विद्युत् चुहावटमुक्त नगरमा विपन्नलाई विद्युत् मिटर बक्स « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विद्युत् चुहावटमुक्त नगरमा विपन्नलाई विद्युत् मिटर बक्स


२४ असार २०७६, मंगलबार


कनकाई । नेपालकै पहिलो विद्युत् चुहावटमुक्त नगरका रूपमा परिचित झापाको कनकाई नगरपालिकामा रहेका विपन्न वर्गका नगरवासीलाई एक कार्यक्रमबीच सोमबार निःशुल्क विद्युत् मिटर बक्स वितरण गरिएको छ ।

नगरपालिका परिसरमा आयोजना गरिएको निःशुल्क मिटरबक्स वितरण कार्यक्रममा स्थानीय ८० वर्षीया ज्येष्ठ सदस्य कृष्णमाया राईलाई मिटरबक्स वितरण गर्दै नगरप्रमुख राजेन्द्र पोखरेलले कार्यक्रमको शुभारम्भ गरेका थिए । वितरणको पहिलो दिन नगरका वडा नं १, २ र ३ का विपन्नवर्ग र समुदायको पहिचान गरी वडाको सिफारिसमा १३५ लाई मिटर बक्स वितरण गरिएको थियो । विद्युत् मिटर लिएपछि जग्गाको लालपुर्जा नभएर आर्थिक अभावले घरमा मिटर जोड्न समस्यामा परेका नगरवासीलाई राहत मिलेको स्थानीय सहजकर्ता श्याम ओलीले बताएका छन् ।

नगरक्षेत्रमा रहेका लक्षित वर्गका ४५० घरधुरीलाई क्रमिकरूपले वडामा कार्यक्रम आयोजना गरी तत्काल मिटर बक्स वितरण गरिने नगरप्रमुख पोखरेलले बताए । एक वर्ष अगाडि मात्र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नगरपालिकालाई नेपालकै पहिलो विद्युत् चुहावटमुक्त नगर घोषणा गरेका थिए ।

नगरपालिकाको संयोजनमा नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले विद्युत् मिटर बक्स वितरण गरेको हो । निर्देशनालयका संयोजक राजनऋषि कँडेलले वर्तमान अवस्थामा आम उपभोक्ताको हितलाई सङ्कुचन नगरी गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने संस्थाको उद्देश्यअनुसार यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस