स्वास्थ्य विभागमै डेंगुको घर, हटाउन कानुनी जटिलता ! « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

स्वास्थ्य विभागमै डेंगुको घर, हटाउन कानुनी जटिलता !


प्रशासन विशेष ब्युरो

३ भाद्र २०७६, मंगलबार


काठमाडौँ । आम नागरिकको स्वास्थ्यसँग सम्बन्धित सरकारी निकाय स्वास्थ्य विभागमा नै डेंगुको घर भएको भेटिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत दुई जना कर्मचारीमा नै ड्ंगु भेटिएपछि विभाग परिसरका केही स्थानमा गरिएको नमुना संकलनका क्रममा डेंगु सार्ने लामखुट्टे भेटिएको हो ।

विभागका कर्मचारीमा डेंगु देखिएको र परिसरमा डेंगु सार्ने लामखुट्टे भेटिएको विभागले पुष्टि गरेको छ ।

‘यो रोग सार्ने लामखुट्टे परिसरमा पनि भेटिएको छ’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेक कुमार लालले भने ‘लिखित रूपमा औपचारिक रूपमा जानकारी त आई सकेको छैन तर स्टाफहरूमा भेटियो भन्ने खबर छ’

परिसरबाट सङ्कलन गरिएको नमुनामा डेंगु भेटिएको र कर्मचारी नै सङ्क्रमित भएको विषयमा आज(मङ्गलवार) मात्रै विभागका महानिर्देशसँग मिटिङ भएको र सरसफाइ नै निर्मलीकरणको सबैभन्दा प्रभावकारी उपाय भएकोले विभाग परिसर नियमित सफा राख्ने निर्णय भएको उनले प्रशासनसँग बताए ।

‘नेपाल मात्रै नभई विश्वभरि नै यो रोग सार्ने लामखुट्टे नियन्त्रण नै हो’ डा लालले भने ‘नियमित रूपमा लामखुट्टे हुर्किन सक्ने ठाउँमा यो हुर्किने भएकोले नियमित सरसफाइ गरे मात्रै डेंगु नियन्त्रण हुन्छ’

लामखुट्टे नियन्त्रणमा केही कानुनी कठिनाइ देखिएको सरकारी अधिकारीको भनाई छ । मुख्यगरी कम्पाउण्डमा रहेका थोत्रा टायरलगायत काम नलाग्ने बस्तुहरूमा लामखुट्टे हुर्कने र त्यसलाई नष्ट गर्न महालेखा परीक्षकको टोलीलाई देखाउनु पर्ने भएकोले कठिनाइ देखिएको लालको भनाई छ ।

‘दुई वर्ष पहिले देखिको सामान प्रमाणको रूपमा राख्नु पर्छ’ डा. लालले भने ‘खुल्लामा राख्दा पानी पर्ने र लामखुट्टे जम्ने हुन्छ’

विभाग कम्प्लेक्स भित्रै टेकु अस्पताल पनि भएको र त्यहाँ आउने बिरामीमध्ये दुई जना कर्मचारीमा डेंगु भेटिएपछि सबै महाशाखा प्रमुखहरूलाई बोलाएर परिसर सरसफाइ गर्न निर्देशन दिएको विभागका महानिर्देशक सुशिलनाथ प्याकुरेलले बताएका छन् ।

परिसरमा डेंगु देखिनुको मुख्य कारण ‘आर्थिक नियमावली’लाई नै तेछ्र्याएका उनले विभाग मात्रै नभई अन्यत्र ठाउँमा रहेका टायरहरूसमेत खालि गर्न स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्री कार्यालयमा समेत जानकारी गराएको महानिर्देशक प्याकुरेलले बताए ।

सामान्यतयाः कार्यालय सफा राख्न विभागीय मिटिङ नै डाक्नुपर्ने, मन्त्रालयमा पत्राचार गर्नुपर्ने र प्रधानमन्त्री कार्यालयलाई नै जानकारी गराई राख्नु पर्ने विषय हो जस्तो लाग्दैन । यो सम्बन्धित निर्देशनालय तथा कार्यालयको नियमित कामकारबाही अन्तर्गत नै पर्ने कुरा हो ।

आम नागरिकको जनसरोकारसँग प्रत्यक्ष सम्बन्ध राख्ने सरकारी निकाय स्वास्थ्य विभागमा नै डेंगुको घर भेटिनु र स्वयं त्यहीको कर्मचारी प्रभावित हुनुलाई त राम्रो सन्देश नमानियला नि, यो त दुर्भाग्य नै भन्नुपर्छ महानिर्देशकज्यू ? भन्ने हाम्रो प्रश्नमा प्याकुरेलले ‘टेकु मात्रै सफा गरेर डेंगु नफैलने कुरा नभएको’ बताए ।

‘दुर्भाग्य त हो’ उनले भने ‘काठमाडौँ सडक कार्यालय पनि तपाईँ भन्नुस् न किन सडकमा खाल्डाखुल्डी राखिए भनेर’ उनले प्रतिप्रश्न गरे ।

गाडीका टायरलाई मात्रै मुख्य कारक मानेका महानिर्देशक प्याकुरेलले प्रधानमन्त्री कार्यालय तथा सामान्य प्रशासन मन्त्रालयको कार्यालयका गाडीका टायर नष्ट गर्न एउटा महानिर्देशकले नसक्ने सन्दर्भ जोडे ।

यसैबिच हामीले सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री कार्यालयका थोत्रा टायरहरू विभागमा ल्याएर त तपाईँको परिसरमा थुपारिएको छैनन् होला ? तपाइहरूले जम्मा पारेका टायर हटाउने कुरामा कसरी सिंहदरवार र प्रधानमन्त्री

कार्यालय जोडियो भन्ने हाम्रो अर्को प्रश्नमा उनले भने ‘हामी समाधानतर्फ लागि सक्यौँ, तपाईँ भनेको एकदम सोरै आना सही हो ।’

उक्त प्रश्नपछि कमजोरी स्विकारेका महानिर्देशक प्याकुरेलले स्वास्थ्य विभागको महानिर्देशक भएको नाताले सिङ्गो काठमाडौँकै बारेमा सोच्नु पर्ने भएकोले सन्दर्भ जोडेको कुरा राखे ।

नेपालका ४३ जिल्लाहरूमा डेंगु रोग देखा परेको छ । काठमाडौँमा मात्रै १३ वटा केश भेटिई सकेको छ भने त्यसमा दुई जना टेकु अस्पतालकै कर्मचारी रहेका छन् ।

के हो डेंगु ?

डेंगु लामखुट्टेको टोकाईबाट आउने एक प्रकारको ज्वरो हो । डेंगु भाइरसद्वारा संक्रमित भएको एडिस जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो लामखुट्टेले खासगरी गाडीका टायर, खाली डब्बा, ड्रमहरु, गमला, फूलदानी, पानीका ट्याँङिकहरुमा जमेको तथा हलचल नहुने स्वच्छ पानीमा फूल पार्ने गर्दछ । डेंगुको उचित उपचार हुन नसकेमा मानिसको मृत्युसमेत हुन सक्दछ ।

यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन्।

सामान्यतया डेंगु भाइरसको सङ्क्रमण भएका करीब ८० प्रतिसत मानिसहरूमा रोगका कुनै लक्षणहरू देखिँदैनन् वा देखिए पनि हल्का ज्वरो जस्ता सामान्य खालका लक्षणहरू मात्र देखिन्छन्।

डेंगु ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो ।

Tags :
प्रतिक्रिया दिनुहोस