चार दिनदेखि उडान नहुँदा दुई सय यात्रु अलपत्र « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चार दिनदेखि उडान नहुँदा दुई सय यात्रु अलपत्र


३ असार २०७६, मंगलबार


उडान रद्द

सोलुखुम्बू । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहुँदा यात्रु अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुननसकेको जनाइएको छ ।

बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरेपछि शुक्रबारदेखि कुनै पनि विमानले उडान भरेका छैनन् । सोमबार सात उडान तालिका भए पनि एउटा पनि उडान भएन । उडान प्रभावित हुँदा करीब दुइ सय स्वदेशी तथा विदेशी यात्रु लुक्लामै बस्न बाध्य भएका छन् । खुम्बू क्षेत्र भ्रमणमा आएका पर्यटकले प्रयोग गर्ने विमानस्थलको विकल्प नहुँदा पनि यात्रुलाई समस्या भएको हो । केही यात्रु लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाडौं गएका छन् भने अन्य यात्रु मौसम अनुकूल हुने पर्खाइमा बसेका छन् ।

सल्लेरीदेखि खुम्बूपासाङल्हामु गाउँपालिका–१ खारिखोलासम्म यसै वर्ष सडक सञ्जाल पुगेको छ । तर खरिखोलासम्म पुग्नका लागि माप्यदूधकोशीको वडा नं २ र माप्यदूधकोशीकै वडा नं १ जोड्ने दूधकोशी नदीमा पुल नहुँदा सिधा सवारी सम्पर्क टुटेको हो । हिउँदमा ह्युमपाइप राखेर सिधा यातायात सञ्चालन भए पनि करीब एक महीनायता पानीको बहाव बढेपछि सवारी आवागमनमा समस्या भएको हो ।

आगामी वर्ष खुम्बूपासाङल्हामु गाउँपालिका केन्द्रसम्म सडक सञ्जालले जोड्ने गरी काम भइरहेको छ । प्रदेश र सङ्घीय सरकारबाट समेत यस क्षेत्रको सडक विस्तारलाई ध्यान दिने प्रतिबद्धता भएको छ ।

सगरमाथासहित विभिन्न हिमालको अवलोकन गन पर्यटकका लागि हवाईयात्राबाहेकको विकल्प नभएकै कारण र्षौँदेखिको समस्या ज्युँका त्युँ छ ।

लुक्लामै यात्रु रोकिएपछि त्यहाँको होटलमा केही चहलपहल बढेको छ । पर्यटकीय ‘सिजन’ सकिएसँगै यस क्षेत्रका होटल व्यवसायीसमेत बाहिर जाने गर्छन् । यस क्षेत्रको लागि आम्दानीको मुख्य स्रोत नै पर्यटन भएकाले होटल व्यवसायी सिजन सकिएपछि घुम्नका लागि काठमाडौंलगायतका क्षेत्रमा निस्कने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस