सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रूपनी गाउँपालिका–१ स्थित सडक खण्डमा बस र ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते छन् ।
काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८२१४ नम्बरको यात्रुबाहक बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ५९०३ नम्बरको ट्रक शुक्रबार राति एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा बसका चालक स्याङ्जा जगतदेव घर भई रूपन्देहीको बुटवल बस्दै आइरहेका ४० बर्षीय नोमोराज न्यौपानेको मृत्यु भएको छ । गम्भीर घाइते उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बुटबल–३ बस्ने ४२ वर्षीय धनबहादुर सिरिस, नबलपुर काबासोती नगरपालिका–८ बस्ने ४८ वर्षीय ढोलराज सुवेदी, झापाको बिर्तामोड–६ बस्ने वर्ष २५ का निर्मल खतिवडा, १६ वर्षीय गणेश खतिवडा, रूपन्देहीको बेलबस–३ बस्ने चन्द्र थापाका २ वर्षीय छोरा समराज थापा, झापाको भद्रपुर–९ बस्ने १६ वर्षीय युनिश निरौलासहितका बसका यात्रुहरु घाइते छन् ।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
ट्रकका चालकलाई नियन्त्रणमा लिइ मनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।







