धान किसानलाई राहत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धान किसानलाई राहत


३१ भाद्र २०७६, मंगलबार


भद्रपुर । झापामा तीन दिनयता परेको पानीका कारण धानखेती गर्ने किसानमा खुशी छाएको छ । किसानले लगाएको धानखेतीमा सुक्खा लागेर फौजी कीराको समेत प्रकोप बढिरहेका बेला भएको वर्षाले धानखेतीलाई अमृतको काम गरेको कृषि ज्ञान केन्द्रका प्राविधिक शेषराज पौडेलले बताए ।

उनका अनुसार झापामा यस वर्ष ८८ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोे छ । जसमा ३८ हजार हेक्टर अर्थात् धानखेती गरिने जग्गाको ३८ प्रतिशत क्षेत्र नियमित सिँचाइयोग्य रहेको, १४ प्रतिशत अर्धसिँञ्चित र बाँकी ३८ प्रतिशत धानखेती आकाशे वर्षाका भरमा छ । विशेष गरेर झापाको उत्तरी क्षेत्रमा गरिने धानखेती आकाशे वर्षाको भरमा रहेको छ । साउनको पहिलो सातासम्म अविरल वर्षा भए पनि जिल्लामा त्यसपछि खडरी लागेको थियो ।

खडेरीका कारण धानमा कीरा लाग्ने, सुक्ने र झारजङ्गल पलाएर कामै नलाग्ने अवस्थामा पुगेका बेला भएको सामान्य वर्षाले समेत किसानलाई राहत पुगेको उनको भनाइ छ । आइतबार रातिदेखि झापामा पानी परेको थियो । प्राविधिक पौडेलले यस वर्ष झापामा धान उत्पादनमा कमी आउने बताए । उनले भने, “समयमा किसानले रासायिक मल पनि पाएनन् र लामो समय खडेरी चल्यो, यसले उत्पादनमा पक्कै कमी आउँछ ।” रासस

प्रतिक्रिया दिनुहोस