पशुपति मन्दिरको अर्बौंको सम्पत्ति सार्वजनिक, ९ किलो सुन, एक अर्ब २९ करोड नगद « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

पशुपति मन्दिरको अर्बौंको सम्पत्ति सार्वजनिक, ९ किलो सुन, एक अर्ब २९ करोड नगद


प्रशासन संवाददाता

२२ जेष्ठ २०७६, बुधबार


काठमाडौं । पशुपति क्षेत्र विकास कोषले सम्पत्ति विवरण सार्वजनिक गरेको छ । कोषको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन समितिले बुधबार पत्रकार सम्मेलन गर्दै कोषको नगद, सुनचाँदी र जग्गाबारे जानकारी दिएको हो ।

कोषमा एक अर्ब २९ करोड नगद, ९ किलोग्राम सुन र ३ सय १६ किलोग्राम चाँदी र १८ हजार ३ सय ४२ रोपनी जग्गा रहेको कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । कोषले २०१९ सालदेखि २०७५ सालसम्मको विवरण सार्वजनिक गरेको हो ।

२०१९ सालभन्दा अघिको विवरण भने कोषले खुलाएको छैन । नगद रकम भने विभिन्न बैंकमा जम्मा गरिएको छ ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदको २०७४ कात्तिक ६ गतेको निर्णयअनुसार गठन भएको पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन तथा छानबिन समितिले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।

समितिले ०७४ कात्तिक १६ गतेदेखि काम सुरु गरेको थियो । अध्ययनको लागि समय अपुग भएपछि ०७५ साउन २९ मा समितिको म्याद छ महिना थप गरिएको थियो ।

पशुपतिनाथ भण्डार तहबिलबाट प्राप्त तायदाती मुचुल्का अनुसार वि.सं. २०१९ देखि २०६८ सम्म ८ किलो २ सय ३२ ग्राम सुन र १ सय ७५ किलो ४ सय ५८ ग्राम चाँदी मूल ढुकुटीमा दाखिला भएको देखिएको छ ।

त्यस्तै ०६८ देखि ०७५ सालसम्म सम्पत्ति संरक्षण महाशाखाबाट प्राप्त विवरणअनुसार १ हजार ४४.६४ ग्राम सुन र १ लाख ४१ हजार १ सय २८.७५ ग्राम चाँदी ढुकुटीमा जम्मा भएको छ। समितिले वि.सं. २०१९ भन्दा अगाडिको तायदाती मुचुल्का फेला पार्न नसकेको पनि जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस