बालिकाको मृत्युपछि बन्द रहेको जिल्ला अस्पताल सञ्चालन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बालिकाको मृत्युपछि बन्द रहेको जिल्ला अस्पताल सञ्चालन


९ असार २०७६, सोमबार


गौशाला । बालिकाको मृत्युपछि आइतबार दिनभरि बन्द रहेको महोत्तरीको जिल्ला अस्पताल आज बिहानैदेखि सञ्चालन भएको छ । जलेश्वर नगरपालिका–३ खैरा गाउँ बस्ने प्रमोद यादवकी छोरी चार वर्षीया शिवानी यादवको डाक्टरले उपचार नगरिदिँदा मृत्यु भएको भन्दै उनको परिवारजन र स्थानीयको एक समूहले बालिकाको शव जिल्ला अस्पतालको मूलढोका अगाडि राखेर अस्पतालमा तालाबन्दी गरेपछि आइतबार दिनभरि सो अस्पताल बन्द रहेको थियो ।

मृतक बालिकाका परिवारजन तथा युवाको समूहले अस्पतालको ओपिडी, स्वास्थ्य कार्यालय, स्वास्थ्य कार्यालय प्रमुख डा राजीव झाको क्वार्टर र बालिकालाई उपचारको लागि ल्याइएको बेला ड्युटीमा रहेको तर अस्पतालमा उपचारको लागि नआएका डा केशर चौधरीको क्वार्टरमा तालाबन्दी गरी दिएका थिए । तर अस्पतालको आकस्मिक कक्ष भने सञ्चालनमा नै रहेको थियो ।

आइतबार बिहान ४ बजेतिर अत्यधिक झाडाबान्ता लागेर उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएकोमा ड्युटी भएका डाक्टर केशर चौधरी तथा स्वास्थ्य कार्यालय प्रमुख डा. राजीव झासमेत नआइदिएको र उपचारमा रहेका जुनियरले बालिकालाई उपचारै नगरी जनकपुर रेफर गरिदिएपछि बालिकाको बाटैमा मृत्यु भएपछि आक्रोशित परिवारजनले बालिकाको शव अस्पतालमा राखेर बन्द गराएका थिए ।

तालाबन्दीका कारण अस्पतालका ओपिडी सेवा, ल्याब र स्वास्थ्य कार्यालय सञ्चालन नभएपछि सेवाग्राही मारमा परेपछि आइतबार नै जिल्ला प्रशासनमा बसेको पीडित पक्ष र अस्पताल प्रशासनबीच दोषी देखिएका डाक्टरलाई कारवाही तथा स्वास्थ्य कार्यालय प्रमुख झालाई समेत कारवाहीको लागि विभाग र मन्त्रालयमा लिखितरुपमै पत्राचार गरिएपछि आज बिहानैदेखि सो अस्पताल सञ्चालन भएको हो ।

दोषी डाक्टर तथा स्वास्थ्य कार्यालय प्रमुख झामाथि कारवाहीको लागि सहमतिपश्चात् बालिकाको शव अन्तिम संस्कारको लागि लगिएको थियो भने आज बिहानैदेखि अस्पताल पूर्ववत् नै सञ्चालन भएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस