काठमाडौं । महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अपरेशनमा पक्राउ परेका ६ जना ‘भीआईपी’ जुवाडेलाई नछोड्न अदालतले आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बुधबार उनीहरुलाई साथमै राख्न आदेश दिएको हो ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले छापा हानेर पक्राउ परेका मध्ये ६ जना भीआईपी जुवाडेको तर्फबाट आइतबार अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट परेको थियो ।
रिट दायर गर्नेमा क्यासिनो किङका रुपमा चिनिने गुण्डा बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्ट्रीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामा थिए ।
शनिबार राति महाराजगञ्जबाट पक्राउ परेका उनीहरुको साथबाट २ करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो।
बरामद भएका हजार र ५ सय रुपैयाँका नोट गन्न प्रहरीलाई करिब ३ घन्टा लागेको थियो । पक्राउ परेका २४ जनाविरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा चलाउने प्रहरी तयारी छ ।
बिहीबार अदालत खुलेपछि कानून बमोजित पक्राउ परेकामाथि अनुसन्धान गर्न म्याद थप गरिने डीएसपी उमेश लम्सालले बताएका छन् ।
सर्वोच्चको आदेश अनुसार प्रहरीले बिहीबार उनीहरुलाई अदालत उपस्थित गराउने छ।