स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढे « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढे


२० असार २०७६, शुक्रबार


मुग्लिन । चितवनको एक मात्र गाउँपालिका ईच्छाकामनामा स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो समयमा जनचेतना बढ्दै गएपछि यहाँ हरेक वर्ष स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि हुदैँ गएको हो ।

गाउँपालिकाभित्र रहेका पाँचवटा स्वास्थ्यचौकीमा गत आर्थिक वर्ष २०७४/७५ मा १३२ जनाले सुत्केरी गराएको गाउँपालिकाका स्वास्थ्य प्रमुख धनकुमार खड्काले जानकारी दिए ।

खड्काका अनुसार उक्त आर्थिक वर्षमा ५१६ जनाले पहिलो गर्भ जाँच गराएका थिए । भने नियमित चार पटक १४० जनाले गर्भ जाँच गराएका थिए । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको भन्दा बढी हो ।

यसैबीच आर्थिक वर्ष २०७५/७६ को साउनदेखि चैत मसान्तसम्मको नौ महीनामा ७९ जनाले स्वास्थ्य संस्थामा सुत्केरी गराएका छन् । त्यस्तै ३४० पहिलो गर्भ जाँच गराएकामध्ये १४० जनाले भने चार पटक गर्भजाँच गराएका थिए । खड्काका अनुसार गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थामा गर्भजाँच गराएकामध्ये केहीले भरतपुरलगायत अन्य स्वास्थ्य संस्थामा सुत्केरी गराउने गरेका छन् ।

पछिल्लो समयमा स्वास्थ्यचौकीमै गएर सुत्केरी गराउनुपर्छ भन्ने जनचेतना र स्वास्थ्यचौकीले दिने २४ घण्टे सेवाका कारण स्वास्थ्यचौकीमा सुत्केरी गराउनेको सङ्ख्यामा बढेको खड्काले बताए ।

साथै स्वास्थ्य संस्थामा गर्भवती गराउनेलाई गाउँपालिकाले हर्लिक्स र सुपको निःशुल्क व्यवस्था समेत गरेको छ । स्वास्थ्य संस्थामा छोरी जन्माउनेलाई बैँकमा खाता खोली रु १० हजार रकम जम्मा गर्ने व्यवस्था गरेको छ ।

वडा न ४ पूर्ण संस्थागत सुत्केरी

वडा न– ४ पूर्ण संस्थागत सुत्केरी वडा भएको छ । सरकारले तोकिएको मापदण्ड पूरा गरेपछि पूर्ण संस्थागत सुत्केरी वडा भएको हो । दारेचोक स्वास्थ्य चौकीका इन्चार्ज हरि देवकोटाका अनुसार आर्थिक वर्ष २०७५/७६ को साउनदेखि जेठ महीनासम्म यस वडामा १३१ मध्ये ६ जनाले मात्र घरमै सुत्केरी गराएको पाइएको छ । यो संस्थागत सुत्केरी गराउनेको सङ्ख्यामा ९५.५ प्रतिशत हो ।

पूर्ण संस्थागत सुत्केरी घोषाणा गर्न ९५ प्रतिशतले स्वास्थ्य संस्थामा सुत्केरी गराएको हुनुपर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस