डोटी । सुदूरपश्चिम प्रदेश मै सबै भन्दा लामो अबधिको तीर्थ यात्रा मानिने बढीमालिका तीर्थ यात्रा आज देखि सुरु भएको छ । बाजुरा जिल्लामा अबस्थित बढीमालिका भगवतीको पुजा आजा गर्नका लागी डोटीबाट हरेक वर्ष झै यसवर्ष पनि एक सरकारी टोलीलाई पुजा सामग्रीका साथ पठाईएको छ ।
बाजुरा जिल्लामा रहेको बढीमालिकामा हरेक वर्ष भाद्र शुक्ल पक्ष चतुदर्शीका दिन सम्पन्न हुने विशेष मेलामा डोटीबाट पुजा सामग्रीका साथ पेटारो पठाउने गरिन्छ । सरकारी कर्मचारीहरुको एक टोलिले नै उक्त पेटारो पुजा सामग्रीको पोको लैजाने गर्दछन । बर्षौदेखि सो चलन चलिआएको छ । नेपाल एकिकरण हुनु पुर्व डोटेली राजाले सो क्षेत्रमा सरकारी पुजा पठाउने चलन रहेको भए पनि पछिल्ला सयम नेपालमा राज्य संचालन गर्ने शाह बंशिय राजा, राणाकालिन अबस्थाका बढा हाकिम तथा हालको सरकारले समेत पुजा सामग्री पठाउने चलन रहेको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीबाट निकालिएको मालिका रथयात्रालाई शैलेश्वरी मन्दिरमा तान्त्रीक विधिले पुजा गरी विशेष मन्त्रले बाधी पेटारोका साथ सरकारी टोलीलाई विदाई गरिन्छ । शैलेश्वरी मन्दिरका मुल पुजारी प्रेमशंकर भट्टले भने, ‘ठाउँ–ठाउँमा बास बसी १५ दिन पछि पेटारो बढीमालिका पुग्ने गर्दछ ।’ भगवतीका सात बहिनी मध्येमा कान्छी बहिनी मानिने बडीमालिका भगवतीको रथ यात्रालाई जिल्ला सदरमुकाम स्थित जिल्ला प्रशासनको कार्यालय परिसरमा नेपाली सेना र नेपाल प्रहरीको एक टुकरीले सलामी सहित टोलीलाई विदाई गर्ने चलन रहँदै आएको छ ।
प्राचिन कालदेखि डोटीबाट बडिमालिकाका लागि पेटारो पठाउने प्रचलन अनुसार यस वर्ष पनि एक टोलीसहित उक्त पेटारो बडीमालीकाका लागि पठाईएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने भगवतीका विभिन्न सात वटा बहिनी शैलेश्वरी, त्रिपुराशुन्दरी, डिलाशैनी, उग्रतारा, निङलाशैनी, पूर्णागिरी र मालिकामध्ये मालिका कान्छी बहिनी रहेको र भौगोलिक रुपले टाढा भएका कारण उनलाई खुशी पार्न पूजा पठाउने प्रचलन अनुसार पठाइएको बताए । जिल्ला प्रशासन कार्यालयबाट पठाईने पूजामा सुन जनै, चाँदीको मूर्ती, छत्र बाँसुरी समेतको ऐना, काईयो, डोली र दिपायल गुठीको धानको भुरुणी पठाउने प्रचलन रहेको छ ।
सरकारी टोलीलाई गन्तव्य सम्म पुग्नका लागी अछाम, बाजुरा जिल्लाको सुरक्षा समिति संग कुरा भएको र विशेष सुरक्षा व्यवस्था समेत मिलाईएको समेत प्रजिअ पौडेलले बताए । सरकारी टोली साउन २९ गते मालिकामा सम्पन्न हुने विशेष पुजामा सरिक हुनेछ । बडिमालिकाको मेलापश्चात मेलाको प्रसाद सहित उक्त पूजा टोली डोटी फिर्ता हुने गर्दछ ।