नेकपा सचिवालय बैठक स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा सचिवालय बैठक स्थगित


२३ जेष्ठ २०७६, बिहिबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेकाले स्थगन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकका लागि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका शीर्ष नेता पुगे पनि एकछिन बसेर बैठक स्थगन गरियो । ‘दुवै अध्यक्षद्वयले केन्द्रीय सदस्यको कार्यविभाजन तथा जिल्ला कमिटीका इञ्चार्ज र सहइञ्चार्ज तोक्नेबारे अझै गृहकार्य पुगेन भने’, उनले भने, ‘ त्यसैले आज सबै सचिवालयका सदस्य जम्मा भए पनि एकछिन बसेर बैठक स्थगन गरियो ।’

अर्को बैठक युरोप भ्रमणपछि

उनका अनुसार प्रधानमन्त्री ओलीको युरोप भ्रमण सकेर आएपछि मात्र सचिवालय बैठक बस्नेछ । प्रधानमन्त्री शनिबारदेखि युरोपको साताव्यापी भ्रमणमा जानुहुने बताइएको छ ।

पार्टीको आज बस्ने सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्य विभाजन तथा जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाउने तयारी गरेको थियो । केन्द्रीय सदस्यको कार्य विभाजन र जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज तोक्ने विषयमा मङ्गलबारदेखि नियमित बैठक बस्दै आएको थियो ।

कार्यविभाजन सकाएपछि बाँकी रहेका साङ्गठनिक एकीकरणका अन्य काम र थप कार्यविभाजनका विषयमा समेत प्रवेश गर्ने पार्टीको तयारी थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस