नौ बुँदे निर्णय गर्दै सकियो राप्रपाको प्रदेश बैठक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नौ बुँदे निर्णय गर्दै सकियो राप्रपाको प्रदेश बैठक


३० असार २०७६, सोमबार


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं– १ को विस्तारित बैठक विभिन्न नौ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । इलामको पशुपतिनगरमा बसेको विस्तारित बैठकमा पार्टी अध्यक्ष कमल थापाको उपस्थिति रहेकोे थियो ।

बैठकलाई सम्बोधन गर्दै थापाले नयाँ शिराबाट पार्टीलाई अगाडि बढाउनु जरुरी भएकाले सैद्धान्तिक, वैचारिक, निष्ठा, साङ्गठानिक क्रियाशीलता, इमानदारी र मेहनतको बलमा पार्टीलाई उठाउने गरी काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले राप्रपालाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने जिम्मेवारी बहन गर्नबाट कोही पनि चुक्न नहुने विचार व्यक्त गरे ।

पार्टीका महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले सङ्गठनबिना पार्टीको उद्देश्य प्राप्त नहुने हुँदा सङ्गठनलाई केन्द्रमा राखेर गतिविधि गर्नुपर्नेमा जोड दिए । प्रदेश अध्यक्ष राम थापाको अध्यक्षतामा भएको बैठकमा प्रदेशभित्रका पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश समिति, जिल्ला अध्यक्ष, जनवर्गीय सङ्गठन प्रमुखको उपस्थिति थियो ।

पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकले केही दिन अघिदेखि परेको अविरल वर्षाले पुर्‍याएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गर्दै राहत तथा उद्धारमा जुट्न सबैमा आग्रह गरेको छ । साथै बैठकले विदेशबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षणको तत्काल व्यवस्था गर्न सरकार समक्ष माग गरेको छ ।

यस्तै लोभ, लालच, प्रलोभनका आधारमा योजनाबद्ध रुपमा व्यापक धर्म परिवर्तन गराउने काम भइरहेको भन्दै बैठकले आपत्ति जनाउँदै तत्काल धर्म परिवर्तनलाई रोक र संलग्नलाई कारवाही माग गरेको सहायक महामन्त्री बर्तौलाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस