माटोका भाँडा बिक्री अत्यधिक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

माटोका भाँडा बिक्री अत्यधिक


४ कार्तिक २०७६, सोमबार


विराटनगर । तिहार नजिकिँदै गर्दा यहाँ माटाको भाँडा बिक्री अत्यधिक मात्रामा भइरहेको छ । प्रदेश नं १ को राजधानी विराटनगर बजारमा अहिले व्यापारीलाई माटोबाट बनेका विभिन्न सामग्री बेच्न भ्याइनभ्याइ भएको छ ।

उज्यालोको पर्वका रुपमा चिनिएको तिहारका लागि माटोका भाँडा बनाउनमै कुमाले व्यस्त छन् । सर्वसाधारण सानो दियो, कलश, घैला, मटकुरी, हन्डी धुपोरो, चारमुखे दियोलगायत सामग्री किनमेल गर्न बजार आउने गरेका छन् ।

दियो प्रतिदर्जन रु १२, कलश जोडीको रु ५०, धुपुरो सानो प्रतिगोटा रु ५० र ठूलो रु ८०, ठूलो दियो प्रतिगोटा रु ३०, हण्डी रु १५ देखि रु ६० सम्ममा तथा मटकुरी रु १५ देखि रु ४० सम्ममा बिक्री वितरण हुने गरेको छ । व्यापारी निकै उत्साहित भएका छन् ।

विराटनगरका व्यापारी सन्तोष पण्डित माटोको भाँडा बनाउने मेशिन कामदारको अभावमा बन्द गरेर राख्नुपरेको बताउछन् । ‘माटोको भाँडा बजारबाट किनेर बेच्ने गरेको छु’, उनले भने । माटोका सामग्री बाह्रैमास बिक्री वितरण हुने गरेको पण्डितले बताए । ‘अरू बेलाभन्दा तिहारमा धेरै बिक्री हुन्छ’, उनले भने ।

माटोका भाँडावर्तन विवाहका अवसरमा पनि अत्यधिक मात्रामा बिक्री हुन्छ । माटोबाट तयार पारिएका भाँडोमा बिरयानी, दही जमाउन तथा कुल्फिका लागि बढीजसो प्रयोग गरिन्छ ।

प्लास्टिकको सामग्री बिक्रीमा कमी आएको छ । आफूहरुको पुस्तैनी व्यापार भएकाले यसैका भरमा परिवारको पालनपोषण गर्दै आएको व्यापारी पण्डितको भनाइ छ ।

व्यापारी देवनारायण साह माटोको भाँडाको व्यापारबाट आफू खुशी रहेको बताउछन् । तिहारमा घर–घरमा दियो बाल्ने परम्परका कारण माटोका सामग्री बिक्री बढी हुने गरेको उनको भनाइ छ ।

अर्का व्यापारी पप्पु साहले माटोको भाँडा किन्न भारतको चिमडीया, सोनापुर र सुनसरीको देवानगञ्जबाट समेत आउने गरेको बताए । व्यापारीले माटोका सामग्री तीन महीना अघिदेखि नै निर्माण गर्न लगाउने गर्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस