नेपाल एयर लाइन्सको व्यवस्थापन नसुधारे सरकारले सहयोग गर्दैन : प्रधानमन्त्री ओली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल एयर लाइन्सको व्यवस्थापन नसुधारे सरकारले सहयोग गर्दैन : प्रधानमन्त्री ओली


१६ असार २०७६, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायु सेवा निगमले व्यवस्थापनलाई तत्काल सुधार गर्नुपर्ने बताएका छन् । निगमको ६१ औं वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले निजी विमान कम्पनीहरु सबै नाफामा जाने तर सरकारी विमान कम्पनी मात्र निरन्तर घाटामा जानुको कारण के हो ? भनेर प्रश्न गरेका छन् । “वायु सेवा निगम ६१ बर्षमा ३७ अर्ब घाटामा गएछ यसको कारण के हो ?” प्रधानमन्त्री ओलीले भने, “यथास्थितीमा निगमलाई सरकारले एक पैसा पनि दिँदैन । ”

प्रधानमन्त्री ओलीले व्यवस्थापनले स्पष्ट कार्ययोजना सरकारलाई पेश गर्नु पर्ने र त्यसलाई कार्यन्वयन गर्ने दृढता पनि हुनुपर्ने बताएका छन् । उनले निगमको व्यवस्थापन तत्काल सुधार गर्नु पर्ने बताए ।

आकासमा उड्नु पर्ने निगमका जहाज सधैं विमानस्थलमा देखिनुले पनि निगमको व्यवस्थापन पक्ष कस्तो छ भनेर अनुमान गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ छ । “एकपटक एयरर्पोटमा निगमका जहाज बग्रेल्ती देखेपछि मैले सोधें, नेपाल एयरलाइन्सका जहाज त धेरै रहेछन् नि !” केही समय अघिको प्रसंग स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, “तर मैले जवाफ पाएँ कि यी जहाज नउडेर यहाँ देखिएका हुन् । उडेका भए सबै जहाज आकासमा हुन्थे । निगम पनि नाफामा जान्थ्यो । ”

निगमका निर्णयहरु हचुँवाका भरमा हुने गरेको प्रधानमन्त्रीले बताएका छन् । “गन्तव्य कहाँ हो थाहा छैन वाइड बडी किनेको छ, पाइलट छैन जहाज किनेको छ” उनले भने, “यस प्रकारका निर्णयले निगम धरासायी हु्ँदै गएको हो ।” प्रधानमन्त्री ओलीले जापानको नारिता विमानस्थल र युरोपियन देशहरुमा उडानको तयारी गर्न पनि व्यवस्थापनलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस