डिप बोरिङको अवस्था जीर्ण, किसान मर्कामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डिप बोरिङको अवस्था जीर्ण, किसान मर्कामा


३० आश्विन २०७६, बिहिबार


नेपालगञ्ज । बाँके जिल्लाका विभिन्न स्थानमा अत्यन्तै जीर्ण अवस्थामा रहेका सबै डिप बोरिङ सञ्चालनमा आउन सकेको छैन ।

जिल्लाका विभिन्न स्थानमा जडान गरिएका १०२ वटा डिप बोरिङमध्ये प्रायः सबै सरकारी उदासिनताका कारण टुटफुट र बिग्रेको अवस्थामा छन् । झण्डै २० वर्ष अगाडि डिप बोरिङ सञ्चालन हुँदा यहाँका किसानका खेतमा पानीको कमी थिएन । खेतमा सहजै बालीनाली सिँचाइ हुने गथ्र्यौं । तर डिप बोरिङको उचित सुरक्षा, व्यवस्थापन र समयमा मर्मत सम्भारमा ध्यान नपुर्‍याउँदा किसानका खेतबारीले फेरि सुख्खा रहनुको नियति भोग्नुपरेको छ ।

बाह्रैमास कृषि उत्पादन गर्नका लागि डिप बोरिङ सञ्चालनमा ल्याइएको थियो । डिप बोरिङ सञ्चालनको शुरुआती केही वर्ष किसानले त्यसको प्रयोग गरे । क्रमशः डिप बोरिङ बिग्रन थाले, तर तत्काल मर्मतसम्भारमा ध्यान नदिँदा यस्तो अवस्था आएको खजुरा–२ का किसान लक्ष्मण बस्नेत बताउछन् ।

अहिले डिप बोरिङको विकल्पमा आर्थिक अवस्था राम्रो भएका किसानले पानी तान्ने मोटरको प्रयोग गरिरहेका छन् । कमजोर आर्थिक अवस्था भएका किसानसँग आकाशे पानीको भरपर्नुको अरु विकल्प हुँदैन । डिप बोरिङ मर्मत र सञ्चालनका लागि अहिले पनि सरकारबाट कुनै ठोस योजना लागू भएको छैन ।

वर्षौंदेखि बन्द अवस्थामा रहेको डिप बोरिङ मर्मत गरेर सञ्चालन गर्नका लागि अर्बौं रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अहिले अधिकांश डिप बोरिङको महत्वपूर्ण सामग्री हराएका छन् । नेपालगञ्जस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार, त्यसबेला डिप बोरिङ चलाएबापतको विद्युत् प्राधिकरणको बक्यौता रकम पनि तिर्न सकिएको छैन ।

बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरमा मात्रै १९ वटा डिप बोरिङ छन् । जसमध्ये तीन वटा मात्र सञ्चालनमा छ । यस क्षेत्रका किसानले सबै डिप बोरिङ सञ्चालन गर्नुपर्ने माग खजुरा गाउँपालिका समक्ष प्रस्तुत गरेका छन् । बन्द भएका डिप बोरिङमध्ये कतिपयको ट्रान्सफर्मर चोरी भएको छ, कतिपयको मोटर जलेको छ त कतिपयको विद्युत् महसुल बक्यौता रहेको छ ।

बक्यौता नबुझाएसम्म विद्युत् प्राधिकरण विद्युत् जडान गर्ने पक्षमा छैन । तर समन्वय गरेमा आवश्यक सहयोग गर्न सकिने नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण शाखा प्रमुख रामदुलार यादवले बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाले भने नगर क्षेत्रका विभिन्न स्थानमा प्रयोगविहीन अवस्थामा रहेका करीब ३८ वटा डिप बोरिङको मर्मत कार्य अहिले शुरु गरेको छ । ‘नगरका वडा नं २२ र २४ मा दुई वटा डिप बोरिङ मर्मत गरेर सञ्चालनमा ल्याउन सफल भएका छौँ’, नगर प्रमुख डा. धवलशम्शेर राणाले भने।

डिप बोरिङ मर्मत गर्न उपमहानगरपालिकाले भारतको बहराइचबाट दक्ष मेकानिक बोलाएर काम शुरु गरेको हो । बोरिङको मर्मत र सञ्चालनका लागि उपमहानगरपालिकाले रु १० लाख बजेटसमेत छुट्याएको छ । मर्मत गर्न लागिएको अधिकांश डिप बोरिङको ट्रान्सफार्मर र महत्वपूर्ण पार्टपूर्जा चोरी भएको अवस्थामा रहेको छ । उपमहानगरपालिकाले डिप बोरिङ कृषक समूहलाई हस्तान्तरण गर्ने जनाएको छ ।

‘बाँकेका सबै ‘डिप बोरिङ सञ्चालनमा ल्याउन सकियो भने जिल्लाको कृषिमा क्रान्ति नै आउछ’, नगर प्रमुख राणाको भनाइ छ, ‘एउटा डिप बोरिङबाट झण्डै ३० देखि ४० बिघा जमीनमा सिँचाइ गर्न सकिन्छ ।’रासस

प्रतिक्रिया दिनुहोस