सोचमा रुपान्तरण आवश्यक : मुख्यमन्त्री भट्ट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सोचमा रुपान्तरण आवश्यक : मुख्यमन्त्री भट्ट


७ असार २०७६, शनिबार


लम्की । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिगो विकास र समृद्धिका लागि सोचमा परिवर्तन आवश्यक रहेको बताएका छन् ।

आज कैलालीको टीकापुर नगरपालिकाको पाँचौं नगरसभा अधिवेशनमा विशेष सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले हिजोको सोच, कार्यशैली र चिन्तनबाट अघि बढेका विकास सम्भव नरहेको बताए ।

‘‘नागरिकले परिवर्तन चाहेका छन् । अब हामीमा नयाँ सोच, फरक कार्यशैली, काम गर्ने फरक तौरतरिका आवश्यक छ ।’’ मुख्यमन्त्री भट्टले भने, ‘‘जनताका चाहना पूरा गर्न जटिलता छ, समस्या पनि छन् । यी कठिनाइसँग जुध्न सोच परिवर्तन गर्न आवश्यक छ ।’’

मुख्यमन्त्री भट्टले जनप्रतिनिधि, प्रशासनिक कर्मचारीमा सबैभन्दा पहिले परिवर्तन आउन आवश्यक रहेको बताए । उनले हिजोको व्यवस्था, हिजोको कार्यशैलीमा काम गरेमा जनताका अपेक्षा पूरा गर्न कठिन रहेको बताए ।

‘‘स्थानीय तहमा योजना छनोटको समय छ । विकास प्रभावकारी नभएको गुनासो छ’’ मुख्यमन्त्रीले भने, ‘‘अब योजना छनोटदेखि नै भूगोल र वस्तुस्थिति सुहाउँदो योजना छानौँ, कम्प्युटरमा बसेर योजना बनाउँदा विकास दिगो भएन ।’’

उहाँले योजना कार्यान्वय परिपाटीसमेत फितलो रहेको स्वीकार गर्दै कार्यान्वयन कार्य परिमाणमुखी बनाउन सुशासन, पारदर्शीतामा जोड दिनुपर्ने बताए । ‘‘प्राविधिक, प्रशासनिक कर्मचारी र राजनीतिक व्यक्तिबीच तालमेल मिलेको छैन, तालमेल मिलाएर काम गर्न आग्रह गर्दछु’’ मुख्यमन्त्री भट्टले भन्नुभयो, ‘‘प्रदेश सरकारले भ्रष्टाचार न्यूनीकरणको अभियान चलाएको छ यसमा स्थानीय सरकारका प्रतिनिधिले साथ दिनुपर्छ ।’’

टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममा नगर गौरवका योजनाअन्तर्गत भौतिक पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन, शैक्षिक विकास, आर्थिक विकासमा जोड दिएको छ ।

नगरपालिकाले २०७५÷७६ को मुख्य उपलब्धि र आगामी वर्षका १५२ नीति प्रस्तुत गरेको छ । नगरसभाले असार १० गते नीति तथा कार्यक्रम अनुरुप वार्षिक बजेट ल्याउने तयारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस