भारत विरुद्धको आन्दोलन जारी राख्न देउवाको निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भारत विरुद्धको आन्दोलन जारी राख्न देउवाको निर्देशन


२३ कार्तिक २०७६, शनिबार


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको विवादित नक्साको विरोधमा भइरहेको आन्दोलन जारी राख्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले लिपुलेक, कालापानी र लिपियाधुरा भारतले आफ्नो नक्सामा पारेको विरोधमा आन्दोलन थप शशक्त पार्न निर्देशन दिएका हुन् ।

अस्कल क्याम्पसमा आन्दोलनरत नेविसंघ नेताहरुसँग शनिबार देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा सभापति देउवाले भारतीय नक्सा सच्याउनका लागि दबाब दिन राष्ट्रिय एकता आवश्यक भएको पनि बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले आफूले भारतले जारी गरेको पछिल्लो नक्सा सच्याउन भारतीय राजदूत र कुटनीतिज्ञसँग आग्रह गरेको जानकारी पनि गराएका थिए ।

भारतले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिन्छ । सो नक्सा सच्याउन र अतिक्रमित नेपाली भूमि फिर्ता गराउन माग गर्दै देशभर भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ ।

सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेविसंघले अलग(अलग प्रदर्शन गर्दै आएका छन् ।

नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालको भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन् । तर, भारतले भने आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस