बेझाड । पाल्पाको रामपुरका दिलबहादुर थापाले शुरु गरेको व्यावसायिक फूल खेतीतर्फ गाउँका अन्यको समेत आकर्षण बढ्दो छ । फूल खेतीको अवलोकन गर्न आउनेको चहलपहल बढ्दै गएको छ ।
थापाले जग्गा भाडामा लिएर फूल खेती थालेका हुन् । उनले तिहार पर्वलाई लक्ष्य गरी मखमलीलगायत फूलखेती शुरु गरेका छन् । रामपुरमा नयाँ व्यवसाय भएकाले फूल खेतीतर्फ अन्यको आकर्षण ह्वात्तै बढेको छ । फूलसम्बन्धी बुटवलमा एक हप्ताको तालीम लिएका थापाले परीक्षणका रुपमा डेढ रोपनी क्षेत्रफलमा फूल लगाएका हुन् । ‘अहिले फूल फुल्न थालेको छ, खरिद गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ’, उनले भने ।
नेपालगञ्ज, बुटवललगायत बजारबाट फूलको माग आएको थापा बताउछन् । उनले पहिलो पटक नेपालगञ्ज बजारमा फूल बिक्रीका लागि पुर्याइसकेका छन् । ‘परीक्षणका रुपमा थोरै जग्गामा फूल लगाए, माग बढ्दै गएको छ’, उनले भने । थापाले मालाको आकार अनुसार प्रतिमाला रु एक सयदेखि रु एक सय ५० सम्म तथा प्रतिकिलो रु तीन सय ५० सम्ममा फूल बिक्री गर्दै आएका छन् । अहिले रामपुर क्षेत्रमा हुने गरेका सभा, समारोह, कार्यक्रमलगायतमा थापाले उत्पादन गरेको फूल बिक्री भइरहेको छ ।
थापाले फूलका बिरुवा समेत उत्पादन गर्दै आएका छन् । उनले फूलप्रति बिरुवा रु २० मा बिक्री गर्छन् । थापाले रामतुलसी मावि र रामपुर आधारभूत विद्यालयलगायतलाई अनुदानमा फूलका बिरुवा उपलब्ध गराउँदै आएका छन् । रामपुर क्षेत्रमा पछिल्लो समय चाडपर्वमा बजारमा आएका प्लाष्टिकको माला खपत बढ्न थालेको देखेपछि उनले फूल खेती शुरु गरेका हुन् । ‘फूल नपाएर प्लाष्टिकका माला किनेर लगाउनुपर्ने अवस्था थियो’, उनले भने।
दश वर्ष विदेशमा मजदूरी गरेर फर्किएका थापाले दुई वर्षदेखि गाउँमै तरकारी खेती शुरु गरेका छन् । मखमली र सयपत्री फूललाई विशेष गरी तिहारको मुख्य पहिचानका रुपमा लिने गरिन्छ । फूलको महत्वबारे स्थानीयवासीले चासो नदिँदा गाउँघरमा फूल लोप हुने अवस्थामा पुगेको थियो ।
थापाको फूल खेतीले धेरैको मन जितेको छ । फूलले बजार नपाए रामपुर नगरपालिकाले बजार व्यवस्थापन गर्ने जिम्मा लिएको छ । नगरपालिकाले बजार व्यवस्थापनको जिम्मा लिने भएपछि थापाको हौसला बढेको छ ।