गण्डकी प्रदेश आत्मनिर्भर बन्छ : मन्त्री पुन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गण्डकी प्रदेश आत्मनिर्भर बन्छ : मन्त्री पुन


२७ असार २०७६, शुक्रबार


चिप्लेढुङ्गा । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सरकार प्रदेशलाई आत्मनिर्भर प्रदेश बनाउने लक्ष्यका साथ अघि बढेको बताएकी छन् ।

तमु भाङ्ग्रा हस्तकला उद्योगको आयोजना, मन्त्रालयको सहयोग र ङ्योए तमुधिको व्यवस्थापनमा सञ्चालित दुईमहिने भाङ्ग्रा तथा ढाका बुनाइ तालीम समापन समारोहमा मन्त्री पुनले सरकारले स्वरोजगार कार्यक्रमलाई जोड दिएको बताइन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य गायत्री गुरुङले सीपको सदुपयोग गरेर आत्मनिर्भर बने घर टोल हुँदै राष्ट्र समृद्ध हुने भनाइ राखिन् । घरेलु उद्योग कास्कीका प्रमुख चक्रपाणि गौतमले सरकारले उद्योग व्यवसायलाई निकै प्राथमिकता दिएर कार्यक्रम ल्याएको र स्वरोजगार बन्न चाहनेहरुका लागि विभिन्न ताली प्रदान गरेको जानकारी दिइन् ।

स्वस्तिक हस्तकला उद्योगका सञ्चालक सीता गुरुङले उत्पादित सामानको बजारीकरणको ज्ञान पनि तालीमसँगै आवश्यक रहेको भनाइ राखिन् ।

तमु भाङ्ग्रा उद्योगका सञ्चालक पवित्र गुरुङले गण्डकी प्रदेशमा भाङ्ग्राको माग राम्रो रहेकाले दिदिबहिनीलाई आत्मनिर्भर बनाउन तालीम आयोजना गरिएको जानकारी दिइन् । पाँच प्रशिक्षकद्वारा प्रदान गरिएको तालीममा ९० जनाले सहभागिता जनाएका थिए । सहभागीले भाङ्ग्रा ढाकाको पछ्यौरा, रुमाल, साडीलगायत सामग्री उत्पादन गरेको कार्यक्रम सञ्चालक पुतली गुरुङले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस