थाङ्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

थाङ्ने


भागवत खनाल

६ भाद्र २०७६, शुक्रबार


बिहानको नौ बज्यो । अनमोल दाइलाई अफिस जान हतार भइसक्यो । उनले किलामा झुन्डाएको शर्ट झिके, यसो सुँघेको पसिना गनाएको रहेछ । दाइले अर्को शर्ट खोजे , फेला परेन । प्यान्ट हेरे , त्यो पनि खुम्चा परेको रहेछ । उनीसँग भएको निजामती पोसाक भनेको दुई जोडी शर्टप्यान्ट र एउटा कोट मात्र हो । दाइ घडी हेर्दै हतार हतार तल झर्न थाले । तर भाउन्न भएर चक्कर लाग्यो , थचक्क बसे ।

यी हुन अनमोल रत्न तुलाधर । भुरुङ्खेलमा सानो दुई तले घर छ । भुईँ तलामा एउटा सानो सटर छ । सटरमा श्रीमतीले किराना पसल राखेकी छन् । बाँकी दुई कोठा भाडामा लगाएका छन् । माथि उनी , आमा र छोरा बुहारी बस्छन् । श्रीमती उर्वशी छुट्टै कोठा लिएर बस्छिन् । दाइ भित्तो समातेर उठे, बिस्तारै कोठाभित्र पसे र निजामती पोसाक नखोलेरै बिछ्यौनामा पल्टे । अलि आँखा उघार्न मिल्ने भएपछि डिग्री लगाएर जरो हेरे , एकशय दुई रहेछ ।

दाइ आँखा चिम्लेर निदाउने प्रयत्न गरे, तर निद्रा लागेन । तन्द्रालु अवस्थामा दाइ आफ्नो अतीतमा पुगे । उनी सरकारी जागिरमा प्रवेश गरेको चौँतिस वर्ष भएछ । उनलाई हिजो जस्तो लाग्छ श्री ५ को सरकारको नायव सुब्बा भएको । उनी नेपालको सबैभन्दा ठुलो सरकारी कार्यालयमा हाजिर भएकै दिन मरीचमान सिंह प्रधानमन्त्री भए । त्यसै दिन उनको पूरा नाम मरीचमान सिंह श्रेष्ठ भएको थियो । नेपालको पहिलो नेवार प्रधानमन्त्री भनेर खुब प्रचार भएको थियो त्यस बखत ।

अनमोल दाइलाई सुरुसुरुमा सबैले सुब्बासाव भनेर सम्बोधन गर्थे । उमेर बढ्दै गएर उनीभन्दा कान्छा कर्मचारीको सङ्ख्या ज्यादा हुन थालेपछि सबैले अनमोल दाइ भनेर बोलाउन थाले । उनलाई उनीभन्दा जेठा कर्मचारीले पनि दाइ भनेरै सम्बोधन गर्छन् । मुख्यसचिव समेत उनलाई दाइ भनेरै बोलाउंछन । उनको पहिचान सिंहदरवार भित्रका सबै कर्मचारीको लागि अनमोल दाइमा सीमित भएको छ । उनको पद के हो भन्ने समेत धेरैलाई थाहा छैन । उनी चौंसट्ठी सालमा शाखा अधिकृत भए । तर सत्तरी सालमा एक जना उनकै कार्यालयका सचिवले सोधेका थिए ‘ए अनमोल दाइ तपाईँ सुब्बा कि खरिदार हँ ? ‘ अहिलेसम्म दाइको नामको ‘नेमप्लेट’ बनेको छैन ।

दाइको फोन बज्यो । उनले फोन हेरे, सहसचिव इन्द्र वदन म्याडमको फोन रहेछ । दाइले विनम्र अभिवादन गरे “हेलो हजुर नमस्कार ।” उताबाट आवाज आयो “अनमोल दाइ साढे दश बजिसक्यो, किन अफिस नआको ? पूर्वसूचना नदिई अनुपस्थित हुनेलाई के सजाय हुन्छ थाहा छ ?” दाइले जवाफ दिएका थिए , “थाहा छ हजुर गयल परिन्छ ।”

साह्रै चित्त दुख्यो । सधैँ सबैभन्दा पहिले अफिस पुग्ने र सबैभन्दा पछि घर फर्कने अनमोल दाइलाई के भयो ? किन अफिस नआएको ? भनी एक आखिर सोध्ने शिष्टाचार पनि पूरा गरिनन् म्याडमले । आज चौँतिस वर्ष पुग्यो अनमोल दाइले निजामती तमासा देख्न थालेको । देशमा प्रजातन्त्र र अझै गणतन्त्र स्थापना भएपछि कस्ता कस्ता जात्रा गरेका छन्, सबै कुरा मौन दर्शकको रूपमा हेरिरहेछन् उनी । जागिर खाएदेखि एक दिन पनि काम नगरी पेन्सन पकाएका कर्मचारीले थर्काउँदा चुपचाप सहने र उल्टै ‘मलाई सधैँ तपाईँको सहयोगको अपेक्षा छ, कृपया प्रधानमन्त्रीज्यूलाई मेरो बारेमा यसो ब्रिफ गरिदिनु न’ भनेर नेहोरा गर्ने सहसचिवले आज कर्मयोगी राष्ट्रसेवकको अपमान गरिन ।

दाइ उठ्न सकेका छैनन् । आमा कोठाभित्र पसिन । आमाले अनमोल दाइको निधार छामिन, छाती छामिन र बिस्तारै गोडा मुसार्न थालिन । आमाले सोधिन ‘आ ज्ञ चों छन्त ? छ्या अफिस चोंगु वस पुन्हा ड्यना चोनाउं ? थं याउ म्ह तंध कि अफिस तंध ? छन्त एक्व नंतागत जुल ।’ दाइले एकोहोरो आमालाई हेरिरहे । आमाको लागि सन्ताउन्न वर्षको छोरो बालकै छ । आमाका बार्धक्यले सुष्क बनाएका आँखामा अझै पनि आफ्नो सन्तानको लागि बग्न सक्ने बलिन्द्रधारा आँसु जीवितै छन् । अनमोल दाइका आँखा डवडबाए । उनी अकस्मात बालक अनमोल बन्न पुगे । आफू बाजे भइसकेको बिर्से र निर्दोष शिशु जस्तै रुन थाले । उनलाई लाग्यो मेरो मेरा भन्न लायक अरू कोही नभए के भयो ? मेरो घरमा मलाई कसैले माया नगरे के भयो ? मैले अरूबाट करुणा नपाए के भयो ? मलाई मेरी आमाको उपस्थिति नै यो संसारका सबै ममता र सम्पदाभन्दा प्यारो छ । उनले सतासी वर्षकी वृद्ध आमालाई भने ‘मा छं यक्व मुया माँ । हे भगवान् ज्यू खाँ न्यना ! जिम मा येत सदा जी नांप तैती ।’

अनमोल दाइका बाजे न्हुछेरत्नको ल्हासामा ठुलो व्यापार थियो । बाजेले उतै भोटेनी बिहा गरेछन् । दाइका बाबु दया रत्न तिनै भोटेनीतर्फका सन्तान थिए । भारतको ब्रिटिस सरकार र भोट सरकारबिच व्यापारिक सम्झौता भई भारत र तिब्बतबिच सिधा व्यापार सुरु भएपछि बिस्तारै तिब्बतमा नेपालीहरूको व्यापारिक प्रभुत्व गुम्दै गयो । अलिअलि बाँकी रहेको सम्पत्ति न्हुछेरत्नले छोरीहरूलाई दिए । दयारत्नलाई तँ त छोरा मान्छे होस् , आफै कमाएर खा भन्दै सुकेको व्यापार जिम्मा लगाइदिए । बबुरा दयारत्नको नाम मात्र ‘दयारत्न’ थियो । नेपाल टेकेकै थिएनन् । उनी नेपाली भाषा फिटिक्कै जान्दैनथे, नेवारी भाषा थोरै बुझ्दथे । ल्हासाको व्यापारमा टिक्न नसकेर छटपटाउन थालेका दयारत्नलाई माइला बाजेका छोराले काठमाडौँ बोलाएर राखे । दयारत्नले तिब्बती भाषा जान्ने हुँदा काकाले तिब्बती ग्राहक र व्यापारीसँग दोभासेको काम गर्ने गरी राखेका थिए । उमेर ढल्कँदै जाँदा पनि बिहा गरिदिने छाँट नदेखेका दयारत्नले म अव ल्हासा जान्छु भनेर करकर गर्न थालेपछि काकाले उनको बिहा गरिदिएका थिए ।

अनमोल दाइ जागिरमा प्रवेश गरेदेखि एउटै अफिसमा कार्यरत छन् । उनले सरुवा नमागेका होइनन्, तर हाकिमहरूले पख पख भन्दै टारिरहे । धेरै प्रयास गर्दा पनि सरुवा नभएपछि दाइ चुप लागे । उमेर घर्कंदै गयो, दाइको उत्कण्ठा पनि घट्दै गयो । किन्तु उनले आफूलाई सुम्पिएको काम सधैँ इमानदारी र लगनकासाथ गरिरहे ।

अनमोल दाइसँग तीन ओटा कर्मचारी सङ्गठनको सदस्यता छ I। उनले सदस्यता दिन आउने साथीलाई भनेका थिए, ”मैले एउटा सङ्गठनको सदस्यता लिई सकेको छु ।” तर साथीले उनीहरूको सदस्यता लिने अनि हामीलाई अर्घेलो देख्ने अनमोल दाइ ? भनेपछि उनले भनेका थिए ”हुन्छ दिनुस् ।” चौथो सङ्गठन आएपछि दाइले भनेका थिए ”ल हेर्नुस् साथी मसँग ‘अलरेडी’ तीन ओटा सदस्यता छ, तपाईँलाई म दही चिउरेजस्तो लाग्दिन ? अव जोड नगर्नुस् मलाई मेरै हालतमा रहन दिनुस् ।” पेसागत हितको लागि सङ्गठित हुनु ठिक हो, तर कर्मचारी भएर पार्टीको झन्डा उचाल्ने र खुलेआम अमुक पार्टीको कार्यकर्ता बनेर हिँड्ने प्रवृत्ति उनलाई कहिल्यै मन परेन ।

उनले सरुवा नमाग्ने प्रण गरिसकेका थिए । वचनको पक्का अनमोल दाइलाई अमुक कर्मचारी युनियनको हर्ताकर्ता सम्पूर्णमान सुब्बाले भनेको थियो ”अलि निहु खोज्न सिक्नुस् दाइ । अलि बाङ्गो हुनुस् र अलिकता बटारिने गर्नुस् । यहाँ सोझालाई गोरु जस्तो जोताउने र बांगोलाई ‘हस हजुर’ भन्ने हाकिमहरू छन् । मलाई हेर्नुस् न, म पनि त सुरुमा तपाईँ जस्तै ‘भलादमी’ थिएँ । म पनि यही अफिसको स्टाफ थिएँ । एक दिन मुख्यसचिवलाई आफ्ना समस्या सुनाउनु पर्‍यो भनेर भेट्न खोजेको पहिले त भेट्नै मानेन । पछि तपाईँले नै ‘यो सम्पूर्णमान सोझो कर्मचारी हो, हजुरसँग यसो भेट्न मात्र खोजेको छ हजुर’ भनेर सिफारिस गरेपछि भेट्न पाइयो । तर मेरो गुनासो सुन्दै नसुनी ‘जे जे भन्नु छ अनंगदत्त उपसचिवलाई भेटेर भन्नु, मसँग समय छैन’ भनेर पठायो । अनि मैले सोचेँ यो जमानामा सोझो भएर काम छैन ।” सम्पूर्णमान भन्दै गयो “हेर्नुस् दाइ हाम्रो यो निजामती सेवा छ नि , यसमा सामन्ती प्रवृत्ति छ । दबाएर, तर्साएर र थर्काएरै कर्मचारीलाई ठेगानमा राख्नुपर्छ भन्ने प्रवृत्ति राजनीतिक नेता र प्रशासक दुवैमा पहिले पनि थियो अहिले पनि छ । तपाईँजस्ता सिधा साधा , इमानदार र अनुशासित कर्मचारीलाई यिनीहरू अहिले पनि भरिया बनाउन खोज्छन् ।”

यो सम्पूर्णमान यति बाठो कसरी भयो ? यो त नेता पो भएछ त ? अनमोल दाइ मनमनै सम्झँदै छन् । सम्पूर्णमानले खरिदार भएर आएपछि भनेको थियो ‘बा यु पसले चोने थाकुया जागिर नं वोयुला अनमोल डाइ ! थन अफिसे हाकिम त झन् छुच्चा । मलाई त तपाईँकै भर छ है दाइ , सहयोग गर्नु होला ।’ दाइले भनेका थिए ‘त्यस्तो गाह्रो हुँदैन । राम्रोसँग काम गर्ने , अनुशासन पालना गर्ने र भनेको मान्ने कर्मचारीलाई हाकिमहरूले माया गर्छ ।’

सम्पूर्ण मान भन्दै गयो ”अनि मैले पनि कुरा बुझेँ । मैले पनि ‘नेता’ बन्ने निधो गरेँ । हेर्नुस् अनमोल दाइ ! नेपाल यस्तो देश हो जहाँ थर्काएको र तर्साएको भरमा राजनीतिक नेता बन्न पाइन्छ । यो कर्मचारी नेता बन्न झन् कुन आइतबार चाहियो ? जो चार जना पछाडि लाएर हिँड्न सक्यो, मन्त्री र सचिवको कार्यक्षमता छिरेर ठाडो नजर लाएर बोल्न सक्यो त्यो नेता ।” अनमोल दाइले भनेका थिए “ए सम्पूर्ण मान ! कर्मचारी पनि नेता हुने हो र ? कर्मचारीले आफ्नो हक अधिकारको लागि सङ्गठित हुनु भनेको पदस्थापन, सरुवा, काज जस्ता कुराको भनसुन गर्दै हिँड्ने हो ? यसरी देश बन्छ ? यसरी निजामती सेवाको प्रतिष्ठा बढ्छ ? देश विकास हुन्छ ?” सम्पूर्णमानले भन्यो ”हुँदैन , यस्तो प्रवृत्तिले विकास हुँदैन । यो कुरा सबै कर्मचारी ‘नेता’ हरूलाई थाहा छ । तर यो कुरा देशका राजनीतिक नेतालाई थाहा हुनुपर्‍यो, कर्मचारीलाई आफ्नो दलको झन्डा बोकाउनेलाई थाहा हुनु पर्‍यो । झन्डा बोकेर जागिर सुरक्षित हुने , हाकिमहरूलाई त्राहि माम पार्न पाइने , भनेको ठाउँमा सरुवा पाइने र पार्टीमा भविष्य समेत सुरक्षित हुने भएपछि जुनसुकै ‘बाठो’ कर्मचारी राजनीतिमा लागिहाल्छ । यहाँ व्यक्तिलाई दोष दिनुको कुनै तुक छैन दाइ । दोष पद्धति र प्रवृत्तिको हो बुझ्नु भो ? म सोझो हुँदा ‘के भन्नु छ भन्नुस्’ सम्म नभनेर बाहिर निकाल्ने मुख्य सचिवकहाँ सात जना साथीहरू लिएर सरासर भित्र जाँदा के भयो थाहा छ ? ऊ जुरुक्क उठेर आएर हात मिलायो, घन्टे बजायो र भन्यो ‘ए कान्छा सरहरूलाई च्या ख्वाऊ त’ ।”

अनमोल दाइलाई कार्यालयको सबै इतिहास थाहा छ । तेह्र चौध जना प्रधानमन्त्री देखिसके । एउटै व्यक्ति पटक पटक प्रधानमन्त्री भएको सङ्ख्या समेत गन्ने हो भने त बाइस तेइस पुग्छ । दाइले बहालवाला न्यायाधीश प्रधानमन्त्री र सेवा निवृत्त कर्मचारी मन्त्री भएको सरकार देखे, राजा नै प्रधानमन्त्री भएको समेत देखे । उनले नेपाली सत्ताका प्रवृत्ति देख्दै आएका छन् , तर अलि परबाट । सत्ताको आवरणभित्र कस्ता खेल हुन्छन् भन्ने उनले प्रत्यक्ष देख्न पाएनन्, तर सारा रमिताका साक्षी हुन । लगातार यति लामो समयसम्म शक्ति र सत्ताको खेल देखिरहेको एक्लो दर्शक हुन उनी । उनलाई धेरै प्रधानमन्त्रीले चिन्थे, कोही उनलाई हेरेर मुसुक्क हाँस्दै नमस्कार फर्काउँथे भने कोही नदेखेजस्तो गर्दथे । एक जना ठट्यौला प्रधानमन्त्रीले भनेका थिए ‘ये अनमोल अनमोल रतन है ।’

दाइलाई भनेर तोकिएको कुनै शाखा छैन, त्यसैले उनको नेमप्लेट पनि छैन । उनको काम भनेको पुराना अभिलेख खोज्ने, कसको पालामा के कस्ता परिपत्र गरिएको थियो, क्याबिनेटको निर्णयसम्म पहुँच नभए तापनि कुन निर्णय कुन साल वा महिनामा भएको थियो, कुन मन्त्रालय कुन सालमा किन फुटेको वा ‘मर्ज’ भएको थियो सबै कुराको सम्झना छ दाइलाई । मुख्यसचिवको पिए बिदामा बस्यो, सचिवको पिए सरुवा भएर गयो, कुनै शाखामा काम अड्क्यो, कुनै बैठकको निर्णय लेख्नु पर्‍यो सवैतिर फिट छन् दाइ । नाई भन्दैनन्, जे काम गर्छन् इमान नछाडेर गर्छन् । त्यसैले त उनी कार्यालयको लागि अपरिहार्य भएका छन् ।

एक हप्तासम्म जरोले सताएपछि दाइ तङ्ग्रिए । आज शुक्रवार । दाइले आज धेरै दिनपछि रक्सी खाए । माले भन्नु भएको थियो ‘ थौं म्येयाउ ला व ऐला भतिचा तों , भतिचा तों अले छन्त बल वोई । छिम बा थें एक्व तोने मज्यू । भतिचा तों सा वास एक्व तों सा बिस ।’ उनी खाएर टीभी हेर्दै थिए छोरो आइपुग्यो । छोरो अनुपमरत्न तुलाधर एउटा कम्पनीमा काम गर्छ । अनुपम सिभिल इन्जिनियर हो । प्रतिभाशाली छ र सज्जन पनि । दाइले रक्सी खाएको दिनमा अनुपम खुव रमाइलो मान्छ । अरू बेला थोरै र औपचारिक कुरा मात्र गर्ने छोरो यो मौकामा बाबुलाई जिस्क्याउन थाल्छ । अनुपम एक महिना अघि बाबु बन्यो । सुजाता नवजात छोरी लिएर माइत गएकी छन् । यस्तैमा उर्वशी दुकान बन्द गरेर आइन । आज अनमोल दाइ अलि भावुक छन् । श्रीमती आएर छेवैमा बसेपछि उनले भनेका थिए ‘ए उर्वशी कति दु:ख गरेको हाँ तिमीले ? खान पुगेकै छ । छोरो पनि जागिरे भयो । अव त बुढी पनि भयौ । कति छुट्टै डेरामा बस्नु , सटर भाडामा दिने , नातिनी र बज्यै स्याहार्ने ।’ उर्वशीले केही उत्तर दिइनन् ।

झुम्म परेका बालाई अनमोलले भन्यो ‘बा एउटा कुरा भनम ?’ दाइले भने ‘तैँले के भन्छस् भन्ने कुरा मलाई थाहा छ ।’ अनुपमले भन्यो ‘तपाईँ सरकारी जागिर खा, अलि परिश्रम गरे लोक सेवा पास भइन्छ भनिरहनुहुन्थ्यो । अव मलाई पनि सरकारी जागिर खान मन लागेर ल्यायो बा । भोलिदेखि पढ्न सुरु गर्छु, कसो पास नभइएला ? खुला र समावेशी दुवैतिर परीक्षा दिन्छु ।’ अचेल केही दिनदेखि अनमोल दाइको मन बदलिएको छ । सरकारी जागिरमा इज्जत हुन्छ, चार जनाको अगाडि शिर ठाडो हुन्छ, सिंहदरवारसम्म पहुँच हुन्छ भन्दै सम्झाउने अनमोल दाइको मन भरङ्ग भएको छ अहिले । उनले भनेका थिए ‘भो छोरा सरकारी जागिर नखा । सरकारी जागिरको जुन महत्त्व थियो, त्यो अव बिस्तारै हराउँदै छ । निजामती सेवालाई राजनीतिले गाँज्यो । मन्त्रीहरू कर्मचारीलाई ‘थाङ्ने’ भनेर खिसी गर्छन् । माननीयहरू अव यिनीहरूको पेन्सन खोस्नुपर्छ, अव यिनीहरूलाई बिरामी हुन दिनु हुँदैन, अव यिनीहरूलाई चाडपर्व खर्च दिने हैन भन्छन् । सरकार कर्मचारीले टेरेनन्, करारका हाकिम राखेर यी निजामतीको दोहोलो काढ्नुपर्छ भन्छ । जनता पनि कामचोर कर्मचारी भनेर गाली गर्छन् । प्रदेश सरकारका मन्त्रीले कर्मचारीको गाला फोर्न थाले । स्थानीय सरकारका मन्त्रीहरूले कर्मचारीलाई हाजिर गर्न नदिएर लखेट्न थाले । जताततै कर्मचारीतन्त्र फेल भयो भन्छन् । अव त सरकारी कर्मचारी हुँ भन्न पनि लाज भइसक्यो ।’

राति एघार बज्यो । यी निजामतीलाई अझै निद्रा लागेको छैन । अनमोल दाइले अर्को एक गिलास चढाए, तैपनि निद लागेन । उनको मन तरङ्गित भएको छ आज । आजभन्दा पैँतिस वर्षअघि उनले प्रथम श्रेणीमा आईएस्सी पास गरेका थिए । आफ्नो समयका बडो मेधावी छात्र थिए उनी । उनको योजना मेडिकल लाइनमा जाने थियो, तर नियतिलाई त्यो स्वीकार भएन । बाबु दया रत्न अचानक मुटुको व्यथाले बिते । ल्हासामा मरेका बाजेको अंश माइला बाजेका सन्तानले खाइदिए । दया रत्न उल्टै तिनै दाजुभाइको घरमा नोकरी गर्न विवश भए । यहाँको रीति नबुझेका, भाषा समेत नजान्ने उनी आफ्नो हक खोजेर खाने हैसियतमा थिएनन् । धन्न श्रीमतीको पेवा एउटा सानो घर थियो । उनीहरूको सानो दुकानले राम्रै आम्दानी दिन्थ्यो । छोरा अनमोललाई डाक्टर बनाउने अभिलाषा थियो । सबै साथीहरू कोही सोभियत सङ्घ, कोही भारत, कोही पाकिस्तानतिर पढ्न गए । अनमोल दाइ आमालाई एक्लै छाडेर कतै जान सकेनन् । आफ्नो योग्यताले भ्याउने नायव सुब्बा पदमा जागिरे भए ।

बाइस तेइस वर्षको सुन्दर जवान ! सुब्बा तहको सरकारी जागिर, अनमोल दाइको सान नै बेग्लै । भाग्यमा लेखेको कहाँ मेटिन्छ र ? उनी र उर्वशीका आँखा कहिले जुधे, कहिले कसरी माया बस्यो, पत्तै भएन । उर्वशी खत्रीक्षेत्रीकी छोरी, उनी तुलाधर । दुवैका घरमा रडाको मच्चियो । आमाले उनलाई धेरै सम्झाइन, ‘ख्यें त्येउ व झिउ रीति थिति हे मिले मज्यू । झिपुं ड्य तेसीं नंयुऊ अमियु ड्य त चले मज्यू । इम्हिमा म्हया मस्त झिं म्हया मस्त थें माया याई मखु ।’ तर अनमोलले कोमल हृदयकी आमालाई पगाले । उनले उर्वशीलाई भित्र्याए , किन्तु उर्वशीका माइतीले दाइलाई भित्र्याएनन् । बिहा भएको धेरै वर्षपछि उर्वशी त माइत जान थालिन, तर बाबुआमा ज्वाइँको मुखै नहेरी मरे ।

आधा रात भयो । आज अनुपम पनि बाबुकै कोठामा सुतेको छ । अनमोल दाइले बिस्तारै बोलाए – ए अनमोल ! ए अनमोल !’ अनमोलले भनेको थियो ‘बा किन नसुतेको ? भोलि अफिस जानु पर्दैन ? ‘ दाइले भने ‘ हेर न बाबु आज मलाई निद्रा नै लागेन । म्वा तले छु छु याउ धैगु बिच: डुयु ख , छु न या मफुल । डाक्टर बन्ने अभिलाषा बालाई जलाएको खरानीसँगै बाग्मतीमा बगेर गयो । मन परेकी श्रीमती पाइयो भनेर मक्ख परेको त्यो सुख पनि धेरै दिन टिक्न पाएन । तेरो आमाको र मेरो आमाको कुरा मिलेन । मैले धेरै सम्झाएँ तर केही लागेन ।’

आमा भन्ने ‘यो पर्वते आइमाईको केही ढङ्ग छैन, अनुहार पनि राम्रो छैन, यो काँठेले देउता पूजा गर्न जान्दैन, खाना पकाउन जान्दैन, यसले मेरो छोराको जिन्दगी बरबाद गर्‍यो ।’ तेरो आमा भन्ने ‘अरू सबै कुरा त म सहेरै बस्ने थिएँ , तर कोही आयो कि ‘थो मिसा याउ ज्या हे मरु जिम क्या हे अभागी’ भन्ने गर्नुहुन्छ । म बोलेको हिँडेको हाँसेको कुनै कुरा पनि आमालाई मन पर्दैन । मैले केही कुरा गर्‍यो कि तँ काँठे धेरै जान्ने नबन ! भनेर हप्काउनुहुन्छ । खुब मेरो आमा सोझो , मेरो आमा सहनशील , मेरो आमा जे भने पनि मान्ने , मेरो आमा पो आमा भनेर गफ लाउँथ्यौ त , सम्झाऊ आफ्नो आमालाई ।’ केही सम्झायो कि आमा भन्ने ‘ छन्त य सा वहे लिसी पेपुङ चों । जित वयाउ ख्वा खन कि छुन शुभ जुई मखु ।’ उर्वशी पनि बूढाबूढी यस्तै हुन्छन् भनेर महसुस नगर्ने , नसम्झाउने बरु उल्टै बहस गर्ने । साह्रै भएपछि मैले उर्वशीलाई डेरामा राखेँ । म कर्ममा विश्वास गर्ने मान्छे , तर मेरो भाग्य रेखा विधाताले नै कोरेको रहेछ । हेर छोरा ! सुख बाँडेर बाँडिन्छ तर दु:ख बाँड्न नमिल्ने रहेछ । नियतिले बाटो छेकेपछि मै हुँ भन्नेको पनि केही लाग्दो रहेनछ । मेरो जीवनले मलाई एउटा अमूल्य उपहार दिएको छ, त्यो हो सहने, सम्झौता गर्ने, आफ्नो कर्म गर्न नछाड्ने र विनम्रतापूर्वक नियतिको निर्णयलाई स्वीकार गर्ने ।

अनमोल दाइको लागि एकातिर गङ्गा, अर्कोतिर जमुना । तर गङ्गा र जमुनाले एक अर्कोलाई मनै नपराएपछि उनी के गर्न सक्थे ? चित्त सानो हुनाले मन मिलेन, घर मिलेन, परिपंच मिलेन, जीवनको प्रवाह मिलेन । उर्वशी डेरामा बस्न थालिन । विवश अनमोल दाइ कहिले सासूसँग कहिले बुहारीसँग बस्थे । दाइलाई पढ्ने मन थियो, तर पढ्ने परिस्थिति बनेन । भाग्यले उनलाई आजीवन सिंहदरवारको सानो कारिन्दामै सीमित राखिरहन मन्जुर गर्‍यो । बाजे र बाबुलाई जसरी नियतिले ठेगान लगायो, त्यही क्रम आफूमा पनि दोहोरिएको सम्झेर चित्त बुझाए ।

आज दाइ फुर्सदिला छन् । मुख्यसचिव बिदामा, सचिवहरू कोही विदेश भ्रमणमा छन्, कोही बाहिर कार्यक्रममा । प्रधानमन्त्री बिरामी परेको हुँदा बालुवाटारमै आराम गर्दैछन । अफिस शान्त छ । दाइ उमेरको आधारमा अनिवार्य अवकाश हुन छ महिना बाँकी छ । बिस्तारै कार्यालय सम्बन्धी काममा प्रवृत्ति छाडेर निवृत्तितिर उन्मुख हुने विचारमा छन् उनी । आज काम छैन भन्दै धेरै कर्मचारी हिँडिसके । कोही निस्कँदै आउँदै गर्दैछन भने कोही बसेर गफ गर्दैछन । अचेल कर्मचारीबिचमा हुने गफ भनेको राजनीति र निजामती सेवाप्रति राजनीतिक नेताहरूको रवैयाबारेमा नै हो । अनमोल दाइकहाँ पनि केही साथीहरू जम्मा भएका छन् । एक जना उपसचिवले अनमोल दाइलाई सोध्यो ”दाइ तपाईँले लामो समय सरकारको सेवा गर्नुभयो । तपाईँ अनुशासित हुनुहुन्छ, कर्तव्यनिष्ठ हुनुहुन्छ, मर्यादामा बस्नुहुन्छ र अह्राएको काम अल्छी नमानिकन गर्नुहुन्छ । चालिस प्रतिशत कर्मचारी तपाईँ जस्तै हुने हो भने सरकार सफल हुन्छ । तपाईँ सधैँ सरकारलाई देख्नुहुन्छ, तर सरकारले तपाईँलाई काम लिने बखत मात्र देख्दछ । कुनै पुरस्कार र विदेश भ्रमणको लागि तपाईँलाई देख्दैन । तपाईँलाई दिक्क लाग्दैन ? रिस उठ्दैन ? झोक चल्दैन ?” उनले जवाफ दिएका थिए ”पहिले पहिले त मलाई दिक्क पनि लाग्दैनथ्यो र रिस पनि उठ्दैनथ्यो । अहिले पनि रिस उठ्ने र झोक चल्ने त हुँदैन, तर दिक्क चाहिँ लाग्न थालेको छ ।”

अनमोल दाइलाई राम्ररी थाहा छ, यहाँ विदेश जानको लागि सधैँ हान थाप चल्छ । सचिव सहसचिवहरू नै विदेशको लागि प्रतिस्पर्धा गर्छन् । विदेश जानको लागि कि खुसी पार्नुपर्छ कि धम्काउनु पर्छ । दाइलाई न खुसी पार्न आउँछ, न धम्काउन । अलि वर्ष पहिलेको कुरा हो मुख्य सचिवले ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारको लागि तपाईँको नाम सिफारिस गरेको छु’ भने । दाइलाई लाग्यो जे होस अलिकता राहत मिल्ने भयो, सरकारले मेरो सेवाको कदर गर्ने भयो । तर पुरस्कार घोषणा हुनुभन्दा दुई दिन अगाडि मुख्यसचिवले बोलाएर भने ‘अनमोल दाइ सकिएन, एउटा छट्टु सचिवले प्रधानमन्त्रीलाई पट्याएछ ।’ दाइ चुप लागेर बसे । फेरि अर्का मुख्यसचिवले भने ‘तपाईँको नाम राष्ट्रपतिबाट प्रदान हुने तक्माको लागि सिफारिस गर्न लागेको छु ।’ तर दाइको मन मरिसकेको थियो । केही वर्ष यता पुरस्कार र विभूषण समेत सोर्स लगाएर, चाकरी गरेर र थर्काएर लिने चलन चल्यो । दाइकै अगाडि पुरस्कारको लागि भनसुन गर्ने, फकाउने, सिफारिस गर्ने र तर्साउनेहरूको भिड लाग्न थाल्यो । विशेष गरेर काठमाडौँ उपत्यकाभित्र काम गर्ने धेरैजसो कर्मचारीले पहुँचको आधारमा पुरस्कार र विभूषण पाउन थाले । पुरस्कार पनि ‘सोर्स’ लाएर पाइने, माग्न पाइने र माग्नेले पाउने पद्धति बसेको निजामती समाजमा यथार्थमा काम गरेर पुरस्कार पाउनेहरू समेत एउटै मालाका फुलजस्ता हुन पुगेको देखेका अनमोल दाइले मुख्य सचिवलाई भनेका थिए, “सर मलाई विभूषण चाहिँदैन ।” मुख्य सचिवले भनेका थिए, ”यहाँ तक्मा माग्न आउनेको भिड लाग्छ, तपाईँ चाहिँदैन भन्नुहुन्छ ? के भयो तपाईँलाई , दिमाग त ठिक छ ?” दाइले भनेका थिए ”जब भनसुन गर्नेले नै पाउने हो , कसैको नजिकको मानिसले नै पाउने हो भने म किन लिऊँ ? मलाई पनि मुख्यसचिवको नजिकको मानिस हो , के बाँकी राख्थ्यो भनेर कुरा गर्ने मौका किन दिने सर ?” अनमोल दाइले विभूषण पाए । उनले तक्मा पाएको घोषणा भएपछि सम्पूर्णमानले भनेको थियो ” दाइ यो तपाईँको मान हैन अपमान हो । अव तपाईँले जागिरे जीवनमा सिन्को नभाँचेको घटोत्कच उपाध्यायसँगै उभिएर तक्मा थाप्ने हुनु भो । “

अनमोल दाइलाई याद छ , एक दिन एक जना जण्ड कर्मचारी मुख्यसचिवको कार्यकक्षमा पसेर बबाल गरेको थियो । ऊ ठुलो स्वरमा कराइरहेको थियो, तर मुख्यसचिव बिस्तारै बोल्दै थिए । दाइलाई मुख्यसचिवले बोलाएर भनेका थिए ”अनमोल दाइ उहाँ मलाई भेट गर्न आउँदा चिट पठाउनु पर्दैन, सिधै भित्र पठाउनु होला ।” त्यो मानिस बाहिर निस्केपछि दाइले भनेका थिए ”हजुर , यस्ता मानिसलाई किन महत्त्व दिएको ? ” मुख्य सचिवले भने ”के गर्नु त ? विवश छु । केही भनौँ हल्ला गर्दै गाली गर्दै निस्कन्छ । भए नभएको कुरा पत्रिकामा छपाइदिन्छ । एक पटक यसो सुस्तरी हप्काएको थिएँ, प्रधानमन्त्रीकहाँ पुगेर ‘तपाईँको मुख्य सचिवलाई ठेगानमा राख्नुस्’ भनेर हिँडेछ । प्रधानमन्त्रीले ‘यस्ता जण्डहरुसंग सकिँदैन’ भन्नुभयो ।”

अनमोल दाइ सोच्दै छन्, जब सचिवहरू मुख्यसचिवको कार्यकक्षमा जान्छन्, ‘बस्नुस्’ नभनी बस्दैनन् । सहसचिवहरू त नबसिकनै आफ्ना कुरा भनेर निस्कन्छन् । सक्नेले देखाउने जमाना आयो अव । ‘संघे शक्ति कलियुगे’ भनेको यही रहेछ । उनी यसो विचार गर्छन्, नेपालका निजामती कर्मचारी क्षमता नभएका किमार्थ होइनन्, तर राजनीतिले सबै बिगार्‍यो । कर्मचारी ‘नेताहरू’ पनि धेरैजसो भलादमी नै छन्, तर केही जण्डहरुको कारण संस्था नै बदनाम भयो । अव त धेरैले नेपालको कर्मचारीतन्त्र कर्मचारी सङ्गठनहरूको कारण निकम्मा भएको हो भन्न थालिसके । दाइ सम्पूर्ण मान र अरू ‘लिडर’ हरूलाई पनि भन्ने गर्दछन् ”ए साथीहरू हो, धेरै बदनाम भयो, अव त विचार गर ।”

आज अनमोल दाइले तक्मा थाप्ने दिन । उनले भेडासिंग गएर सन्ताउन्न सय हालेर मयलपोश किने । दाइ लुख्रुक्क पर्दै तक्मा थाप्न गए, अफिसको मोटरमा । शीतलनिवासको अगाडि सुशोभित हुन जानेहरूका गाडीहरूले बाटो जाम भएको छ । यस्तैमा कताबाट एउटा बौलाहा आएर कराउँदै थियो ‘हेर हेर पशुपति हेर तमासा, देख्छु म नौला राजै राजा । अन्धेर नगरी चौपट राजा, टकासेर भाजी टकासेर खाजा ।’ बौलाहालाई पुलिसले पानीपोखरीसम्म लखेट्यो । अनमोल दाइ भित्र पसे । राष्ट्रिय जीवनको विभिन्न क्षेत्रमा रही अविस्मरणीय योगदान गरी देशको प्रतिष्ठा अभिवृद्धि गरेबापत कृतज्ञ राष्ट्रको तर्फबाट सुशोभित हुने महानुभावहरूको लामो लाइन देखेर दाइ छक्क परे ।

दाइ लाइनमा छन् । लाइन मिलाउन खटिएको एक जना सिपाही भन्दै थियो ‘ए हल्साप ! पहिले एउटा राजा मात्र थ्यो, अहिले त हजारौँ राजा छन् भन्छन् मन्छेहरु । यो के भनेको हँ ? मैले त कुरै बुझिन गाँठे ।’ हवलदारले जवाफ दियो ‘यस्ता कुरा बुझ्ने भए सिपाइ हुन्थिस् ? यस्ता गहकिला कुरा बुझ्न सक्ने भए त असई भइहाल्थिस् नि । मलाई था नभाको परस्न नगर त तँ ! थपक्क आफ्नो डिप्टि गरेर बस ।’ दुई जना सुशोभित हुन आएका मानिसहरू आपसमा कुरा गर्दै छन् । एक जना भन्दै थियो ‘ऊ त्यो चिनी व्यापारी हो, त्यो भैँसी व्यापारी हो, ऊ त्यो मुख बाङ्गो हुने पुरानो गुन्डा हो, अहिले ठुलो ठेकेदार छ । ऊ त्यो हिरो जस्तो देखिने हेड सर हो । हेड सरको माध्यमिक स्कुलमा एक शय विद्यार्थी पढ्छन् । चार वर्षदेखि उसको स्कुलबाट कसैले पनि एसएलसी पास गरेको छैन । ऊ साह्रै मिजासिलो भएकाले नेपालको शिक्षा क्षेत्रमा अमूल्य योगदान गरेबापत विभूषित हुँदै छ । यहाँ सबै अविस्मरणीय योगदानवाला छन्, म पनि माननीय मन्त्रीज्यूलाई अमूल्य योगदान गरेबापत यहाँ खडा भएको छु । यहाँ ‘मूल्यहीन’ योगदान गर्ने केही ‘थाङ्ने’ हरू पनि छन् । हाम्रो सरकार पनि कम्ताको बाठो छ र ? केही थाङनेहरूलाई पनि देख्ने आँखा छन् हाम्रो सरकारसँग ।’ अनमोल दाइ पनि ‘सुशोभित’ भए ।

अनमोल दाइ आज अन्ठाउन्न वर्षका भए । आज सिंहदरवारले उनलाई सदाका लागि बिदा गर्दैछ । दाइले आफ्नो जवानी मात्र हैन ढल्कँदो उमेर पनि सिंहदरवारमै बिताए । तर आज उनी फेरि नफर्कने गरी जाँदै छन् । यही बिदाइको बेला त हो कहिल्यै बोल्न नपाउने सोझा र कर्मशील निजामतीले पनि दुई शब्द बोल्न पाउने । यही दिन त हो कहिल्यै प्रशंसा नपाउने निजामतीले ‘अन्तिम शिष्टाचार’ को औपचारिक मर्यादा पाउने ! अनमोल दाइको बिदाइमा मुख्यसचिवको समेत उपस्थिति छ । सबै शान्त भएर यी अनमोल अनमोल दाइलाई हेर्दै छन् । आज सबैलाई उनीप्रति माया लागेको छ, किनकि अन्तिम नमस्कार गरेर गएपछि उनलाई कसैले केही दिनु पर्ने छैन । दाइ चुपचाप मुख्यसचिवसँगै बसेका छन् । आज एउटा थाङ्ने भिआइपी सिटमा विराजमान छ, किनकि ऊ फेरि आउने छैन । जीवन सकिएपछिको यात्रामा जसरी जीवन निवृत्त यात्रीको गुणगान र प्रशंसा हुन्छ, त्यसै गरी सेवाको अन्तिम दिनमा सेवा निवृत्त निजामतीको गुणगान र प्रशंसा हुन्छ । दुनियाँ अन्तिम यात्री र भगमानको स्तुति गरेर थाक्दैन, किनकि अन्तिम यात्री र ईश्वरलाई केही दिनु पर्दैन ।

अनमोल दाइलाई मुख्य सचिवले टिका र माला लगाइदिए । उनलाई आफ्ना अनुभव सुनाउन, मनमा लागेका कुरा निर्धक्क भन्न र अमूल्य सुझाव समेत दिन अनुरोध गरियो ।

अनमोल दाइ – श्रीमान् मुख्यसचिवज्यू , सचिवज्यूहरू, सहसचिवज्यूहरू र उपस्थित मेरा प्यारा मित्रहरू ! सरकारी जागिर एक सपना हो । यो यस्तो सपना हो जसको जागरण हुँदैन । जागिरेसँग सुषुप्ति हुँदैन, जागरण हुँदैन केवल सपना हुन्छ । यही जागरणहीन स्वप्नसंसारमा अरूको सुखको लागि आफ्नो प्रतिष्ठा गुमाउने ‘थाङ्ने’ हरू पनि छन् । अरूको ठुलो र आफ्नो साह्रै सानो फाइदाको लागि ‘मोहरा’ बन्न पछि नपर्ने पनि छन् । म सबै राष्ट्रसेवकहरूलाई विनम्र आह्वान गर्दछु कि सपनामा नरमाउनुहोस, जागा रहनुहोस्, अरूको बन्दोबस्तको लागि आफ्नो नोकरी र प्रतिष्ठालाई जोखिममा नपार्नु होस । लाख राम्रा काम गर्नुहोस्, कसैले देख्दैन । किन्तु होस् राख्नुहोला, कहिले तपाईँले एउटा गल्ती गर्नुहोला र च्याप्प पारुँला भनेर कोही कुरेर बसिरहेछ ! कर्मचारीलाई गल्ती गर्ने सुविधा छैन, इमानदारीसाथ पनि गल्ती नगर्नुहोस् ।

गुमनाम जागिरेको भरमा ‘सुनाम’ सरकारले आफ्नो समृद्धिको सपना साकार गराउने लक्ष्य लिन्छ । तर विडम्बना ! जागिरेले राम्रो काम गर्‍यो भने राजनीतिक नेतृत्वले नाम कमाउँछ, खराब काम गर्‍यो भने कर्मचारी एक्लै ‘बदनाम’ हुन्छ । थाङ्नेहरूको नेकी अरूको भागमा जान्छ, तर बदीको कालो टीको आफ्नै निधारमा लगाउनु पर्दछ । जागिरेको जीवन चिठ्ठीदेखि चिठ्ठीसम्म रहेछ । एउटा चिठ्ठीले जागिरे बनायो, अर्को चिठ्ठीले घर पठायो बस, यही हो जागिर ।

मलाई हिजोसम्म लाग्दथ्यो यी भवन, यी बगैँचा, यी दराज टेबल र कुर्सी सबै मेरा हुन, यी फाइलहरू, यी भित्ता र झ्यालहरू, यहाँ बहने हावाहरू सबै मेरा हुन । काम र कर्मचारीबिचको यही गहिरो सम्बन्धले गर्दा नै निजामती सेवा चिरस्थायी हुँदो रहेछ । यही जिम्मेवारीवोधले गर्दा कर्मचारीतन्त्र स्थायी सरकार हुँदो रहेछ ।

अन्तमा जाँदाजाँदै म गौरवसाथ घोषणा गर्दछु, म शुद्ध ‘थाङ्ने’ हुँ र मलाई यसमा गर्व छ ।

प्रतिक्रिया दिनुहोस