सामाजिक रुपान्तरणमा साहित्यको विशिष्ट स्थान : राष्ट्रपति भण्डारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सामाजिक रुपान्तरणमा साहित्यको विशिष्ट स्थान : राष्ट्रपति भण्डारी


प्रशासन संवाददाता

३ असार २०७६, मंगलबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साहित्य सिर्जनाले माटोको सुगन्ध प्रस्तुत गरी मुलुकको सामाजिक रुपान्तरणमा विशिष्ट स्थान दिएकाले यसबाट नीति निर्माणसमेत सहयोग पुग्ने बताएकी छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको कविता महोत्सव, २०७५ का पुरस्कृत कविलाई आज शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति भण्डारीले कविले नेपाल राष्ट्र र नेपाली जनताका भावनालाई आत्मसात् गरी अनमोन कविता लेख्नु खुशीको विषय भएको व्यक्त गरेकी हुन् ।

उनले भने, ‘कविले विविध भाव, विचार, प्रकृति र संस्कृतिका साथै सामाजिक रुपान्तरणमा विशिष्ट स्थान दिनु गौरवको विषय हो । साहित्यिक पर्यटनका माध्यमबाट मुलुकलाई साहित्यकारले योगदानसमेत दिन सक्नेछन् ।’

समारोहमा विसं २०७५ को कविता महोत्वसमा प्रथम हुने फूलमान बल, दोस्रो सुनिता खनाल र तृतीय हुने मेनुका चापागाईं र एलिना दुलाललाई पुरस्कृत गरियो । तृतीय हुने अर्का कवि जीवन खत्री उपस्थित रहेका छन् ।

यसैगरी विसं २०७२ का प्रथम र दोस्रो हुने कवि क्रमशः प्रोल्लास सिन्धुलीय र सरस्वती राईको बाँकी पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा पुरस्कृत कविले आफ्ना कविता वाचन गरेका थिए ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कविलाई सिर्जनामा उत्प्रेरित गर्ने उद्देश्यले विसं २०२२ देखि कविता महोत्वसको आयोजना गरिएको बताउँदै प्रतिष्ठानले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो सम्बन्ध विकास गरेको जानकारी दिए ।

प्रतिष्ठानका सदस्य सचिव प्रा.जगतप्रसाद उपाध्यायले आगामी दिनमा महोत्वसलाई अझ व्यवस्थित र देशव्यापी बनाउने बताए भने काव्य विभागका प्रमुख प्रा. डा.हेमनाथ पौडेलले आउँदो असार ९ गते हुने कविता महोत्वसको छनोटमा वाचनका लागि अलग्गै १० पूर्णाङ्क तय गरिएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस