चिनियाँ राष्ट्रपतिको भ्रमणले सरकारको उचाइ बढ्यो : मन्त्री लम्साल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चिनियाँ राष्ट्रपतिको भ्रमणले सरकारको उचाइ बढ्यो : मन्त्री लम्साल


१ कार्तिक २०७६, शुक्रबार


दमौली । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारको उचाइ बढेको गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताएका छन् ।

व्यास नगरपालिका–५ चापाघाटस्थित ज्येष्ठ नागरिक दिवाकालिन आश्रम सञ्चालनार्थ आजदेखि शुरु श्रीमद्भागवत ज्ञान महायज्ञलाई सम्बोधन गर्दै मन्त्री लम्सालले लामो समयको अन्तरालमा चीनका राष्ट्रपतिको भ्रमणले सरकार र नेपालको उचाइ अन्तर्राष्ट्रियस्तरसम्म बढेको बताए ।

चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा सरकारसँग भएका सम्झौता कार्यान्वयन अघि बढ्नेबित्तिकै नेपाल समृद्धिको पथमा अघि बढ्ने मन्त्री लम्सालले बताए । ‘यो सम्झौताले नेपालको लागि नयाँ ढोका खुलेको छ’, उनले भने, ‘नेपाल समृद्धिको बाटोमा हिँड्ने सुनिश्चित भएको छ ।’

फरक प्रसङ्गमा मन्त्री लम्सालले गण्डकी प्रदेश सरकारले पर्यटनलाई समृद्धिको पहिलो प्राथमिकतामा उल्लेख गरेकाले पूर्वाधार निर्माणमा सरकारको जोड रहेको बताए ।

‘पर्यटनको विकासका लागि पूर्वाधार पहिलो आवश्यकता हो’, मन्त्री लम्सालले भने, ‘त्यसका लागि सरकारले पूर्वाधार निर्माण, दक्ष जनशक्ति उत्पादनमा विशेष ध्यान दिएको छ ।’ प्रदेशभित्र हाल ९१८ किमि सडक मात्रै कालोपत्रे रहेको र ५ वर्षभित्र त्यसलाई पाँच हजार किमि पुर्‍याउने लक्ष्य लिइएको मन्त्री लम्सालले बताए ।

कार्यक्रममा संघीय सांसद केदार सिग्देलले अबको यात्रा समृद्धिको रहेकाले तीन तहको सरकार हातेमालो गरेर बढ्नुपर्नेमा जोड दिए । नकारात्मक कुरा गरेर मात्रै देशको विकास नहुने भएकाले जनता सकारात्मक सोचका साथ समृद्धिको बाटोमा हिँड्नुपर्नेमा उनले जोड दिए ।

ज्येष्ठ नागरिकलाई सेवा प्रवाह गर्ने उद्देश्यसहित निर्माण गरिएको भवनको दिगोपनाका लागि रकम सङ्कलन गर्ने उद्देश्यसहित शुरु भएको महायज्ञ कात्तिक ८ गतेसम्म सञ्चालन हुने भजन सङ्कृतन समूहका अध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिए । आश्रमको स्थायित्वका लागि अक्षयकोष स्थापना गर्ने र सोही अक्षयकोषको रकमबाट आश्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

ज्येष्ठ नागरिकलाई फुर्सदको समयमा दिन कटाउने वातावरण सिर्जना गर्ने उद्देश्यसहित रु ३५ लाखको लागतमा भवन निर्माण भएको छ । समूहका उपाध्यक्ष विष्णु गौतमका अनुसार ज्येष्ठ नागरिकले एक्लो महसुस गर्न थालेपछि दिउँसोको समयमा जम्मा हुने, एक आपसमा भलाकुसारी गर्ने गरी भजन सङ्कृत समूहले दिवाकालीन आश्रम निर्माण गरिएको हो ।

विभिन्न कारणले बाबुआमाको स्याहारमा छोराछोरीले समय दिन नसकेपछि यहाँका ज्येष्ठ नागरिक सदरमुकामस्थित पञ्चायन मन्दिर, चौतारालगायतका ठाउँमा जम्मा भएर दिन कटाउन बाध्य भएपछि आफ्नै ठाउँमा दिवाकालीन आश्रम निर्माण गरिएको उनले बताए ।

सङ्कृतन समूहले विसं २०७२ देखि कृष्णअष्टमीको अवसर पारेर कृष्णझुला कार्यक्रम गर्दै आएको छ । उक्त कार्यक्रममा भक्तजनबाट सङ्कलन भएको दान रकम, देउसीभैलो खेलेर सङ्कलन गरेको रकम र अन्य दानवीरको सहयोगबाट आश्रमको दुई तल्लाको भवन निर्माण गरिए पनि भवन अधुरै अवस्थामा रहेको समूहले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस