नेपालको कूटनीतिक अभ्यासः राजदूतहरुको अनुभव बजारमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपालको कूटनीतिक अभ्यासः राजदूतहरुको अनुभव बजारमा


२४ असार २०७६, मंगलबार


काठमाडौं । ‘नेपालको कूटनीतिक अभ्यासः राजदूतहरुको अनुभव’ नामको स्मरणात्मक पुस्तक बजारमा आएको छ । असी वर्षको हाराहारीमा पुगेका २० जना पूर्वराजदूतको अनुभवलाई लिपिबद्ध गरेर पत्रकार विष्णु रिजालको सम्पादनमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले उक्त पुस्तक बजारमा ल्याएको हो ।

नेपालको कूटनीतिक इतिहास समेटिएको उक्त पुस्तक आज राजधानीमा सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले त्यसलाई देशको कूटनीतिकजगत्को आँखीझ्यालको संज्ञा दिए ।

नेपालको कूटनीतिक अभ्यास, पुरानो पुस्ताले गरेका काम, आधुनिक कूटनीतिको अभ्यास नहुँदै नेपाल राष्ट्रको स्वतन्त्रता कायम गर्न सक्षम पूर्वजबारे जानकारी लिन पुस्तक उपयोगी हुने विश्वास उनले व्यक्त गरे।

पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाले आफूले अमेरिका र भारतको राजदूत हुँदा निर्वाह गरेको भूमिका तथा आर्थिक कूटनीतिप्रतिको आफ्नो झुकावबारे चर्चा गरे ।

पूर्वराजदूत मदनकुमार भट्टराईले जापानभन्दा अगावै नेपालले कूटनीतिक अभ्यास प्रारम्भ गरेको बताउँदै नेपालको कूटनीति सञ्चालनका आरोह–अवरोहको समीक्षा गरे । पत्रकार युवराज घिमिरेले कूटनीति राष्ट्रिय हित र स्वार्थमा मात्र केन्द्रित हुनुपर्नेमा जोड दिए ।

सम्पादक रिजालले नेपालको कूटनीतिबारे ज्ञान बाँड्ने ध्येयले पुस्तक सम्पादनमा लागेको बताउँदै यसै पुस्तकको अर्को खण्डमा महिला राजदूतका अनुभवलाई पनि स्थान दिने प्रतिबद्धता व्यक्त गरे । विमोचन समारोहमा परराष्ट्र सचिव शङ्करदास वैरागी र प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस