काठमाडौं । बलात्कार प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।
महराले गत आइतबार शाहीको कोठामा गएर बलात्कार प्रयासका साथै कुटपिट गरेको सार्वजनिक भएको थियो। घटना सार्वजनिक भएलगत्तै उनले सभामुखबाट राजीनामा दिएका छन्। अदालतको अनुमतिसँगै महरा जतिबेला पनि पक्राउ पर्ने सम्भावना छ।
सभामुखको सरकारी निवास बालुवाटारमा रहेका महराविरुद्ध किटानी जाहेरी परेलगत्तै प्रहरीले कडा निगरानी राखेको थियो। शाहीले भने सुरुमा महराले आफूलाई बलात्कार नै गरेको आरोप लगाएकी थिइन्।
त्यसपछि उनले महराले कुनै पनि दुर्व्यवहार नगरेको अभिव्यक्ति दिएकी थिइन्। त्यसपछि प्रहरीले उनको स्वास्थ्य परीक्षण गरेको थियो। त्यसपछि भने उनलाई किटानी जाहेरी दिएर अनुसन्धानमा सघाउन प्रहरीले आग्रह गरेको थियो।