नेपालगन्जमा कर्णाली स्याउको भरमार « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेपालगन्जमा कर्णाली स्याउको भरमार


२३ भाद्र २०७६, सोमबार


jumlako syau nepalgunj

नेपालगन्ज । नेपालगन्ज बजारमा अहिले फलपूmलको ‘राजा’ मानिने कर्णाली प्रदेशका रसिलो स्याउको भरमार नै छ । एक किलोको रु १०० देखि १२० सम्म निकै सस्तो मूल्यको ताजा कर्णालीका स्याउले अन्य क्षेत्रका स्याउलाई नेपालगन्ज बजारबाट पाखा लगाइसकेको छ । नेपालगन्जमा अहिले कर्णालीबाहेक अन्यत्रका स्याउ आउनै छाडेको व्यवसायी मोहम्मद नसिम खाँले बताए ।

नेपालमा कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला, हुम्ला, कालीकोट, डोल्पा र मुगुको स्याउको खुबै नाम छ । जैविक मानिने भएकाले यो क्षेत्रको स्याउ प्रख्यात छ । नेपालगन्जका फलफूल व्यापारीहरु अहिले कर्णाली जिल्लाका स्याउ बिक्रीमा व्यस्त छन् । जुम्ला लगायतका जिल्लामा मोटरबाटो पुगेकाले अहिले सडक मार्गबाटै स्याउ आउँदा सस्तो पर्ने गरेको छ । नेपालगन्जमा दैनिक चार÷पाँच ट्रक स्याउ आउने गरेको स्याउ व्यापारीहरु बताउँछन् ।

नेपालगन्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल सागसब्जीको थोक मण्डीमा स्याउ आउने गरेको छ । मण्डीबाट फुट्कर बिक्रेताहरुले किनेर बजारमा बिक्री गरिरहेका छन् । स्याउका खुद्रा व्यापारी असलम अन्सारीले कर्णालीको स्याउ रसिलो हुने भएकाले यहाँबाट उपभोक्ताले काठमाडौँमा पनि लैजाने गरेको बताए ।

कर्णालीको स्याउले नेपालगन्जमा राम्रो बजार लिएपछि त्यहाँका किसानलाई पनि राम्रो फाइदा पुगेको छ । नेपाल फलफूल सागसब्जी व्यवसायी सङ्घ नेपालगन्जका सदस्य मेराइलाल साहु भन्छन् , “कर्णालीबाट अहिले एकै जातको स्याउलाई दुई वर्गमा विभाजित गरी नेपालगन्ज पठाउने गरिएको छ ।”

नेपालगन्ज ल्याइएका कर्णालीको स्याउ यहाँबाट बर्दिया र कैलालीमा पनि पठाउने गरिएको व्यवसायी साहुले बताए ।

आकर्षक बन्दै रानी तलाउ

नेपालगन्जको ऐतिहासिक रानीतलाउ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ । डेढ दशकअघि सम्म जीर्ण अवस्थामा रहेको नेपालगन्ज–८ स्थित प्रसिद्ध ऐतिहासिक रानी तलाउको नेपालगन्ज उपमहानगरपालिकाले पुनर्निर्माण गरेपछि नौका विहार गर्ने र रमणीय पार्कको अवलोकन गर्नेहरुको सङ्ख्या बढदै गएको छ । नगरप्रमुख डा धवलशम्शेर राणाले स्थानीय तहको गठन भएपछि ऐतिहासिक रानीतलाउलाई पर्यटकीय रुपमा विकसित गर्दै लगिएको बताए ।

उपमहानगरपालिकाको २२ लाख ७८ हजार लागतमा निर्माण गरिएको पार्क अवलोकनका लागि भारतीय सीमावर्ती क्षेत्रका नागरिकसमेत आउने गरेका छन् ।

यसैगरी नेपालगन्जकै अर्को ऐतिहासिक महेन्द्र पार्क पनि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । यो पार्कलाई ‘मिनी जू’ को पनि नाम दिइएको छ । पार्कमा मयूर, खरायो, जरायो, अष्ट्रिचलगायत विभिन्न थरीका चरा रहेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस