घरघरमा खानेपानी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

घरघरमा खानेपानी


७ असार २०७६, शनिबार


वालिङ । खानेपानीको जोहो गर्दैमा दैनिकी गुजारेका यहाँका ५४ घरपरिवारमा पानीसँगै खुशियाली छाएको छ । स्याङ्जाको वालिङ–७ हिलेपानीस्थित गुजारेमा लिफ्टिङ गरी खानेपानी गाउँमा पुर्याइएको हो ।

गाउँभन्दा झण्डै ११० मिटर तल बाहुनधारा मूलबाट १६ सोलार प्यानलको माध्यमबाट पानी तानिएको छ । वालिङ नगरपालिकाका इञ्जिनीयर दीपेन्द्र मल्लका अनुसार मुहान र गाउँमा २०÷२० हजार लिटरको ट्याङ्की निर्माण गरिएको छ । घर नजिकै खानेपानीको मुहान नहुँदा यहाँका बासिन्दालाई पानी ओसार्नमै दिन बित्ने गरेको बाहुनधारा हर्रेडाँडा लिफ्टिङ खानेपानी योजना हिलेपानीका अध्यक्ष विक्रान्त अधिकारीले बताए ।

“सिँचाइको त कुरै छाडौँ खानेपानीसमेत नहुँदा दैनिकी कष्टकर बनेको थियो”, उनले भने, “अहिले योजना सम्पन्न भई गाउँमै खानेपानी पुगेपछि घण्टौँ समय बिताउनुपर्ने बाध्यता हटेको छ ।”

वालिङ नगरपालिकाले चालू आर्थिक वर्षमा १५ लाख र गत आवमा सात लाख रकम विनियोजन गरेको थियो । स्थानीयवासीले करीब दुई लाख बराबरको जनश्रमदान गरी खानेपानी आयोजना निर्माण गरेको वडासदस्य इन्द्रबहादुर गुरुङले बताए ।

चौवन्नमध्ये ४४ परिवार दलित समुदायको रहेको छ । दैनिक पानी खोल्ने कर्मचारीलाई मासिक दुई हजार पारिश्रमिक उपलब्ध गराउने र मर्मतसम्भार कोष स्थापनासमेत गर्ने योजना रहेको अध्यक्ष अधिकारीले बताए । रासस

प्रतिक्रिया दिनुहोस