नेपाली सेनाले निर्माण गरेको खानेपानी ट्याङ्की र सत्तल हस्तान्तरण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपाली सेनाले निर्माण गरेको खानेपानी ट्याङ्की र सत्तल हस्तान्तरण


२३ असार २०७६, सोमबार


नेपाली सेना

भक्तपुर । नेपाली सेनाको वीर दल गणले सूर्यविनायक नगरपालिका–९ पलासेस्थित पञ्चकन्या मन्दिर परिसरमा ५ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की र सत्तल निर्माण गरेको छ ।

नेपाली सेनाका उपत्यका पृतनापति नीरञ्जनकुमार श्रेष्ठ र सांसद महेश बस्नेतले आज संयुक्तरुपमा सो नवनिर्मित खानेपानी ट्याङ्की र सत्तल उद्घाटन गरे । सो अवसरमा सांसद बस्नेतले सूर्यविनायकलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै आन्तरिक एवं वाह्य पर्यटनको आकर्षणका रुपमा लैजाने बताए ।

उनले आफू मन्त्री हुँदा पहिलो महीनाको तलब दिएर निर्माण शुरु भएको पञ्चकन्या मन्दिर परिसरमा अहिले नेपाली सेनाले पानी ट्याङ्की र सत्तल निर्माण गरेर हस्तान्तरण गर्नु गर्वको कुरा भएको जानकारी दिए ।

पृतनापति श्रेष्ठले नेपाली सेनाले सामाजिक उत्तरदायित्वको काम पनि इमान्दारीपूर्वक गर्दै आएको बताए । वीर दल गणका गणपति शिव पौडेलले मन्दिरमा मात्रै नभई खानेपानीको अभाव रहेको पलासेको स्थानीय बासिन्दालाई समेत खानेपानी वितरणमा सहज हुने गरी ५ हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिएको जानकारी दिए । करीब रु ६ लाखको लागत अनुमान गरिएको उक्त संरचनाका लागि नेपाली सेनाको छिटो सम्पादन गर्ने योजनाअन्तर्गत रु १ लाख ५० हजार, वीर दल गणको रु ६० हजार तथा वडा कार्यालयको सहयोग र नेपाली सेनाको श्रमदानमा सो पानी ट्याङ्की र सत्तल निर्माण गरिएको उनले बताए ।

सो पानी ट्याङ्की र सत्तल आज पञ्चकन्या मन्दिर विकास समितिलाई हस्तानान्तरण गरिएको पनि उनले जानकारी दिए ।

गणपति पौडेलले चाँगुनारायण नगरपालिका– २ झौखेलमा पनि वीर दल गणले ३०० जना क्षमता रहेको सामुदायिक भवन निर्माण गरेर हस्तान्तरण गर्ने चरणमा रहेको बताए । वडा नं ९ का अध्यक्ष उपेन्द्र केसीले विकास निर्माणमा नेपाली सेनाको सहयोग पाउनु खुशीको विषय भएको बताउँदै नेपाली सेनासँग आगामी दिनमा पनि सहकार्य गरेर जाने बताए ।रासस

प्रतिक्रिया दिनुहोस