भद्रपुर । अर्जुनधारा नगरपालिकाले महिला स्वयंसेविकालाई जनताको घरघर पठाएर घरधुरी कर उठाउन शुरु गरेको छ । ११ वडा रहेको नगरपालिकामा ३५ स्वयंसेविका घरघर पठाएर नगरले बनाएको मापदण्डअनुसार घरधुरी कर उठाउन जेठ १४ गतेबाट शुरु गरेको कार्यालयका सूचना अधिकृत डेनजनी आचार्यले बताए।
उनका अनुसार गत वर्षदेखि नै घरधुरी कर लिने नौ प्रकारको मापदण्ड बनाएर नगरपालिकाले जनताकै घरमा पुगेर कर उठाउन थालेको हो । उनले फुसको साधारण घरको रु २०, टिनको छानो सेन्ट्रल बेरा गरिएको एक तलाको रु ६०, टिनको छानो एक तला पक्कीको रु ८०, पहिलो तला ढलाई गरिएको र दोस्रोमा टिनको छानो लगाएकोमा रु १५०, पक्की घर एकतलाको रु.१५०, दुई तलेको रु २२०, तीन तलेको रु ३००, चार तले भएमा रु ४५० र चार तलाभन्दा माथि भएमा रु ६०० का दरले घरधुरी कर उठाउने गरिएको बताए ।
उनले अन्य नगरपालिकाले एकीकृत सम्पत्ति कर र सम्पत्ति कर लगाए पनि अर्जुनधारा नगरपालिकाले भने मालपोत र घरधुरी कर मात्र लगाएको बताए । मालपोत भने जनताले आआफ्नै वडामा तिर्ने गरेका छन् । स्वयंसेविका गाउँका कुना कुनासम्म पुगिरहेका र सबैसँग परिचित हुने हुँदा उनीहरुलाई दैनिक रु एक हजार भक्ताको व्यवस्था गरेर काममा लगाइएको सूचना अधिकृत आचार्यले बताए।
विसं २०६८ को जनगणनाअनुसार ६० हजार २०४ जनसङ्ख्याअर्थात् हाल ७० हजार बढी जनसङ्ख्या र १३ हजार १३६ घरधुरी रहेको छ । वडा नम्बर ६ मा खटिएकी तुलसा कुँवरले दैनिक ४५ घर परिवारकोमा पुगेर अनिवार्य घरधुरी कर उठाउन नगरले नियम बनाएको बताए । उनले सोही नियमअनुसार नै घरमूली भेटिने समय पारेर आफूहरुले काम गरिरहेको बताए । रासस