खुला तार मुक्त हुँदै उपत्यका, लाइन भूमिगत गराउँदै प्राधिकरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खुला तार मुक्त हुँदै उपत्यका, लाइन भूमिगत गराउँदै प्राधिकरण


८ भाद्र २०७६, आइतबार


काठमाडौं । काठमाडौं उपत्यका अब खुला तार मुक्त हुने भएको छ । नेपाल सरकारले उपत्यकाका तीन जिल्लालाई विद्युत वितरण लाइनहरु भूमिगत गराई खुला तारमुक्त बनाउने भएको हो ।

विद्युत् प्राधिकरणका अनुसार ग्राहकको घरसम्मै विद्युत् लाइन भूमिगत गराउन तीन चरणमा काम थालेको छ । यसपछि उपत्यका बाहिर पनि लाइन भूमिगत गराइने छन् ।

एसियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋण मार्फत काठमाडौंको रत्नपार्क र महाराजगन्ज वितरण केन्दैअन्तर्गतका वितरण लाइन भूमिगत गर्न ठेकेदार कम्पनीले सर्भे तथा उपकरण परीक्षणको काम गरिरहेको प्रधिरणले जनाएको छ ।

गत जेठदेखि नै ठेक्का सम्झौता आरम्भ गर्दै भारतीय ठेकेदार कम्पनीले अहिले फिल्ड कार्य पूर्वको तयारी गरिरहेको प्राधिकरणअन्तर्गत आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालले जनाएका छन् ।

भारतीय कम्पनी एईआई इन्डस्ट्रिजसँग रत्नपार्क र महाराजगञ्ज क्षेत्रको सम्पूर्ण विद्युत् वितरणलाइन भूमिगत गराउने गरी गत चैतमा ठेक्का सम्झौता भएको थियो । सम्झौता जेठदेखि कार्यान्वयनमा ल्याइएको हो । सम्झौताअनुसार यी दुई क्षेत्रमा ११ केभी प्रसारण लाइन करिब चार सय किलोमिटर र चार सय भोल्ट क्षमताको ३५० किलोमिटर तार भूमिगत हुनेछन् ।

सहरी क्षेत्रमा टेलिफोन तथा इन्टरनेट, केबल सेवाप्रदायकका तार पनि बाहिरै रहेकोमा ती तारसमेत विस्थापन गर्ने गरी प्राधिकरणले ४८ फाइबरयुक्त अप्टिकल फाइबर पनि राख्न लागेको छ । प्राधिकरणको योजना अनुसार रत्नपार्क र महाराजगञ्ज वितरण प्रणाली भूमिगत गर्ने काम साढे दुई वर्षमा सम्पन्न हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस