भूकम्पपछि ४० नयाँ बस्ती, जो बन्दै छन् पर्यटकीय आकर्षणका केन्द्र « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भूकम्पपछि ४० नयाँ बस्ती, जो बन्दै छन् पर्यटकीय आकर्षणका केन्द्र


प्रशासन विशेष ब्युरो

१२ असार २०७६, बिहिबार


काठमाडौँ । विनाशकारी भूकम्पले नेपालीलाई बलियो संरचना बनाउनु पर्छ भन्ने मात्रै सिकाएन, नयाँ संस्कृति र परम्परा धान्न आर्थिक लाभ लिँदै गरिने पर्यटन व्यवसायमार्फत लाभको बाटोसमेत देखाइरहेको छ । भूकम्पपछि पुनर्निर्माण भएका नयाँ एकीकृत बस्ती पर्यटकीय आकर्षणको गन्तव्य बन्ने भएका छन् । पुनर्निर्माणले जन्माएका नयाँ बस्तीलाई प्याकेज बनाउने र पर्यटकीय आकर्षणको गन्तव्यसमेत बनाउन सकिने विषयमा पर्यटन व्यवसायीलेसमेत चासो देखाएका छन् ।

पछिल्लो समय उभिएका नयाँ एकीकृत बस्तीमा पुनर्निर्माण प्राधिकरणबाट अनुमति लिएका र निर्माणाधिन तथा केही सम्पन्न भएकासमेत गरी विभिन्न जिल्लामा ४० वटा बस्ती छन् । यस्ता बस्तीमा सिन्धुपाल्चोकमा १० वटा घरको राउतटोलदेखि गोरखा लाप्राकमा बनिरहेको ५ सय ७३ वटा घर भएका गुप्सीपाखासम्मका एकीकृत बस्ती छन् ।

‘आवासीय प्रयोजनका निम्ति बनाएका यस्ता घर पर्यटकीय आकर्षणको निम्ति बनाइएको थिएन तर निर्माण सम्पन्न भएपछि देखिएको सुन्दर बस्तीले त्यो सम्भावनालाई पनि देखाइदिएको छ’, प्राधिकरणका विज्ञ सदस्य ध्रुव शर्माले भने । उनका अनुसार पहिलो आवश्यकता भूकम्पपछि नयाँ बस्ने आवास चाहिएको थियो । विभिन्न ठाउँमा छरिएर रहेका घर तथा जोखिममा रहेका क्षेत्रलाई एकै ठाउँमा निर्माण गर्न सहज हुने देखियो । बस्ती निर्मातारूले पनि सहजीकरण नै खोजे त्यसैले एकीकृत बस्ती बनाउन प्रोत्साहन पनि दिइएको शर्माले बताउँछन् ।

सामूहिक रूपमा निर्माण भएपछि यस्ता बस्ती पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्नु निकै सकारात्मक हो । यसमा पर्यटक जाने, दृश्यावलोकन गर्ने, पर्यटकीय गतिविधि पाइने तथा ग्रामीण पर्यटनको विकास हुनुले ग्रामीण क्षेत्रको आयआर्जनमा थप प्रोत्साहन मिल्ने शर्मा सम्झन्छन् । ग्रामीण पर्यटन विज्ञ डा. प्रेम शर्माका अनुसार गाउँस्तरमा रहेको पर्यटनलाई नयाँ बस्तीले थप आकर्षित गर्न सक्नेमा विश्वस्त हुन सक्ने आधार प्रशस्त छन् ।

उनका अनुसार गोरखाको लाप्राकलाई नै हेर्ने हो भने नेपालको सबैभन्दा ठुलो नमुना बस्तीको रूपमा हेर्न सकिन्छ । यो स्थान पहिले हिमाली जिल्लाको पर्यटकीय गाउँ भनिन्थ्यो अहिले पुनर्निर्माणपछि देखिएको आकर्षणले भने थप मनमोहक बनाउन सजिलो भएको छ । परैबाट देखिने दृश्यले पर्यटकलाई आकर्षित गर्न यस्ता ग्रामीण बस्ती प्रभावकारी हुने डा. शर्मा बताउँछन् ।

ग्रामीण क्षेत्रमा रहेको पर्यटकीय सम्पदालाई फुर्सदको समयमा घुमफिर गरेर उपयोग गरिने क्षेत्र पनि हो ग्रामीण पर्यटन हो । यसलाई खल्तीभरि पैसा भएका वा विभिन्न रुचि, चाहना वा तिर्सना भएका व्यक्तिलाई घुमफिर गराएर, रसस्वादन गराएर, मनोरञ्जन दिलाउँदै गर्ने आय आर्जनको विधाको रूपमा पनि लिन सकिन्छ डा. शर्माले थप्छन् । ग्रामीण पर्यटन हाम्रो गाउँघरमा भएका संस्कृति र सम्पदाको उपभोग गरेर पाइने आर्थिक उपार्जनको माध्यमसमेत हो । त्यसैले पछिल्लो समय ग्रामीण पर्यटनको सशक्त विधाका रूपमा घरवास (होमस्टे) पर्यटन यस्ता एकीकृत बस्तीमा पनि जरुरी रहेको छ । यसमा विभिन्न संस्कृति र सम्पदालाई पस्किएर पर्यटकहरूलाई आकर्षण गराउने काम होमस्टेमार्फत गर्न सकिने भएकोले पनि यसलाई थप प्रवर्द्धन गर्दै जानुपर्ने बुझाई उनको छ ।

पछिल्लो समय देखिएका देशभरका नयाँ एकीकृत ग्रामीण बस्ती नेपालको विकासको नमुना हुने र पर्यटकलाई आकर्षित गराउने, बढी भन्दा बढी खर्च गराउन सक्ने माध्यम हुन सक्ने बुझाइ पनि डा. शर्माको छ । यसमा पर्यटन क्षेत्र आम्दानी पाउने र पर्यटकले पैसा खर्चने काम हुन्छ । यसलाई यसरी पनि जोड्न सकिन्छ । जहाँ ग्रामीण पर्यटन हुन्छ त्यहाँ आर्थिक कारोबार भएकै हुनुपर्छ । आर्थिक कारोबार नभए त्यो पर्यटन भएन । अब यस्ता क्षेत्रलाई ग्रामीण क्षेत्रको पर्यटकीय गन्तव्यको नयाँ ब्रान्ड र छविको रूपमा विकास गर्नुपर्छ ।

नयाँ पर्यटकीय गाउँ स्थापना भएपछि पक्कै पनि व्यवसायीले प्याकेज बेच्ने र पर्यटकलाई नयाँ स्थानमा जान उत्साहित बनाउने सोसाइटी अफ टुर एन्ड ट्राभल एजेन्ट्स(सोट्टो) नेपालका अध्यक्ष मधुसूदन उपाध्यायले बताए । उनका अनुसार यस्ता नयाँ बस्तीमा पर्यटकीय सेवा र सुविधा पनि आवश्यक हुनुपर्छ । यस अघि पर्यटक पुगिरहेकै स्थान भएकोले अब थप आकर्षित प्याकेजका रूपमा बिक्री गर्न कुनै समस्या नहुने उपाध्यायको भनाइ छ ।

नेपाल पर्यटन वर्ष २०२० ले पनि पर्यटकलाई नयाँ ठाउँमा पुर्‍याउने र फरक गतिविधिलाई प्रवर्द्धन गर्ने काम गरिरहेको छ । यस्तो कामलाई थप प्रभावित बनाउन सकिने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी बताउँछन् । पर्यटन वर्षको अभियान पनि पर्यटक बढीभन्दा बढी नेपाल ल्याउने, ग्रामीण क्षेत्रसम्म पुर्‍याउने, साहसिक गतिविधि गराउनेसहितको लाईफटाइम एक्सपीरियन्स गराउने नै हो । यो अभियानमा नयाँ पर्यटकीय बस्ती पर्यटकीय आकर्षणको गन्तव्य बन्न सक्छ । यसलाई पर्यटकीय प्याकेजमार्फत थप प्रवर्द्धन गर्न स्थानीय तहसँगको सहकार्य हुनुपर्ने बुझाइ जोशीको छ ।

यी हुन् पर्यटकीय सम्भावनाका एकीकृत नयाँ बस्ती
दोलखाको भीमेश्वर नगरपालिकामा एक सय ८३ घरको जिलु बस्ती, सिन्धुपाल्चोकको मेलम्चीमा ६२ घरको जरायो टार, खोटाङको रुपाकोट मझुवागढीमा २० घरको खावाडाँडा टोलको बस्ती बनिरहेको छ । काठमाडौँको शंकरापुर २० घरको शंकरापुर बस्ती, सिन्धुपाल्चोकको मेलम्चीमा एक सय ६४ घरको सामुदायिक पर्यटन सहयोगी बस्ती छ । रापेछापको मन्थलीमा २४ घरको गाइखुरा माझी बस्ती, दोलखाको बिगुमा २४ घरको चिप्लेढुंगा, गोरखा भीमसेन नपा मा एक सय ४० घरको मिलन बस्ती, सिन्धुपाल्चोकको हेलम्बुमा ५८ घरको तेम्बाथाङ बस्ती निर्माणाधिन छ ।

सिन्धुपाल्चोककै मेलम्चीमा ७० घरको गिरानचौर, काभ्रेको मण्डनदेउपुरमा ४० घरको तीन धारा, धादिङको नीलकण्ठमा ४९ घरको बस्ती, ओखलढुङ्गाको मोलुङमा १४ घरको फुयाँल बस्ती निर्माणाधिन छ । सिन्धुपाल्चोककै मेलम्चीमा २४ घरको भवनीशंकर सिग्देलटोल, हेलम्बुमा ३२ घरको नोर्बुलिग, मेलम्चीमा ३२ घरको थाक्ले, भोटेकोशी गाउँपालिकामा १० घरको राउत टोल, एक सय ८४ घरको त्यागथली, मेलम्चीमै २४ घरको हैबू र ५३ घरको माझी बस्ती निर्माण भइरहेको छ । निर्माणाधिन ४० वटा यस्ता नयाँ बस्तीमध्ये १५ वटा सिन्धुपाल्चोकमै रहेको छ ।

दोलखाको भीमेश्वरमा ७८ घरको सुस्मा क्षेमावती, नुवाकोटको तादीमा ५१ घरको खरानी टार, रामेछापको लिखु तामाकोशीमा २४ घरको दुरागाँउ, स्याङ्जाको अर्जुन चौपारीमा ३५ घरको तिल डाँडा सामुदायिक बस्ती रहेको छ । खोटाङको रुपाकोट मझुवागढीमा २५ घरको रामनाथ बसेरी, रसुवाको उत्तरगयामा २५ घरको तिरु, रामेछापको दोरम्बामा ३० घरको गुम्साल र पर्वतको फलेवासमा १२ घरको अर्चले एकीकृत बस्ती निर्माणाधिन रहेको छ ।

यस्तै गैरआवासीय नेपाली सङ्घले गोरखाको लाप्राक गुप्सीपाखामा सबैभन्दा ठुलो पाँच सय ७३ घरको एकीकृत बस्ती बनाइरहेको छ । सिन्धुपाल्चोकमै अक्सफामले सेलाङमा १९ घर, सुनकोशीमा ३६ घरको, नुवाकोटको जफाडीमा १८ घरको, धर्मेमा १४ घरको, दुप्तेश्वरमा ७४ घरको, किम्ताङमा २४ घरको र शान्तिबजारमा ३७ घरको लागि एकीकृत बस्ती बनाउने अनुमति प्राधिकरणको प्रदान गरेको छ । यस्तै धुर्मुस सुन्तली फाउन्डेसनले काभ्रेको पहरीमा २० घरको र सिन्धुपाल्चोकको गिरानचोरमा ६५ घर बनाएर समुदायलाई हस्तान्तरण गरिसकेका छन् । श्वेता श्री फाउन्डेसनले सिन्धुपाल्चोकमै ६३ घरको र इसिमोडले ९० घरको निम्ति नमुना बस्ती बनाउने गरी प्राधिकरणबाट अनुमति लिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस