महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक दुई हजार « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक दुई हजार


१ श्रावण २०७६, बुधबार


मुग्लिन । इच्छाकाना गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकालाई मासिक रु दुई हजार उपलब्ध गराउने भएको छ । आव २०७५/७६ मा प्रोत्साहनस्वरुप यातायात खर्चका लागि मासिक रु १ हजार ५०० उपलब्ध गराउँदै आएकामा गाउँपालिकाले आव २०७६/७७ देखि भने रु ५०० वृद्धि गरेर मासिक रु दुई हजार दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिए ।

गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकालाई झोला, छाता र टर्चलाइट पनि उपलब्ध गराएको छ । महिला स्वास्थ्य स्वंयसेविका रातदिन घामपानी नभनी जनताको सेवामा खटिरहनुपर्ने भएकाले काम गर्न सहज होस् भनेर यी सामग्री उपलब्ध गराइएको अध्यक्ष गुरुङले बताए ।

सात वटा वडा रहेको यस गाउँपालिकाभित्र ३६ महिला स्वास्थ्य स्वयंसेविका रहेको गाउँपालिका स्वास्थ्य संयोजक धनकुमार खड्काले जानकारी दिए । नेपालमा बाल मृत्यु र मातृ मृत्युदर रोक्न, प्रजनन स्वास्थ्यका बारेमा गाउँगाउँमा महिला स्वास्थ्य स्वयंसेविकाले जनचेतना दिँदै आएका छन् ।

यसैबीच गाउँपालिकाको वडा नं ४ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक धनकुमार खड्काले सरकारले तोकेको मापदण्ड पूरा गरेपछि पूर्ण संस्थागत सुत्केरी वडा गरिएको जानकारी दिए । उनका अनुसार पूर्ण संस्थागत वडा घोषणा गर्न स्वास्थ्य संस्थामा ९५ प्रतिशतले सुत्केरी गराएको हुनुपर्नेछ ।

आर्थिक वर्ष २०७५/७६ को साउनदेखि जेठ महीनासम्म यस वडामा १३१ मध्ये छ जनाले मात्र घरमै सुत्केरी गराएको र यो संस्थागत सुत्केरी गराउनेको सङ्ख्यामा ९५.५ प्रतिशत भएको संयोजक खड्काले बताए ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस