बाँके घटनाका दोषीलाई कारवाही हुन्छ : गृहमन्त्री « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाँके घटनाका दोषीलाई कारवाही हुन्छ : गृहमन्त्री


२८ भाद्र २०७६, शनिबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपाली कांग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारवाही गर्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले आज बिहान सिंहदरबारमा दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले घटनाका दोषीलाई कारवाही प्रक्रिया अगाडि बढाउने बताएका हुन् ।

गृहमन्त्री थापाले घटनामा दोषी देखिएका जो कोहीलाई पनि कानूनी कारवाही हुने बताए । घटनामा दोषी देखिएका केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडो नियन्त्रणमा लिएर कारवाही गर्ने उनको भनाई थियो ।

कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले कांग्रेसको जागरण अभियान सञ्चालनका क्रममा कार्यक्रम चलिरहेको बेलामा पार्टी जिल्ला सभापतिसहितलाई हातपात गर्नु निन्दनीय कार्य भएको बताए । कांग्रेस ललितपुरका सभापति मदन अमात्यले नेपाली कांग्रेसको कार्यक्रम बिथोल्ने मनसायका साथ उक्त घटना घटाइएको भन्दै घटनाको दोषीलाई तत्काल कारवाही गर्नुपर्ने बताए। यति ठूलो घटना हुँदा पनि गृह प्रशासन संवेदनशील नभएको उनको आरोप थियो । कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कांग्रेसले सञ्चालन गरेको जागरण अभियानबाट आत्तिएर सत्तापक्षको प्रत्यक्ष निर्देशनमा उक्त घटना घटाइएको आरोप लगाए ।

कांग्रेसले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै दोषीलाई नियन्त्रणमा लिएर कारवाही नगरे सडक र सदनमा कडा प्रतिवाद गर्ने जनाएको छ । उक्त घटनामा परी कांग्रेस बाँके सभापति किरण कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस