हेटौंडा । मंगलबार बिहान १ बजे पूर्वपश्चिम राजमार्गको हेटौंडा-१५ रातोमाटे पोष्टमा चेकजाँचका लागि चढेका प्रहरी जवान सञ्जीवकुमार दासलाई समेत लिएर भागेपछि मकवानपुरमा प्रहरीले दुई राउण्ड गोली हानेर एक ट्रक चालकलाई गाँजासहित पक्राउ गरेको छ ।
प्रहरी जवान सञ्जीवकुमार दासलाई समेत लिएर भागेपछि पिछा गर्दै गएको प्रहरी टोलीले घेरा हाली ट्रक चालक पर्सा वीरगन्ज महानगरपालिका-२९ का अफ्रिका चौधरीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले चौधरीलाई नियन्त्रणमा लिँदा उनको देब्रे खुट्टामा दुई राउण्ड गोली प्रहार गरेको मकवानपुरका प्रहरी उपरिक्षक मुकेश सिंहले बताए । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रकबाट प्रहरीले १४ पोका गाँजा बरामद गरेको छ ।
७८ किलो ८०० ग्राम गाँजासहित पक्राउ परेका चौधरीलाई प्रहरीले हेटौंडा अस्पतालमा उपचार गराइरहेको छ । ट्रकमा रहेका अर्का एक ब्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ ।