अलैँचीमा रोगको सङ्क्रमण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अलैँचीमा रोगको सङ्क्रमण


२४ भाद्र २०७६, मंगलबार


इलाम । राम्रो आम्दानी लिइरहेको अलैँची पछिल्लो समय फेरि मर्न थालेपछि किसान चिन्तित देखिएका छन् । अलैँचीमा फेरि रोग लागेर राम्रो फल दिन छाडेपछि किसान चिन्नित बन्न पुगेका हुन् ।

केही वर्ष अघि पनि यस्तै रोगले आक्रमण गरेपछि किसानले फेरि अलैँची खेती गरेका थिए । रोगले सङ्क्रमण गरेपछि नयाँ जात र नयाँ ठाउँमा अलैँची रोपे पनि पुनः रोगले आक्रमण गर्न थालेपछि अब अलैँचीको विकल्पमा के खेती गर्ने भन्ने अन्यौलमा किसान छन् । किसानका अनुसार गत वर्षभन्दा यस वर्ष आधाभन्दा अलैँची कम फलेको छ ।

गत वर्षसम्म राम्रो आम्दानी दिएको अलैँची यस वर्ष ह्वात्तै घटेपछि अलैँचीको लागतसमेत लिन गाह्रो भएको रोङ गाउँपालिकास्थित तम्बाङका किसान गणेश राई बताउँछन् । “जुर्जुरे, फिर्के, डढुवा नामक रोगका कारण अलैँची मर्न थालेको छ”, उनले भने, “गत वर्ष १० मन (एक मन बराबर ४० किलो) भएको दुई मन मात्र भयो, साह्रै घटेको छ ।”

उनका अनुसार जुर्जुरेका कारण अलैँचीमा बढी समस्या देखिएको छ । “अलैँचीको फलमै जुर्जुरेले आक्रमण गरेको छ, विशेष गरी अलैँचीको गानोमै आक्रमण गरेपछि एकै वर्षमा सखाप भएको हो”, राईले भने, “अर्को वर्ष त छुरी लगाउने पनि बोट हुँदैन होला ।” मकै र आलु बाली नै मासेर खेतबारीमै ठूलै रकम खर्चेर अलैँची लगाएका किसान मासिएपछि खेतीको विकल्प खोज्न थालेका छन् ।

किसानको एक्लो प्रयास र उचित अलैँचीसम्बन्धी ज्ञानसमेत नभएकाले अलैँचीबाट घाटा ब्यहोर्नुपरेको कृषक गोविन्द पौडेलको भनाइ छ । “सम्बन्धित संस्थाबाट पनि अलैँचीसम्बन्धी प्रशिक्षण नदिनाले र किसानको एक्लो प्रयासले मात्र अलैँची लगाउनु पर्दा मासिने गरेको छ”, उनले भने, “अलैँचीसम्बन्धी उन्नत प्रविधि पनि किसानले नजानेकाले समस्या भोग्नुपरेको हो ।” पौडेलले यस वर्ष अलैँची ह्वात्तै घटेको बताए । गत वर्ष ११ मन अलैँची भएकामा यस वर्ष दुई मन मात्र भएको छ ।

जिल्लाका सबै क्षेत्रमा अलैँचीमा रोग देखा परेको छ । कतिपय ठाउँमा पुरानै जुर्जुरे, स्याङ्लेजस्ता रोगले अलैँची मासिँदै छ भने कतिपय ठाउँमा भने अलैँचीको गानो कुइने समस्याले सताएको छ । अलैँची रोपाइँमा नै समस्या भएकाले राम्रो उत्पादन दिन नसकेको र कम समयमै मासिने गरेको कृषि विज्ञ योगेन्द्रमान श्रेष्ठको भनाइ छ । उनका अनुसार पछिल्लो समय बारीमा अलैँची लगाउने गरेको र पानी बढी हुने हुनाले अलैँची मासिने गरेको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कमा नेपालबाट विदेश निर्यात हुने वस्तुको सूचीमा अलैँची दोस्रो स्थानमा छ । नेपालबाट वर्षेनी रु साढे चार अर्बको अलैँची विदेश निर्यात भइरहेको केन्द्रको तथ्याङ्क छ । केन्द्रका अनुसार सन् २०१७ मा नेपालबाट ७६ लाख ६० हजार ६७७ किलो अलैँची निकासी भएको छ । यसबाट चार अर्ब ५० करोड ६३ लाख ४६ हजार आम्दानी भएको छ । कृषि मन्त्रालयका अनुसार देशको १७ हजार दुई हेक्टरमा अलैँचीखेती भइरहेकामा १२ हजार आठ हेक्टरबाट उत्पादन भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस