बिगार गरे छोराछोरीकै ठुलो डर ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बिगार गरे छोराछोरीकै ठुलो डर !


२४ आश्विन २०७६, शुक्रबार


काठमाडौँ । छिमेकी मुलुक चीनका राष्ट्रपती सी चिनफिङको नेपाल भ्रमणको पूर्व सन्ध्यामा खुबै चर्चामा आएको ‘तीन कुने पार्क’ पुग्दा धमाधम काम हुँदै थियो । कतै तयार पारिएको बगैँचामा पानीको फोहोरा हानिँदै थियो त कतै अझै रोप्ने तथा मिलाउने काम हुँदै थियो ।

निकै सफा, सुन्दर र मनमोहक देखिएको ‘तीन कुनै पार्क’ को एक फन्को मारेपछि भेटिए काठमाडौँ महानगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने । नगर प्रहरीको टोलीसहित एका बिहानै पार्क निर्माण स्थलमा देखिएका न्यौपाने निकै प्रफुल्ल मुद्रामा देखिन्थे ।

सामान्यतया औपचारिक कार्यक्रममा देखा भेट भइराखेको भए पनि दोहोरो कुराकानी हुन नपाएका न्यौपानेले चिनजानका क्रममा बझाङ्गी भाषा बोलेर दर्साएको आत्मीयताले अझ नजिक बनायो । ‘निकाई छौ कि त, कस्तो लाग्दै छ तमिलाई ?’ उनको प्रश्न झर्न नपाउँदै मेरो मुखबाट फ्याट्ट निस्किहाल्यो : ‘यो कति दिनसम्म यस्तै रहन्छ भन्ने कुरा मुख्य हो ।’

प्रतिउत्तरमा उनले भने, ‘यो त तपाईँ हामी सबैले कति दिन राख्छौँ भन्ने कुरा पनि त हो नि ? हैन र !’ मैले सहमति जनाए । ‘हेर्नुहोस् सबै सरकारले गर्छ भनेर मात्रै बस्यो भने त त्यो सायदै पुरा होला तर हामीले पनि सरकारले गरेका कामहरूमा अपनत्व ग्रहण गर्न सक्यौँ भने नहुने भन्ने हुँदैन’ उनले थपे ।

मर्मत गर्दै गरेको सडक पेटीमा उभिएर काम गराउँदै गरेका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले दायाँतर्फ फर्किएर हातले देखाउँदै भने ‘हेर्नुहोस् यो सडकको बिचमा कसैले बोटहरू हुर्किन्छ भनेर सोचेका थिए त ?’ ‘तर भयो त हेर्नुस् त आज हराभरा !’ उनले थपे ।

सँगै रहेका नगर प्रहरी प्रमुख डिएसपी धनपती सापकोटाले थपे ‘सार्क सम्मेलनका बेला बिरुवा रोप्दा ठुलै होहल्ला मच्चियो तर अहिले त राम्रै देखिइरहेका छ ।’

कुनै पनि कुरा बनाउने सँगसँगै त्यसको संरक्षण कसरी हुन्छ भन्ने कुराले बढी महत्त्व राख्ने न्यौपानेको भनाई थियो ।

‘हेर्नुस् त यो चार दिनमा बनेको संरचना’ उनले पार्क देखाउँदै भने ‘अब यो बनिसकेपछि कसरी संरक्षण गर्ने भन्ने बारे नागरिक पनि सचेत भई दियो भने त किन टिक्दैन, मज्जाले टिक्छ ।’

समयको परिवर्तनसँगै हाम्रा आनीबानी र व्यवहार पनि परिवर्तन हुँदै गएकोले अव नेपालीहरूमा पनि ‘बिगार्न हुँदैन है’ भन्नेमा चेतना आएको उनले बताए ।

‘हिजोका केटाकेटीहरू अति चकचके थिए, बिगार्ने–भत्काउने भनेपछि मक्ख पर्थे’ न्यौपानेले भने ‘आजका केटाकेटी हेर्नुस् त तपाईँले गल्ती गर्नुभयो भने तपाईँको छोराछोरीले नै किन गरेको भन्छ ?’

अब छोराछोरीको डरले पनि हामी सचेत हुनुपर्ने भएको उनको भनाई थियो ।

पछिल्लो समय नकारात्मक कुराहरूको प्रभाव समाजमा छिटै पर्ने र त्यसको प्रतिक्रिया पनि त्यति नै चाँडो आउने गरेको देखिन्छ । बिग्रेको र भत्केको कुरा त त्यसै पनि नराम्रो भई नै हाल्यो तर सपार्न र बनाउन खोज्दा पनि पहिल्यै आलोचना हुन थाल्नु विकासका लागि सबैभन्दा ठुलो चुनौती हो ।

हरेक क्षेत्रमा देखिएको चरम राजनीति, कमिसन र कामचोर तथा टालटुले प्रवृत्तिबाट राजनीतिज्ञ र कर्मचारीतन्त्र मुक्त हुन सक्ने हो भने मुलुकले काँचुली फेर्न समय धेरै समय लाग्ने छैन । बाँकी नागरिकलाई अपनत्व ग्रहण गराउँदै विकासमा सहभागी गराउने दायित्व पनि त राज्यकै हो नि हैन र !

 

Tags :
प्रतिक्रिया दिनुहोस