ट्रमामा बेथिति : हाकिमको मनपरी, कर्मचारी रुष्ट « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

ट्रमामा बेथिति : हाकिमको मनपरी, कर्मचारी रुष्ट


प्रशासन विशेष ब्युरो

१७ जेष्ठ २०७६, शुक्रबार


मुलुकको एउटा मात्रै ट्रमा सेन्टरमा बेथिति मौलाएको छ । २०७२ को भूकम्पपछि पूर्णरुपमा सञ्चालनमा आएको ट्रमा सेन्टरमा औषधि उपचार, उपकरण खरिद तथा सञ्चालन तथा कर्मचारी व्यवस्थापनलगायत सबै क्षेत्रमा लथालिङ्ग देखिएको छ । यति सम्मकी सिनियर डक्टरलाई पाखा लगाएर जुनियरलाई मेडिकल सुपरिटेन्डेन्ट(मेसु) बनाएपछि अस्पताल व्यवस्थापनमा नै चरम असन्तुष्टि देखिएको छ । मनपरी कर्मचारी भर्ना गर्ने देखि अस्पतालका सरसफाइ कामदारलाई घरको काममा लगाउनेसम्मका बेथिति मौलाएको खबरपछि प्रशासन टिम अस्पताल पुगेको थियो र अस्पतालका विभिन्न कर्मचारीसँग गरेको छलफलका आधारमा सतहमा आएको विषयवस्तु यस्ता छन् ।

सिनियर हुँदाहुँदै जुनियर हाकिम
११ औँ तहको मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी रहेको ट्रमा सेन्टरमा वीरका सिनियर ५० औँ डक्टरहरूलाई पाखा लगाउँदै १० औँ तहका डा. प्रमोद कुमार यादवलाई निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट बनाइएको छ ।
वीर अस्पतालमा स्थायी दरबन्दी भएका डा. यादवभन्दा सिनियर १० औँ तहकै डक्टरहरूको सङ्ख्या पनि उत्ति नै धेरै छ । हाल डा. ममता कोइराला भट्टराई, श्रीकृष्ण गिरी डा. प्रमोद उपाध्याय(मेसु भइसकेको व्यक्ति), डा. प्यास दाहाल र रुद्र मराशिनी लगायत ११ औँ तहका डक्टरहरू ट्रमा सेन्टरमा १० औँ तहका निमित्त प्रमुखको मातहतमा काम गरिरहेका छन् ।

‘कुनै दिन यस्तो नआउला भन्न सकिन्न कि उपसचिवको मातहतमा सहसचिवले काम गर्नुपर्ने’ वीरका एक डक्टरले भने, ‘हेर्नुहोस् त यो बेथिति, ११ औँ तहका डक्टरहरू र मेसुसमेत भई सकेका व्यक्ति १० औँ तहको निर्देशनमा चल्नु पर्ने ?’

नियम विपरीत कर्मचारी भर्ना
केही दिन अघि मात्रै निमित्त मेसु यादवले केही यादव थरकै केही कर्मचारी भर्ना गरे । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी सेवा सर्त सम्बन्धी निर्देशिका २०६५ को दफा ३९ अनुसार ‘प्रतिष्ठानको कामको निमित्त तत्काल नियुक्त नगरेमा सेवाको काममा गम्भीर असर पर्ने भएमा उपकुलपति वा उपकुलपतिले तोकेको पदाधिकारीले कुनै व्यक्तिलाई दैनिक वा मासिक ज्यालादारीमा बढीमा छ महिनासम्मका लागि नियुक्त गरी काममा लगाउन सक्नेछ’ भन्ने उल्लेख छ तर निमित्त मेसु यादवले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने भन्दै ती कर्मचारीलाई नियुक्ति दिए ।

उनले वैशाख २२ गतेको मितिमा सहजकर्ताका रूपमा रौतहटकी गीता कुमारी यादव र सोही मितिमा आइटी इन्जिनियर सह सप्तरीकी स्नेहा यादवलाई नियुक्ति दिएका छन् ।

उनले नियुक्ति दिएका कर्मचारीको पत्र प्रशासन डटकमसँग सुरक्षित छन् । जबकि अस्पतालमा स्टाफ नर्सको अभाव छ तर भर्ना गरिएको छ दरबन्दी नै नभएका कर्मचारी ।

सुरुमा आफ्नै अधिकारभित्र पर्ने जिकिर गरेका डा यादवले ऐनमा भएको व्यवस्था पढेर सुनाएपछि सह कुलपति(स्वास्थ्य मन्त्री उपेन्द्र यादव)ले अधिकार दिएको पत्र आफूसँग भएको बताए ।

उनले भने ‘उपकुलपति भन्दा माथि सह कुलपति हुने र सहकुलपतिले आफूलाई आर्थिक, प्रशासनिक र ११ औ तहको मेडिलक सुपरिटेन्डेन्ट बनेर काम गर्ने अधिकार दिएको छ ।’

कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ । जसअनुसार प्रधानमन्त्री केपी शर्मा ओली यसका कुलपति हुन् ।

अस्पतालका सरसफाइ कामदारलाई घरेलु काममा
अस्पतालका लागि भनेर नियुक्त गरेका सरसफाइ कामदारलाई निमित्त मेसु यादवले घरेलु काममा प्रयोग पाइएको छ । ती कामदारले ‘बरु जागिर छोड्छु तर घरमा काम गर्न जाँदैन’ भन्ने गरेको अस्पतालकै एक कर्मचारीले बताए । उनको अस्पतालमा हाजिर देखिएको छैन ।

नमस्ते गाड्रेनिक कन्सल्टेन्सीमार्फत ट्रमा सेन्टरमा सरसफाइ कामदार नियुक्त भएकी एक महिला सरसफाइ कामदारलाई आफ्नो घरमा छोरा हेर्न लगाएको बुझिएको छ ।

अस्पतालका सरसफाइ कामदार घरेलु काममा लगाएको बारे सरसफाइ आफ्नो कर्मचारी नै नभएको डा. यादवले बताए । ट्रमाले पैसा तिरेर राखेका कर्मचारी कसका त ? भन्ने प्रश्नमा उनले ‘कहाँ खटाउँछ भन्ने ठेकेदारको जिम्मा हुने’ भन्दै पन्छिए ।

अस्पताल कर्मचारीको विरोध र सञ्चारमाध्यमको खोजीनितीपछि उनले ती कर्मचारीलाई अस्पतालमै फर्काएका छन् । एक साताका लागि भनेर घरमा काम गर्न लगेकी उन महिनौँ पुग्न लाग्दा पनि अस्पतालमा हाजिर नदेखिएपछि अस्पतालकै कर्मचारीले विरोध गरेका थिए ।

अस्पताल स्रोतका अनुसार सरसफाइ कामदारका लागि ठेकेदारसँग भएको सम्झौताबमोजिमका कर्मचारी सङ्ख्या भन्दा कम सङ्ख्यामा कर्मचारी पठाइरहेको बुझिएको छ । चालु आर्थिक वर्षका लागि ७० जना कर्मचारीका लागि सम्झौता भएकोमा ६५ जना मात्रै काम गरिरहेको स्रोतले बतायो ।

उपलब्ध गराउने भनिएका सबै कामदार अस्पतालमा काम गरिरहेका छन् त ? भन्ने अर्को डा. यादवले त्यसमा ठेकेदारको त्रुटि रहेको र आफूले अध्ययन गरिरहेको बताए ।

यही बिचमा विभिन्न छ वटा टेन्डरसमेत भएका छ । जसमा ल्यावरोटरी सामान प्याक वन–प्याक टु, छपाई, स्टेशनरी, कपडा र सरसफाइ केमिकलको बोलपत्र आव्हान भएको छ ।

बजेट अख्तियारी उपकुलपतिलाई आएको भए पनि मन्त्रीको पत्रको आधारमा आफूलाई अधिकार दिएको भन्दै निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टले स्वीकृत, रद्य तथा संशोधन गर्दै आएका छन् ।

त्यसो त अस्पतालमा मगाउने गरेका ग्यास सिलिण्डरहरुको मूल्य विगत र अहिलेमा फरक फरक रहेको बुझिएको छ ।

कमिसनको चक्करमा गरिबको सहायतामा चलखेल
सरकारले गरिब जनताका लागि भनेर स्पाइनल इन्जुरी र हेड इन्जुरीका लागि एक लाख रुपैयाँ सुविधा दिएको छ । तर, त्यसको सदुपयोग नहुँदा गरिब नागरिकहरूले दोब्बर मूल्यमा इम्प्लाण्ट किनिरहेका छन् । जसमा डक्टर र व्यापारीको मिलेमतोमा गरिब नागरिकको ढाड सेक्ने काम भएको सेन्टरका एक कर्मचारीले प्रशासनलाई बताए । उनका अनुसार दोब्बर मूल्यमा बिरामीले सामान किल्न लगाउने र त्यसबाट आएको कमिसन व्यापारी र डक्टरले बाँडेर लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस