हजार १५८ क्षति मूल्याङ्कन गरिएको छ ।

यसैगरी रत्ननगर नगरपालिकाको ३ हजार १३० बिघामा रु एक करोड ६० लाख १८ हजार ९०१, भरतपुर महानगरपालिकाको ३ हजार २७५ बिघाको रु १ करोड ६७ लाख ६१ हजार ७४ क्षति मूल्याङ्कन गरिएको छ । यस्तै माडी नगरपालिकाको २ हजार २९८ बिघामा रु एक करोड १७ लाख ५८ हजार १०० क्षति मूल्याङ्कन भएको छ ।

केन्द्रले दिएको जानकारीअनुसार समितिले उत्पादन लागत अनुमानको आधारमा पनि क्षति मूल्याङ्कन गरेको छ । मनोहरी गाउंँपालिकामा २७२ कठ्ठा क्षेत्रफलमा रु ९ लाख ८८ हजार ७१२ बराबरको क्षति मूल्याङ्कन गरिएको छ ।

राक्सिराङ गाउंँपालिकाको ७६ बिघामा रु २ लाख ७६ हजार २५८ बराबरको क्षति मूल्याङ्कन गरिएको छ । यसैगरी राप्ती नगरपालिकाको छ हजार ४० कट्टा क्षेत्रफलको रु २ करोड १९ लाख ५५ हजार २३८, खैरहनीको चार हजार १११ बिघामा रु एक करोड ४९ लाख ४६ हजार ४७७ क्षति मूल्याङ्कन भएको छ ।

यसैगरी रत्ननगर नगरपालिकामा ३ हजार १३० बिघा क्षेत्रफलमा रु ३८ लाख ८३ हजार ९६९, भरतपुर महानगरपालिकाको ३ हजार १३० बिघामा रु १ करोड १९ लाख सात हजार ३७२ को क्षति मूल्याङ्कन गरेको छ । माडी नगरपालिकाका २ हजार २९८ बिघामा रु ८३ लाख ५३ हजार १६८ क्षति भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिकाबाहेक सबै तहमा गरिमा धान लगाइएको थियो । सबै स्थानीय तहमा गरी नक्कली गरिमाको धानबाट २ हजार ६९० किसान यसको प्रत्यक्ष मारमा परेका छन् । २ जिल्लामा गरी ६७५ हेक्टरमा यो धान लगाइएको थियो ।

गरिमा जातको धानमा तोकिएको समयभित्र बाला नलागेपछि सरकारी टोलीले स्थलगतरुपमा क्षतिको मूल्याङ्कन गरेको थियो । मूल्याङ्कन टोलीले बाला नलागेको धान सक्कली गरिमा जातको धान नभएको बताएको थियो । धान पाक्ने समयमा पनि बाला नलागेपछि कृषक चिन्तित वनेका छन् ।

प्रतिक्रिया दिनुहोस