मेलम्चीपछिको दोस्रो ठूलो खानेपानी आयोजना पोखरामा, मन्त्री मगरद्वारा शिलान्यास गरिने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मेलम्चीपछिको दोस्रो ठूलो खानेपानी आयोजना पोखरामा, मन्त्री मगरद्वारा शिलान्यास गरिने


प्रशासन संवाददाता

२६ जेष्ठ २०७६, आइतबार


काठमाडौं । खानेपानीको क्षेत्रमा अहिलेसम्मकै दोस्रो ठूलो आयोजनाको निर्माण पोखरामा सुरु हुने भएको छ । पोखरास्थित मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले पोखरामा खानेपानी सुधार आयोजनाको काम सुरु गर्न लागिएको हो ।

खानेपानी मन्त्रालयको उपत्यका बाहिर सुरु हुन लागेको यो पहिलो ठूलो आयोजना हो भने मेलम्ची पछि मन्त्रालयको खानेपानीको क्षेत्रमा सुरु हुन लागेको यो दोस्रो ठूलो आयोजना हो । यो आयोजनाबाट कास्की पोखरा महानगरपालिका क्षेत्र भित्र दैनिक साढे ४ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने मन्त्रालयले जनाएको छ ।

खानेपानी मन्त्री बिना मगरले उक्त आयोजनाको शिलान्यास आउँदो जेठ २८ गते मंगलबार गर्ने कार्यक्रम छ । अबको तीन वर्षमा उक्त आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पोखरामा खानेपानी सुधार आयोजना सुरु गर्न जापान सरकारले नेपाललाई ४ अर्ब ८१ करोड रुपैंयाँ अनुदान दिने सम्झौता गरेको थियो ।

सोही सम्झौता अनुसार खानेपानी मन्त्रालय अन्तर्गतको नेपाल खानेपानी संस्थानले आयोजनाको काम अघि बढाउन लागेको छ । जापानले यो अनुदान रकम सिभिल ठेक्काको लागि दिएको संस्थानले जनाएको छ । जापानले दिएको कुल अनुदान रकममध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियो । जसमध्ये हाजमा एन्दो कर्पोरेशन कम्पनीले अनुमानित लागत रकम भन्दा ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो ।

हाजमा कम्पनीसँग संस्थानले २०७५ फागुन २४ गते सम्झौता गरेको थियो । हाजमा कम्पनीले ३ अर्ब ९४ करोड २७ लाख रुपैयाँमा उक्त कामको ठेक्का पाएको हो । खानेपानीको क्षेत्रमा यो अहिलेसम्मकै ठुलो आर्थिक सहयोग भएको संस्थानका महाप्रबन्धक डा.भुपेन्द्र प्रसादले बताए ।

दैनिक साढे ४ करोड लिटर पानी प्रशोधन गर्ने प्लान्ट मर्दी खोलामा राखिने र खानेपानी आपूर्तिका लागि १ सय किलोमिटर पाइप बिछ्याइने आयोजनाको डेपुटी प्रोजेक्ट म्यानेजर निरन महर्जनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस