विपन्न परिवारको बिजुली बाल्ने सपना पूरा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विपन्न परिवारको बिजुली बाल्ने सपना पूरा


२६ असार २०७६, बिहिबार


डडेल्धुरा । आर्थिक अभाका कारण बिजुलीको लाइन जोड्न नसकेका विपन्न परिवारले पनि अब बिजुली बाल्न पाउने भएका छन् ।

सरकारी नीतिअनुसार नेपाल विद्युत् वितरण केन्द्र डडेल्धुरा शाखा कार्यालयले जिल्लाका ४२ जना अति विपन्न परिवारलाई निःशुल्क मिटरबक्स वितरण गरेकाले वर्षौंदेखिको उज्यालो घर बनाउने सपना पूरा भएको विपन्न परिवारका सदस्यले बताए ।

छ घण्टा बस यात्रा गरेर उक्त केन्द्र आइपुगेका आलिताल गाउँपालिका वडा नं ६ का चन्द्रबहादुर लोहार निःशुल्क मिटरबक्स पाउँदा खुशी भए । यसैगरी बल्ल अब बिजुली बाल्न पाइने भइयो भन्दै खुशी भएका अमरगढी नगरपालिका–८ का बहादुर भुलले पनि आर्थिक अभावकै कारण यसअघि मिटर किन्न नसक्दा अँध्यारोमै गुजारा चलाउन बाध्य भएका थिए ।

मिटर बक्स किन्नका लागि रु दुई हजार ५०० सम्म जुटाउन नसकेका भुलले निःशुल्करुपमा विद्युत् मिटरबक्स पाएपछि घर नै उजालो हुने आशामा परिवार पनि दङ्ग भएका छन् भने ।

जिल्लाको अमरगढी नगरपालिका, गन्यापधुरा र आलिताल गाउँपालिकाका ४२ अति विपन्न परिवारलाई मिटरबक्स वितरण गरिएको थियो । स्थानीय तहले छनोट गरेका विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर बक्स दिइने भएकाले सातवटै स्थानीय तहलाई सिफारिशका लागि पत्राचार गरिसकेको र माग आएमा अरुलाई पनि निःशुल्क मिटरबक्स दिइने वितरण केन्द्र प्रमुख ईश्वरकुमार श्रेष्ठले बताए । अति विपन्न परिवारका साथै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका धार्मिक संस्थालाई पनि निःशुल्क मिटरबक्स दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस