पाठेघरको मुखको क्यान्सर र यसको रोकथाम « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पाठेघरको मुखको क्यान्सर र यसको रोकथाम


१ श्रावण २०७६, बुधबार


महिलाको पाठेघरको मुखमा भएका कोषहरुको असामान्य ढङ्गले वृद्धि हुनु नै पाठेघरको मुखको क्यान्सर हुनु हो । पाठेघरको मुखबाट सुरु हुने यो क्यान्सर समयमा उपचार नगरिए शरीरको अन्य भागमा फैलिई मृत्यु समेत निम्त्याउँदछ । तर समयमा पाठेघरको जाँच गरी क्यान्सरपूर्वको घाउ तथा प्रारम्भिक चरणको उपचार समयमानै गर्न सके यसबाट बच्न सकिन्छ । पाठेघरको मुखको क्यान्सर ३० देखि ६४ वर्ष उमेरका महिलामा धेरै पाइएको छ ।

स्वास्थ्य चेतनाको कमी र स्वास्थ्य जाँच गराउन आर्थिक अभावका कारण यस रोगबाट धेरै नेपाली महिला पीडित भएका तथा अकालमानै ज्यान गुमाउनु परेको छ ।

विश्वमा महिलाहरुमा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर(Cervical Cancer) तेस्रो स्थानमा पर्छ भने नेपाली महिलाहरुमा यो पहिलो स्थानमा पर्छ । अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी(IARC) को प्रतिवेदन २०१८ अनुसार १५ देखि ४४ वर्ष उमेर समूहका नेपाली महिलाहरूमा क्यान्सरले गर्दा हुने मृत्यु मध्ये पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्यु पहिलो स्थानमा परेको छ ।

विश्वमा वार्षिक लगभग ५,७०,००० पाठेघरको क्यान्सरको नयाँ केस थपिन्छन् भने ३, ११,००० महिलाको वर्षेनि मृत्यु हुने गर्दछ । (WHO-2018 est.)

नेपालमा वर्षमा २,९४२ महिलामा पाठेघरको मुखको क्यान्सर भएको पत्ता लागेको छ भने १,९२८ महिलाको यो रोगबाट मृत्यु भएको छ । (ICO/IARC-2018)

स्मरण रहोस् नेपाल र विश्वका अन्य मध्यम तथा तल्लो स्तरको आय भएका देशका धेरै महिलाहरूको गरिबीका कारण रोगनै पत्ता नलागि(अस्पताल नै पुग्न नपाई) मृत्यु हुने भएकोले पाठेघरको क्यान्सरबाट प्रभावित र मृत्यु हुनेको सङ्ख्या अझै धेरै अनुमान गर्न सकिन्छ ।

पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण
पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्यूमन प्यापिलोमा भाइरस(एच.पी.भि.) हो । यो भाइरसको प्रकार १०० भन्दा बढी भएतापनि ‘टाइप १६ र १८’ पाठेघरको सङ्क्रमणमा बढी सक्रिय हुन्छन् ।

स्वस्थ महिलामा एच.पी.भि ले सङ्क्रमण गरेदेखि क्यान्सरको रूप लिन १५ देखि २० वर्ष समय लाग्छ भने कमजोर र रोगसङ लड्न सक्ने क्षमता कम भएकी महिलामा सङ्क्रमण पश्चात् ५ देखि १० वर्षमा क्यान्सरको रूप लिन्छ ।

स्मरण रहोस्, एच.पी.भि भाइरस पाठेघरको क्यान्सरको मात्र कारण नभई यौनी वरिपरि आउने गाठागुठी(मुसा), यौनीको क्यान्सर, मलद्धारको क्यान्सर, पुरुषको लिङ्ग र अण्डाशयको क्यान्सरको कारण पनि हो । र मुख मैथुन गर्नेलाई मुखको क्यान्सरको कारण पनि हुनसक्छ ।

क्यान्सर गराउने भाइरस (एच.पी.भि) सर्ने माध्यम
ह्यूमन प्यापिलोमा भाइरस सर्ने प्रमुख माध्यम भनेको यौन सम्पर्क नै हो भने कहिलेकाहीँ यौनाङ्गको छालाको संसर्गबाट पनि सर्न सक्छ । मुख मैथुन, मलद्धार मैथुन पनि सर्ने माध्यम हुन ।

पाठेघरको क्यान्सरलाई बढवा दिने जोखिमपूर्ण तत्त्वहरू
ह्यूमन प्यापिलोमा भाइरस पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण भएता पनि यसका साथै अन्य तत्त्वहरू पनि उत्तिकै जिम्मेवार छन् । जस्तैः
धुम्रपान :  चुरोट, बिडी, तमाखु, सुर्ति सेवन गर्ने महिलामा पाठेघरको मुखको क्यान्सर हुने जोखिम धेरै हुन्छ ।
कमजोर प्रतिरक्षा प्रणाली : कमजोर र रोगसँग लड्न सक्ने क्षमता कम भएकी महिलामा क्यान्सर हुने सम्भावना बढ्छ ।
सानो उमेरमा विवाह गर्नु तथा सानै उमेर देखि शारीरिक सम्पर्क गर्नु  : नेपालको धेरै ग्रामीण भेगमा छोरीलाई सानै उमेरमा बिहे गरिदिने चलन अझै पनि व्याप्त छ । सानो उमेरमा बिहे गर्दा उनीहरू चाडैनै शारीरिक सम्पर्कमा सहभागी हुन्छन् जसले गर्दा क्यान्सर गराउन सक्ने भाइरस (एच.पी.भी.) ले सङ्क्रमण गर्ने जोखिम बढेर जान्छ । अध्ययनका अनुसार नेपाली महिलाको प्रथम पटक सहवास गर्ने औसत उमेर १६.५ देखि १७.९ वर्ष भएको र ४.६ प्रतिशतले १५ वर्षको उमेरदेखीनै शारीरिक सम्पर्क गर्ने गरेको र २४.५ प्रतिशतले १५ देखि १९ वर्ष भित्र विवाह गर्ने पाइएको छ । जुन धेरै जोखिमपूर्ण हुन्छ । (क्ष्ऋइरक्ष्ब्च्ऋ( द्दण्ज्ञड)
सानो उमेरमा बच्चा जन्माउने र धेरै बच्चा जन्माउने महिलाहरू पनि पाठेघरको क्यान्सरको उच्च जोखिममा पर्दछन् ।
धेरै जनासँग असुरक्षित शारीरिक सम्पर्क राख्नाले पनि क्यान्सरको जोखिमलाई बढाउँछ ।
लामो समयसम्म हर्मोनयूक्त परिवार नियोजनका साधनहरू प्रयोग गर्दा पनि पाठेघरको क्यान्सर हुने केही जोखिम बढ्छ ।
सन्तुलित भोजनको कमिले गर्दा रोगसँग लड्न सक्ने क्षमतामा कम हुनगइ क्यान्सर गराउनसक्ने भाइरसले सङ्क्रमण गर्ने जोखिम बढ्छ ।
 यौनजन्य रोगहरूको समयमा उपचार नगर्दा पनि क्यान्सर हुने जोखिम हुन्छ । जस्तैः भिरिङ्गी, गनोरिया, क्लेमाइडिया, जेनाइटल हरपिस जस्ता यौन रोगहरूको समयमानै उपचार नगर्दा पाठेघरको क्यान्सर हुने जोमिख बढ्छ ।

पाठेघरको क्यान्सरका लक्षणहरुः
क) प्रारम्भिक चरणमा देखिन सक्ने केही लक्षणहरुः
 सुरु चरणमा सामान्यतया धेरै महिलाहरूमा यसका लक्षणहरू देखिँदैनन् र यौनाङ्गको जाँच गरेपछि मात्र पत्ता लाग्छ ।
 यौन सम्पर्क पछि कहिले काहीँ केही रगत बग्नु,
 महिनावारीको बिचमा अनियमित रगत बग्नु,
 महिनावारी रोकिएका महिलाहरूमा कहिले काहि रक्तस्राव हुनु,
 यौनबाट दुर्गन्धित सेतो पानी बग्नु तथा चिलाउनु,
यस्ता लक्षण देखिएमा तुरुन्तै चिकित्सकको सल्लाह लिई आवश्यक परीक्षण गराउनु पर्छ ।

ख) अन्तिम चरणमा देखिने लक्षणहरुः
पाठेघरको क्यान्सरको पछिल्लो चरणमा निम्न गम्भीर लक्षणहरू देखिन सक्छन् ।
 लगातार ढाड, तल्लो पेट र खुट्टा दुख्न, खुट्टा सुन्निनु
 खाना खान मन नलाग्नु, तौल घट्दै जानु, धेरै थकान लाग्नु,
 यौनबाट दुर्गन्धित तरल पदार्थ बग्नु र असजिलो हुनु,

पाठेघरको मुखको क्यान्सर हुनबाट बच्ने उपाय तथा रोकथाम
क) प्राथमिक रोकथाम (Primary Prevention)
रोग लागेर उपचार गर्नु भन्दा लाग्न नदिनुनै उत्तम हुन्छ । क्यान्सर गराउन सक्ने ह्यूमन प्यापिलोमा भाइरसको सङ्क्रमणबाट बच्न निम्न कुराहरूमा ध्यान दिनुहोस ।
 ह्यूमन प्यापिलोमा भाइरसका विरुद्ध एच.पी.भि खोप लगाउनेः विश्व स्वास्थ्य सङ्गठनका अनुसार यो खोप ९ देखि १४ वर्ष उमेरका किश्वरीहरुलाई दिँदा प्रभावकारी हुन्छ र भविष्यमा हुनसक्ने पाठेघरको क्यान्सरको रोकथाम गर्दछ । गरडासिल (Gardasil), गरडासिल नाइन (Gardasil 9), र सर्भरिक्स (Cervarix) एच.पी.भि विरुद्ध लगाइने खोप हुन । अहिलेसम्म नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरको खोपलाई नियमित राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत राखेको छैन तर अब छिट्टैनै भित्रयाउने तयारी गर्दै छ । पाठेघरको जाँच पश्चात् एच.पी.भि.को सङ्क्रमण नभएको थाहा भए १४ वर्ष माथिका महिलाले पनि एच.पी.भि खोप लगाउन सक्छन् तर भाइरसको सङ्क्रमण भइसकेका महिलाले लगाउनुको कुनै फाइदा हुँदैन ।
 एक जना व्यक्तिसँग मात्र शारीरिक सम्पर्क राख्ने,
 सानो उमेरमा विवाह नगर्ने,
 सानो उमेरमा शारीरिक सम्पर्क नगर्ने,
 असुरक्षित यौन सम्पर्क नगर्ने, कण्डमको प्रयोग गर्ने,
 सानो उमेरमा बच्चा नजन्माउने,
 धेरै बच्चा नजन्माउने,
 लामो समयसम्म हर्मोनयूक्त परिवार नियोजनका साधनहरू प्रयोग नगर्ने
 धूम्रपान (चुरोट, बिँडी, तमाखु, सुर्ती सेवन) नगर्ने
 महिला पुरुष दुवैले यौनजन्य रोगहरूको समयमानै उपचार गर्ने,
 ताजा फलफुल तथा हरियो सागसब्जी नियमित सेवन गर्ने,
 महिला पुरुष दुवैले यौनाङ्गको सरसफाइमा विशेष ध्यान दिने,

ख) माध्यमिक रोकथाम (Secondary Prevention) 
 पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्गः पाठेघरको मुखको क्यान्सर छ की छैन भनी समयमानै पत्ता लगाई सोही अनुसार उपचार गर्न ३० वा ३० वर्ष माथिका हरेक महिलाले चिकित्सकको सल्लाह लिई पाठेघरको निम्न जाँच गर्नुपर्छ

  •  ह्यूमन प्यापिलोमा भाइरस परीक्षण (एच.पी.भि टेस्ट)
  •  भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड (भि.आइ.ए.) अथवा
  • प्याप स्मेयर टेस्ट

 जाँच पश्चात् पत्ता लागेका क्यान्सर पूर्व देखिने घाउको समयमानै उपचार गर्नसके पाठेघरको क्यान्सरहुनबाट शतप्रतिशत बच्न सकिन्छ र प्रारम्भिक चरणमानै क्यान्सर पत्ता लाग्न सकेमा तुरुन्तै उपचार गरी मृत्युबाट बच्न सकिन्छ ।

ग) तृतीय रोकथाम (Tertiary Prevention)
यस अन्तर्गत क्यान्सर पत्ता लागे पश्चातको उपचार तथा प्रशामक स्याहार (Palliative care) पर्छ । उपचार विधि क्यान्सरको चरण अनुसार फरक पर्नसक्छ जुन यस प्रकार छन्ः
 शल्यक्रिया
 रेडियोथेरापी
 किमोथेरापी
अतः भविष्यमा हुनसक्ने पाठेघरको क्यान्सरबाट बच्न ९ देखि १४ वर्ष भित्र छोरीहरूलाई क्यान्सर गराउन सक्ने ह्यूमन प्यापिलोमा भाइरसका विरुद्ध एच.पी.भि खोप दिनुनै क्यान्सर रोकथामको पहिलो पाइला हो । साथै सुरक्षित यौन व्यवहार अपनाउने, धूम्रपान देखि टाढा रहने, सानो उमेरमा विवाह तथा शारीरिक सम्पर्क, सानै उमेरमा बच्चा जन्माउने र धेरै बच्चा जन्माउने कार्यदेखि टाढा रहेमा भविष्यमा हुनसक्ने पाठेघरको क्यान्सरबाट बच्न सकिन्छ । यससँगै ३० वा ३० वर्ष माथिका हरेक महिलाहरूले समय समयमा पाठेघरको मुखको जाँच (स्क्रिनिङ्ग) गरी क्यान्सर पूर्वको घाँऊ(precancerous lesion) देखिएमा समयमा नै उपचार गरे पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिन्छ ।

Sources:
WHO HPV & Cervical Cancer Fact Sheet- 2018
ICO\IARC- Nepal HPV & related Cancer fact sheet 2018
WHO/ICO Information center on HPV and cervical cancer

Tags :
प्रतिक्रिया दिनुहोस