सहसचिव र उपसचिव परीक्षा तयारीका सहज तरीका - प्रशासन प्रशासन

सहसचिव र उपसचिव परीक्षा तयारीका सहज तरीका


प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार ०७:१४

लोक सेवा परीक्षा अति प्रतिस्पर्धी हुने गर्दछ । यसको तयारी एउटा निश्चित तरीकाबाट गरियो भने यसले सफलता हासिल गर्नमा सहयोग गर्दछ । आजको अंकमा उप सचिवको परीक्षा प्रथम पटकमै र सहसचिवको परीक्षामा पहिलो स्थानमा उत्तीर्ण हुनुभएका दामोदर रेग्मी संग गरिएको कुराकानीमा आधारित सामग्रीहरु प्रस्तुत गर्न गैरहेका छौं । दामोदर रेग्मीका लोकसेवा र परीक्षा उपयोगी संघीय शासन प्रणाली, सुशासन र विकास तथा नेपालमा संघीयताका अवसर र चुनौती नामक पुस्तक प्रकाशित भैसकेको छ भने प्रशासनको सुदृढीकरणमा प्रशासनको भूमिका र संघीय अर्थ प्रणाली नामक इ-बुकहरु पनि प्रकाशित भैसकेका छन् । संघीय शासन प्रणाली, सार्वजजिक वित्त व्यवस्थापन, प्रशासन र व्यवस्थापनका विविध विधाहरुमा कलम चलाइरहने व्यक्तित्व दामोदर रेग्मीका विचारोपयोगी उपयोगी लेखहरुको प्रशासन डट कममा नियमित रुपमा प्रकाशन हुँदै आइरहेको छ । सहसचिव र उपसचिव परीक्षा तयारीका सहज तरीका के-के हुन् त बहु आयाममा आधारित परीक्षण प्रणालीका चरणबारे रेग्मीको विचार

पाठ्यक्रमको जानकारी

सहसचिवको परीक्षा प्रणाली
सहसचिवको परीक्षामा निम्न ३ किसिमका परीक्षा प्रणाली रहेका छन्
क. लिखित परीक्षा (Written Exam)
ख. कौशल/गुणमापक परीक्षण (Competency Test)
ग. अन्तर्वार्ता (Interview)

लिखित परीक्षा
लिखित परीक्षाको लागि नेपाल प्रशासन सेवा, नेपाल परराष्ट्र सेवा, नेपाल लेखापरीक्षण सेवा, नेपाल संसद सेवा र नेपाल न्याय सेवा (न्याय, कानून र सरकारी वकिल समूह), राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि पाठ्यक्रम एवं परीक्षा योजनामा प्रथम पत्र शासकीय प्रबन्ध र विकास रहेको छ । दोश्रो पत्र सार्वजनिक क्षेत्र व्यवस्थापनमा जवाफदेहिता, नैतिकता र व्यवसायिकता रहेको छ । तृतीय पत्रमा प्रशासन, परराष्ट्र, लेखापरीक्षण, संसद र न्याय (न्याय, कानून र सरकारी वकिल समूह) सेवाको लागि सम्बन्धित सेवा अनुरुप फरक-फरक विषय राखिएका छन् । यी तीनै पत्रहरुको पूर्णांक सय-सय रहेको र उत्तीर्णांक चालीस-चालीस रहेको छ र समय ३ घण्टा रहेको छ । प्रथम र दोश्रो पत्रमा पच्चीस अंकभारका चार-चार वटा प्रश्नहरु सोधिन्छन् । तृतीय पत्रमा सेवा समूह अनुसार प्रत्येक एकाइबाट एक एकवटा प्रश्नहरु सोधिन्छन् । तीनै पत्रको परीक्षा प्रणाली समीक्षात्मक विश्लेषण र समस्या समाधान रहेको छ ।

लोक सेवा आयोगको परीक्षण प्रणाली बहु आयाममा आधारित भएकोले तयारी पनि तदनुरुप हुनु आवश्यक छ ।

लिखित परीक्षाको यो परीक्षा प्रणालीमा सफलताको लागि पाठ्यक्रमको गहन जानकारी, पाठ्यक्रमका विषयहरुबीचको अन्तरसम्बन्ध, ती विषयहरुको सैध्दान्तिक अवधारणा, नवीनतम प्रवृत्ति र नेपालमा त्यसको प्रयोग, समस्या र समाधानका उपायहरुबारे जानकार हुनु आवश्यक छ । सोधिएका प्रश्नहरुमा समस्या के हो ?, समस्याको कारणहरु के के हुन् ?, समस्याका प्रभावहरु के के हुन् ?, समस्याको समाधानार्थ चालिनुपर्ने कदमको वारेमा स्पष्ट हुने गरी लेख्नु आवश्यक हुन्छ । लिखित परीक्षाले सूचनाको उपलब्धता र विश्लेषण क्षमताको परीक्षण गर्ने गर्दछ । यसर्थ लिखित परीक्षाको तयारीमा पाठ्यक्रमको सबै विषय समेटिएका पुस्तक पढ्ने र पढिएका शीर्षकहरुबीच अन्तरआबध्दता खोज्ने काम गर्नु पर्दछ ।

कौशल/गुणमापक परीक्षण
यो परीक्षामा मामिलाको व्यक्तिगत प्रस्तुतीकरण गर्नु पर्दछ । यसकोसंग पूर्णांक ५० समय ५० मिनेट रहेको छ । यसमा कुनै विषयमा समस्या दिइएको हुन्छ । परीक्षार्थीले आफूलाई प्राप्त समस्याको शीघ्र पावर प्वाइन्ट बनाइ प्रस्तुति गर्नु पर्दछ । दिइएको मामिलामा मूल समस्या के हो, समस्याको कारणहरु के के हुन् ?, समस्याका प्रभावहरु के के हुन् ?, समस्याको समाधानार्थ चालिनुपर्ने कदमहरु के के हुन् ?, यसको लागि जिम्मेवार र सहयोगी निकाय कुन् कुन हुन् ?, समस्या समाधानार्थ नीतिगत, संस्थागत, श्रोतगत, मानवश्रोत र सम्बोधन खोजेका अन्य क्षेत्रको बारेमा सटीक र स्पष्ट हुने गरी प्रस्तुति गर्नु आवश्यक हुन्छ । कौशल/गुणमापक परीक्षणले परीक्षार्थीको व्यवहारोपयोगी सिर्जनशीलताको परीक्षण गर्ने गर्दछ ।

अन्तर्वार्ता
४० पूर्णांक रहेको अन्तर्वार्ता बोर्ड अन्तर्वार्ता परीक्षा प्रणालीमा आधारित रहेको छ । यसमा विषय विज्ञहरुको समितिले पाठ्यक्रम, अवधारणा, नवीनतम प्रवृत्ति, समसामयिक विषयहरुमा आधारित रहेर वाक् परीक्षा लिने गर्दछ । यसमा परीक्षार्थीको सिर्जनशीलता, नेतृत्व कौशलता, धैर्यता जस्ता पक्षहरुको परीक्षण गर्ने गरिन्छ ।

लिखित परीक्षाले सूचनाको उपलब्धता र विश्लेषण क्षमताको परीक्षण गर्ने गर्दछ यसर्थ पढिएका शीर्षकहरुबीच अन्तरआबध्दता खोज्ने काम गर्नु पर्दछ ।

उपसचिवको परीक्षा प्रणाली
उपसचिवको परीक्षामा निम्न ३ किसिमका परीक्षा प्रणाली रहेका छन्
क. लिखित परीक्षा
ख. सक्षमता परीक्षण
ग. अन्तर्वार्ता

लिखित परीक्षा
नेपाल प्रशासन, परराष्ट्र, लेखापरीक्षण, संसद र न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि पाठ्यक्रम एवं परीक्षा योजना निम्नानुसार रहेको छ

प्रथम चरण — लिखित परीक्षा पूर्णाङ्क — २०० समय तीन-तीन घण्टा
• प्रथम पत्र प्रशासन र व्यवस्थापन (सबै सेवा समूहको लागि)
• दोश्रो पत्र सेवा सम्बन्धी (प्रत्येक सेवा/समूहका लागि छुट्टाछुट्टै)
• यसमा दुबै पत्रहरुमा १५ अंकभारका १ वटा प्रश्न जसको उत्तर सैद्घान्तिक —तर्कयुक्त र विश्लेषणात्मक हुनुपर्ने, २० अंकभारका ३ वटा समस्या समाधानमूलक प्रश्न र २५ अंकभारको १ वटा मामिला विश्लेषण संग सम्बन्धित प्रश्न सोधिन्छन् ।

दोश्रो चरण सक्षमता परीक्षण पूर्णाङ्क — ३० समय ५० मिनेट
• डालोमा रहेको समस्याबाट एउटा समस्या लिने र सो समस्यालाई तत्कालै लिखित उत्तर दिने
• दिइएको समस्यामा मूल समस्या के हो, समस्याको कारणहरु के के हुन् ?, समस्याका प्रभावहरु के के हुन् ?, समस्याको समाधानार्थ चालिनुपर्ने कदमहरु के के हुन् ?, यसको लागि जिम्मेवार र सहयोगी निकाय कुन् कुन हुन् ?, समस्या समाधानार्थ नीतिगत, संस्थागत, श्रोतगत, मानवश्रोत र सम्बोधन खोजेका अन्य क्षेत्रको वारेमा सटीक र स्पष्ट हुने गरी प्रस्तुति गर्नु आवश्यक हुन्छ । यसमा परीक्षार्थीको व्यवहारोपयोगी सिर्जनशीलताको परीक्षण गर्ने गरिन्छ ।

तृतीय चरण —अन्तर्वार्ता पूर्णाङ्क — ३०
बोर्ड अन्तर्वार्ता विधिमा आधारित यस प्रणालीमा विषय विज्ञहरुको समितिले पाठ्यक्रम, अवधारणा, नवीनतम प्रवृत्ति, समसामयिक विषयहरुमा आधारित रहेर वाक् परीक्षा लिने गर्दछ । यसमा परीक्षार्थीको सिर्जनशीलता, नेतृत्व कौशलता, धैर्यता जस्ता पक्षहरुको परीक्षण गर्ने गरिन्छ ।

पुस्तकको छनौट कसरी गर्ने
बजारमा लोकसेवा परीक्षालाई लक्षित गरेर लेखिएका थुप्रै पुस्तकहरु पाइन्छन् उचित सन्दर्भ सामग्री प्रयोग भएका सामयिक विषयको छनौट र परीक्षाको प्रस्तुतिमा ध्यान दिएर लेखिएका लेखकहरुको पुस्तक छनौट गर्दा राम्रो हुन्छ। पुस्तक यस्तो किनौं जो परीक्षाका अतिरिक्त अन्य समय र सन्दर्भमा समेत उपयोगी बनोस । जसले परीक्षामा उत्तीर्ण गराउनुको साथै पछि पनि काम लागोस् ।

आधारभूत विषय तथा पुस्तकहरु
सबै परीक्षाको लागि केही पुस्तकहरु आधारभूत हुने गर्दछन् जस्तो संविधान निजामती सेवा एन र नियमावली आवधिक योजना सरकारको नीति तथा कार्यक्रम बजेट वक्तव्य आर्थिक सामाजिक सूचकहरु राजनैतिक प्रणाली विश्व परिवेशमा चर्चामा रहेका विषयहरु सेवा समूहसंग सम्बन्धित नीतिहरु । यी विषयहरुमा जानकार हुनु आवश्यक हुन्छ ।

पढाइको शुरुवात कसरी गर्ने ?
पुस्तकको छनौट गर्नुपूर्व कुन पदको परीक्षा दिदैछौ सो को पाठ्यक्रम के छ ?, सो जानकारी हुनु पर्दछ । यसपछि सो पाठ्यक्रममा समावेश भएका सबै विषय रहेका जुनसुकै पुस्तकहरुलाई आफ्नो मूल पाठ्यसामग्री बनाउन सकिन्छ । शुरुमा पढिने यी पुस्तकहरु छोटो छरितो र सरल भाषामा भएको भएमा विषय र अवधारणा बुझ्न सजिलो हुन्छ। शुरुको यो पढाइले हामीलाई पाठ्यक्रमको समग्र विषयसंग परिचित गराइदिन्छ । यो पढाइले हामीमा एक तहको क्षमता विकास गरिदिन्छ । तर यो चरणको पढाइले मात्र निखारता आइसकेको हुदैन र प्रतिस्पर्धाको लागि पूर्ण बनाएको पनि हुदैन । यसर्थ अब आधिकारिक किताब जसमा पाठ्यक्रमका विषयहरुलाई सैध्दान्तिक पक्ष अन्तरार्ष्ट्रिय र राष्ट्रिय परिवेशमा प्रयोगको अवस्था प्रवृत्ति अवसर र चुनौतीहरु लगायतका पक्षमा वर्णनात्मक प्रस्तुति रहेका पुस्तक पढ्नु पर्दछ । दोश्रो चरणको यो पढाइले हामीमा आत्म विश्वास बढाइदिन्छ। लोक सेवा आयोगको परीक्षण प्रणाली बहु आयाममा आधारित भएकोले तयारी पनि तदनुरुप हुनु आवश्यक छ ।

पढ्ने र सम्झने कसरी ?
• दैनिक कति समय पढ्ने हो त्यसको कार्ययोजना बनाउने
• धेरै समय पढेर कम कुरा स्मृतिमा राख्ननुको साटो पढेजति सम्झन सकिने किसिमबाट पढ्ने
• पढ्दा आफूलाई सजिलो हुने गरी नोट तयार गर्ने
• एक विषय पढिसकेपछि अर्को विषय पढ्दा ती दुई विषयको अन्तरसम्बन्ध पहिचान गर्ने
• विषयहरुको एक अर्कासंगको अन्तरसम्बन्ध कायम गर्ने
• पढेका कुरालाई विस्तार र संकुचन गर्न सक्ने क्षमताको विकास गर्ने
• पढाइ पछि कुन कुन विषयलाइ कुन कुन कोणवाट परीक्षामा कसरी सोध्न सक्ने संभावना हुन्छ त्यसको बारेमा एक्लै गम्ने वा मनमिल्दो साथीसंग छलफल गर्ने
• सम्झन कठीन कुराहरुलाई सूत्र अक्षर वा अंकको आधारमा सम्झने
• तथ्यांकहरुलाई कहां-कहां कसरी प्रस्तुत गर्न सकिन्छ त्यसको अन्तर आवध्दता के हो र त्यसले कस्तो प्रवृत्तिको संकेत गरिरहेको छ सो बारे स्पष्ट हुने ,

सफलता प्राप्तिको लागि अन्य प्रतिस्पर्धी भन्दा राम्रो र फरक बन्नु आवश्यक हुन्छ ।

अरु भन्दा भिन्न कसरी हुने  ?
सफलता प्राप्तिको लागि अन्य प्रतिस्पर्धी भन्दा राम्रो र फरक बन्नु आवश्यक हुन्छ । यसको लागि सम्बन्धित संस्थाका वेवसाइट जर्नल प्रतिवेदन विभिन्न सर्च इन्जिनबाट नयां सामग्री तथा चित्रमय प्रस्तुति खोज्ने गर्नु पर्दछ । तेश्रो तहको पढाइले हामीलाई अरु प्रतिस्पर्धी भन्दा भिन्न आकर्षक र सवल बनाइदिन्छ । पढाइमा यी तीन तहको श्रृंखलाबध्द संयोजनको आवश्यकता रहन्छ । लोक सेवा वा अन्य यस्ता प्रकृतिका प्रतिस्पर्धात्मक परीक्षाको लेखाई राम्रो भएर मात्र पुग्दैन अरु प्रतिस्पर्धीको भन्दा विचारोत्तेजक, सिर्जनशील र वस्तुपरक हुनु अति आवश्यक हुन्छ । जसले परीक्षामा सफलता हासिल गर्नमा सहयोग पुर्याउंदछ ।

उत्तरको लेखन कसरी ?
उत्तरमा कुनै प्रश्नका सबै विषय सम्बोधन हुनु आवश्यक छ । जस्तो के ?, किन कसरी ?, कहिले ?, कसले ? उत्तरको शुरुवात प्रश्नको मूल आशयको सम्बोधनबाट हुनु आवश्यक छ । यसपछि सो विषयको अवधारणात्मक पक्ष के हो यसको प्रयोग अन्तर्राष्ट्यि रुपमा कसरी भैरहेको छ । के कस्ता नवीनतम अवधारणाहरु प्रयोग भएका छन् ?, नेपालमा कानूनी नीतिगत र संस्थागत व्यवस्था के कस्तो छ ? सकारात्मक पक्षहरु के के छन् ? र कमजोरीका क्षेत्रहरु कहां कहां छन ? र ती कमजोरी हटाउन के कस्ता सुधारहरुको आवश्यकता छ ? भन्ने विषयलाई समय सीमा भित्र रहदै समेटिनु आवश्यक हुन्छ । अर्को महत्वपूर्ण पक्ष भनेको एउटा प्रश्नमा धेरै विषय संग जोडेर प्रश्नहरु सोधिएका हुन्छन् यसरी सोधिएका सबै विषयलाई उत्तरले सम्बोधन गर्नु पर्दछ र सकारात्मक र नकारात्मक सम्बन्ध वा प्रभावका क्षेत्रहरु पहिचान गरिदै जानु पर्दछ ।

लिखित परीक्षाको तयारी र लेखन शैलीबीच गहिरो अन्तरसम्बन्ध
लिखित परीक्षाको तयारी पढाइको तयारीसंगै शुरु हुनुपर्दछ । पढ्दा पाठ्यक्रमका सबै विषयको न्यूनतम जानकारी राख्ने र एक शीर्षकको अन्य शीर्षकसंग अन्तर सम्बन्ध खोज्ने गर्नु पर्दछ । पढाइ लेखाइ दुबैले आवश्यक सूचनाको अतिरिक्त नवीनता, सिर्जनशीलता र पूर्णताको माग गर्दछ । पढाइ इनपुट हो भने शीर्षकहरु र मुद्दाहरुबीच अन्तरसम्बन्ध कायम गर्ने विषय प्रोसेस हो लेखाइ आउटपुट हो । इनपुट र प्रोसेसबीच सामन्जस्यता हुन सके मात्र राम्रो आउटपुट निस्कन्छ । यी तीन प्रक्रियाको सवल समायोजनले राम्रो आउटकम अर्थात राम्रो अंक प्राप्तिमा सहयोग पुर्याउंदछ । विषयहरुको एक अर्का संगको अन्तरसम्बन्ध कायम गर्ने र पढेका कुरालाई विस्तार र संकुचन गर्न सक्ने गरि पढिएमा त्यसले लेखाइमा प्रभावकारिता ल्याउंछ ।

उत्तर बुँदागत कि विश्लेषणात्मक ? चित्र राख्ने नराख्ने ?
शुरुवात सधै अनुच्छेदबाट गर्ने, राम्रा पक्ष, नराम्रा पक्ष, नीतिगत र संरचनागत पक्षहरुलाई उप शीर्षक बनाइ बूंदागत रुपमा पनि लेख्न सकिन्छ । समस्याको पहिचान वा समाधानका उपायहरु पनि बूंदामा लेख्दा राम्रो देखिन्छ । तर यसरी बूंदामा लेखिएका विषयहरुलाई थप विश्लेषण गर्नु पर्ने हुन्छ, विश्लेषण अनुच्छेदमा कलात्मक र आकर्षक रुपमा प्रस्तुत गरिनु राम्रो हुन्छ ।

आवश्यकता अनुसार लेखिएका कुराको संक्षिप्त प्रस्तुति र आकर्षकताको लागि रेखा चित्रहरु राख्नु पनि राम्रो हुन्छ । निष्कर्ष वा प्रश्नले माग गरेको उत्तरको निचोड पनि अनुच्छेदमा आउनु राम्रो हुन्छ । यसरी उत्तरमा बूंदा र अनुच्छेद दुबै प्रयोगमा आउन सक्दछन् । सूचनाको सामान्य प्रस्तुती वूंदा मार्फत र त्यसको विश्लेषण अनुच्छेदमा आउनु पर्दछ । बूंदाको प्रस्तुतिले परीक्षार्थीहरुको ज्ञानको स्तर मापन गर्न सकिन्छ भने अनुच्छेदले सिर्जनशीलता । बूंदा लेखनले समयको बचत हुन्छ तर त्यसको प्रभावकारी प्रस्तुतिको लागि विश्लेषण आवश्यक हुन्छ । यी दुबै पक्षको समायोजनले हाम्रो प्रस्तुति आकर्षक हुने र समय व्यवस्थापनमा पनि सहयोग पुग्दछ ।

उत्तरको खण्ड विभाजन
यसमा कम्तीमा तीन खण्ड हुनु पर्दछ । पहिलो सोधिएको पक्षको अवधारणात्मक पक्ष, दोश्रो प्रश्न केन्द्रित रहेको पक्षको स्थिति विश्लेषण तथा समाधानका संभाव्य क्षेत्रहरु र तेश्रो आशावादिता वा सकारात्मक समाधान सहितको निचोड । पहिलो र तेश्रो खण्डका प्रस्तुति छोटो, आकर्षक र पत्यारिलो हुनु आवश्यक हुन्छ भने दोश्रो भागले पहिलो र तेश्रो भागकोबीचमा सामन्जस्यता र अन्तरसम्बन्ध स्थापित गरेको हुनु पर्दछ र सूचनाको व्यवस्थापन आकर्षक ढंगले गरिनु पर्दछ ।

कुनै विषयलाई विस्तार र संकुचन गर्न सक्ने गरी पढिएमा अंकभारको अनुपातमा समय व्यवस्थापन गर्न सकिन्छ ।

समय व्यवस्थापनमा कौशलता
अधिकांश परीक्षार्थीहरुमा समय व्यवस्थापनको समस्या देखिने गर्दछ । यो कौशलताको बुध्दिमत्तापूर्वक व्यवस्थापन हुनु जरुरी छ । यसका लागि प्रश्नको अंकभार अनुसार समय विभाजन गर्ने, बढी अंकभार भएका प्रश्न एउटा निश्चित अवधिभित्र लेखिसक्ने पूर्व योजना, बढी जानेको विषयलाई निर्धारित समयावधी भन्दा बढी नलम्ब्याउने, कम जानेका विषयलाई छोड्ने वा कम लेख्ने नगरी एउटा निश्चित परिमाणमा लेख्ने जस्ता विषयहरु परीक्षामा सामेल हुनुपूर्व नै समय योजना बनाउने र परीक्षाहलमा प्रश्नपत्र पाइसकेपछि प्रश्नको आधारमा पूर्व निर्धारित समय योजनामा तत्कालै सामान्य परिमार्जन गरि तत्काल उत्तर लेख्ने कार्य गर्नु पर्दछ ।

अंकभारको अनुपातमा समय व्यवस्थापन
प्रश्न जति अंकभारको छ र सो अंकभारले कूल प्रश्नको अनुपातमा कति समय माग गर्दछ सोही परिधिको सामान्य सीमारेखा कायम हुने गरि उत्तरको लम्बाइ व्यवस्थापन हुनु आवश्यक हुन्छ । जानेका कुराको प्रस्तुती आकर्षक बनाउनुको अतिरिक्त समय सीमाको लक्ष्मण रेखाको पालना हुनु पनि आवश्यक पर्दछ । लेखनको गति कम हुने व्यक्तिले समय व्यवस्थापनमा बढी ध्यान दिनु आवश्यक छ । कुनै विषयलाई विस्तार र संकुचन गर्न सक्ने गरि पढिएमा अंकभारको अनुपातमा समय व्यवस्थापन गर्न सकिन्छ ।

अक्षर र सुद्धासुद्धि
अक्षर सकभर राम्रो हुनु आवश्यक छ तर उत्तर पूर्ण वा सन्तोषजनक भएन भने राम्रो अक्षरलेमात्र काम गर्दैन । त्यस्तै उत्तर सही लेखिए पनि अक्षर नबुझिए त्यसको पनि कुनै अर्थ रहदैन । यसर्थ कम्तीमा पनि अरुले पढ्न सक्ने अक्षर हुनुपर्दछ र सुद्धासुद्धिमा पनि ध्यान दिनु आवश्यक हुन्छ ।

आत्म विश्वास सफलताको महत्वपूर्ण सारथी
सबै तयारी पूरा भए पनि तयारीका हरक्षण आत्म विश्वासलेयुक्त र सफलताप्रति आशावादी हुनु आवश्यक छ । आशावादिताले उत्साह र सकारात्मकताको संचार गरिदिन्छ ।

Tags: , , , ,

प्रतिक्रिया दिनुहोस