गत वर्षकै योजनाको रकम भुक्तानी नहुँदा समस्या « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गत वर्षकै योजनाको रकम भुक्तानी नहुँदा समस्या


३१ भाद्र २०७६, मंगलबार


दार्चुला ।  शैल्यशिखर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा निर्माण गरेका योजनाको रकम भुक्तानी नगर्दा उपभोक्ता र मजदूर समस्यामा परेका छन् । काम गरेवापत बजेट भुक्तानी नगर्दा उपभोक्ता समितिले काम गर्ने मजदूरलाई ज्याला दिन सकेका छैनन् । जसका कारण अहिले स्थानीयवासी आक्रोशित बनेका छन् ।

नगरपालिकाको वडा नं ८ का जयदेव जोशी गत आर्थिक वर्षमा मसाना पानी मूल संरक्षण समितिको अध्यक्ष बन्नुभयो । गाउँमा खानेपानीको अभाव हुन नदिन थोरै बजेट भए पनि मूल संरक्षण गरौँ भन्ने उद्देश्य राखेर रु ५० हजार बजेट योजनाको अध्यक्ष बने । उनले भने, “वडाबाट योजना सञ्चालनका लागि कार्यादेश पाएपछि गाउँलेलाई काम गराएँ, काम राम्रै भयो, अनुगमन समितिले मूल्याङ्कन ग¥यो, बजेट भुक्तानीका लागि वडाले नगरपालिकालाई सिफारिस गर्‍यो, तर नगरपालिकामा गएपछि रकम नभएको चेक पाउन १० दिन कुर्नुपर्‍यो ।”

उनलाई नगरपालिकाले गत असार २५ गते ५० हजारको योजनामा रु ४६ हजारको चेक हस्तान्तरण गर्‍यो । “बैंकमा निकै भीड थियो, लगातार बैंक धाउन थालेँ, तर उपभोक्ता समितिको खातामा रकम जम्मा भएन, साउन सकियो, रकम जम्मा भएन, उल्टै पछि उपभोक्ता समितिलाई हस्तान्तरण गरिएका सबै चेक फिर्ता मागियो”, जोशीले भने, “जसले चेक फिर्ता दिएनन्, रकम पाए, चेक फिर्ता गर्नेले रकम पाएनौँ ।” रातदिन घरमा कामदारको लाइन लाग्न थालेपछि गाउँमै व्याजमा रकम निकालेर तिरेको उनले बताए ।

उनको जस्तै समस्या स्थानीय लीला महरको पनि छ । उनले पनि रु ८० हजारको योजनाको काम गराए । चेक फिर्ता गरेर अहिलेसम्म रकम नपाउँदा उनलाई पनि गाउँमा ब्याजमा ऋण निकालेर काम चलाउनुपरेको छ । घरजग्गा बेच्नुपर्ने अवस्था आएको उनले सुनाए । “आफैँ काम गरेर खाने मान्छे, उपभोक्ता समितिको अध्यक्ष बनाएपछि काम गराउनै पर्‍यो, रकम नपाएपछि घरजग्गा बेच्नुपर्ने अवस्था आएको छ”, उनले भने ।

उपभोक्ता समितिलाई काम गरेको रकम माग्दा नगरपालिकाले नदिएको स्थानीयवासी महादेव जोशीले बताए । उनले भने, “दशैँतिहार नजिक आउन थाल्यो, काम गरेको रकम पाएका छैनौँ, नुन, तेल किन्न हामीजस्ता मजदूरलाई समस्या भइसक्यो, अहिलेसम्म गाउँको व्यवहारिकताले रकम माग्न ढिलाइ गर्‍यौँ, तर अहिलेसम्म काम गरेको ज्यालासमेत नपाउँदा हातमुख जोर्न धौधौ परेको छ ।” चेकका लागि सधैँ बोलाउने तर कहिल्यै नदिँदा नगरपालिकाले दुःख दिएको जोशीले सुनाए ।

वडा नं ८ मा मात्रै वडा, नगरपालिका र प्रदेश सङ्घमार्फत ८६ योजनाका लागि रु ८० लाख बजेट पुगेको थियो । हाल आएर त्यही वडाका ४५ योजनाको रकम भुक्तानी भएको छैन । वडाध्यक्ष अजब विष्टका अनुसार झण्डै रु ६० लाख बढी भुक्तानी पाउन बाँकी छ । ५० हजारदेखि एक लाखसम्मका योजना निर्माण भएका छन् । नगरपालिकाले शुरुमा वडालाई ४० लाख बजेट सिलिङ दिँदै योजना बनाउन भनेको थियो ।

पछिल्लो समय कार्यपालिका, नगरसभाका बैठकबाट योजना थप गर्दै लगेपछि योजनाको सङ्ख्या बढेको हो । पछिल्लो समय नगरपालिकाले योजनाभन्दा पहिल्यै अन्य शीर्षकमा रकम खर्च गरेपछि योजनाको भुक्तानी नपाएइको बताइएको छ । वडाध्यक्ष विष्ट नगरपालिकाको चरम लापरवाहीका कारण उपभोक्ता समितिले हालसम्म बजेट पाउन नसकेका बताए । उनले गत वर्षको भुक्तानी गर्नुपर्ने बजेट यो वर्षको बजेटमार्फत दिन वडाबाट नमिल्ने भएकाले तत्काल स्थानीयवासीको समस्या समाधान गर्न नगरपालिकासँग आग्रह गरे ।

नगरपालिकाले गत वर्ष नगपालिकाका नौ वटै वडामा ६५० को हाराहारीमा योजना वितरण गरेको जनाएको छ । पछिल्लो समय नगरसभा, नगरकार्यपालिका बैठकले योजना थप्दै लगेपछि बजेट अपुग भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र विष्टले बताए । लागत अनुमानभन्दा बढी योजना वितरण गर्दा भुक्तानीमा समस्या देखिएको उनले जानकारी दिए। नगरपालिकाभरिका नौ वडाका योजनाको रकम भुक्तानी हुन बाँकी छ । अहिले झण्डै २५० योजनाको रकम दिन नसकिएको उनले बताए। नगरपालिकाभरिका योजनामा दुई करोड भुक्तानी हुन बाँकी छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस