उत्तरी अफगानिस्तानमा बम बिस्फोट « प्रशासन

उत्तरी अफगानिस्तानमा बम बिस्फोट


प्रकाशित मिति : १ भाद्र २०७६, आईतवार १४:०१

मजार ए सरिफ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सडक छेउमा राखिएको विद्युती धराप बिस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त धरापमा एउटा मिनिबस परेको थियो ।

प्रान्तीय प्रहरी उपप्रमुख अब्दुल रजाक क्वादिरीले बाल्ख प्रान्तको दलत अबाद जिल्लामा मिनिबसलाई लक्षित गरी भएको आक्रमणमा नौ जना निर्दोष व्यक्ति मारिएको जानकारी दिए ।

मृतक र घाइतेलाई स्थानीय जिल्ला अस्पतालमा लगिएको छ । घटनामा केही व्यक्ति गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने पनि रजाकले बताए ।

उनले आक्रमणमा तालिबान समूह जिम्मेवार रहेको दाबी गरे ।

तालिबान समूहले सुरक्षा फौजलाई लक्षित गरी बारुदी सुरुङ बिछ्याउने गरेका छन् । यस्ता बिस्फोटबाट सामान्यतया सर्वसाधारणको मृत्यु बढी हुने गरेको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस