सडकमै चालकको आँखा र रक्तचाप परीक्षण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सडकमै चालकको आँखा र रक्तचाप परीक्षण


१४ भाद्र २०७६, शनिबार


दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डको छिर्कनेमा ट्राफिक प्रहरी खटिए । उनीहरुले सवारी रोक्दै चालकलाई बोलाउन थाले । सवारी चालक कारवाहीमा परिने हो कि भन्ने डरले झस्किए । गाडीबाट निस्केर बाहिर आएपछि उनीहरुले थाहा पाए, स्वास्थ्य परीक्षणका लागि बोलाइएको रहेछ ।

आँखाको कमजोरीका कारण हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय तनहुँ र ट्राफिक प्रहरी कार्यालय तनहुँले सडकमै सवारीचालकको स्वास्थ्य परीक्षण गरेको छ । लामो दूरीका सवारीसाधन र मालवाहक ट्रकका कारण धेरै दुर्घटना हुने गरेकाले दोस्रोपटक सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

दमौली अस्पतालको प्राविधिक सहयोगमा भएको आँखा शिविरमा १२६ चालकको आँखा र रक्तचाप परीक्षण गरिएको ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक पूर्णबहादुर अधिकारीले जानकारी दिए । ती चालकमध्ये तीन जनाको आँखा कमजोर देखिएकाले थप उपचारका लागि सुझाव दिइएको उनले बताए । त्यस्तै १६ जना चालकको रक्तचाप उच्च देखिएकाले औषधि प्रयोग गर्न सुझाव दिइएको थियो ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस