महिलालाई सबै क्षेत्रमा ५० प्रतिशत आरक्षण हुनुपर्छ : महामन्त्री कोइराला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महिलालाई सबै क्षेत्रमा ५० प्रतिशत आरक्षण हुनुपर्छ : महामन्त्री कोइराला


२६ श्रावण २०७६, आइतबार


काठमाडौं । राजनीतिक क्षेत्रमा ख्याति कमाएका व्यक्तिका बारेमा मात्र लेखकले पुस्तक प्रकाशन गरिरहेका बेला सामान्य चिनारीमा रही सामाजिक सेवामा लागेकाको कृति सार्वजनिक भएको छ ।

बूढानीलकण्ठ नगरपालिका–१२ मा रही समाजसेवालगायत मानव प्रेरणामा सक्रिय भुवन गिरीका बारेमा समाजमा ख्यातिप्राप्तसहित सामान्य गरी ७५ लेखकले लेखेको पुस्तक ‘प्रेरक अभियन्ता भुवन’ सार्वजनिक भयो । कृतिको सम्पादन बालकृष्ण दाहाल ‘बिकेडी’ ले गरेका हुन्। प्रकाशन भने नारी जागृति समाजले गरेको हो ।

समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा पुस्तक लोकार्पण गर्दै नेपाली काङ्ग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले जनसङ्ख्याको आधा भाग ओगटेका महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरिनुपर्ने विचार व्यक्त गरे ।

“विपी कोइरालाले विसं २०१५ कै मन्त्रिमण्डलमा महिलालाई पनि समावेशीरुपमा सहभागी गराउनुभएको थियो, राजनीतिलगायत हरेक क्षेत्रमा पुरुष जत्तिकै सहभागी गराउने उनको सोच विसं २०१७ पुस १ गतेको राजनीतिक परिवर्तनले रोकियो, त्यसपछि विपी जेल पर्नु भए पनि मैले आमा सुशीलाबाट समेत महिलालाई हरेक क्षेत्रमा समान सहभागिता जनाउनुपर्ने शिक्षा पाएँ”, पहिलो जननिर्वाचित प्रधानमन्त्री विपीका कनिष्ठ सुपुत्रसमेत रहनुभएका नेता कोइरालाले भने ।

आफूले देशको नेतृत्व गर्ने अवसर पाए महिलालाई हरेक क्षेत्रमा ५० प्रतिशत आरक्षणसहित सशक्तीकरण गर्ने उनको प्रतिबद्धता छ ।

कार्यक्रममा सांसद गगनकुमार थापाले आफ्नी कान्छी छोरी जन्मँदा तत्कालीन संविधानसभाका केही सभासद्ले समेत अर्कोपटक छोरा नै जन्मने विश्वास व्यक्त गर्दै शुभकामना दिएको प्रसङ्ग स्मरण गराउनुहुँदै महिलालाई हेर्ने दृष्टिकोण नीति निर्मातामा पनि बदलिन नसकेको बताए ।

महिला जागरणमा सचेत वर्ग सबैको सहयोग हुनुपर्ने उनको भनाइ थियो । यसैबीच नेता थापाले सरकारले काम गर्न नसके त्यसको विकल्प अर्को सरकार हुने बताउँदै राजा फर्काउने गरी भइरहेका केही टिप्पणीप्रति आपत्ति जनाए ।

सांसद प्रमिला राईले जनसङ्ख्याको ५१ प्रतिशत भाग ओगटेका महिलालाई सक्रिय बनाउन भुवन गिरीजस्ता अभियानकर्मीको भूमिका महत्वपूर्ण रहेको बताइन्।

पुस्तककी पात्र गिरीले आफ्ना लागि मात्र नभई अरुका लागि पनि सोच्नुपर्छ भन्ने भावनाले आफू अघि बढेको बताइन् । पुस्तकका सम्पादक दाहालले समाजमा विभिन्न क्षेत्रमा नाम कमाएका व्यक्तिको मात्र पुस्तक निकाल्ने परम्पराभन्दा फरक गरी सामान्य मानिसको जीवनमा आधारित भई पाँचौँ पुस्तक प्रकाशन गरेको बताए ।

छैटौँ पुस्तकका रुपमा युरोप यात्राको विषयलाई समेटेर किताब सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी पनि उनले दिए। पुस्तकको समीक्षा गर्दै प्रा ज्ञानु अधिकारी र प्रा गोविन्द लुइँटेलले सामाजिकरुपमा भुवन गिरीले पुर्‍याएको योगदानको चर्चा गरिए पनि त्यो प्रेरणा उनमा कसरी आयो भनी पुस्तकमा उल्लेख नगरिएकोतर्फ सम्पादक र प्रकाशकको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा समाजकी अध्यक्ष कान्ता अधिकारी दाहाल, सचिव भावना अर्याल खनाललगायतले अभियानकर्मी गिरीले आफ्नै घरकी घरेलु कामदारलाई समेत प्रेरणा दिएर सामाजिक जीवनमा पुनःस्थापित गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस