आजदेखि काठमाडौं–रुम्जाटार–विराटनगर उडान « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

आजदेखि काठमाडौं–रुम्जाटार–विराटनगर उडान


प्रशासन विशेष ब्युरो

१७ जेष्ठ २०७६, शुक्रबार


ओखलढुंगा । काठमाडौं–रुम्जाटार–विराटनगर नियमित हवाइ उडान हुने भएको छ। आज शुक्रबारदेखि हरेक साता संघीय राजधानी काठमाडौँबाट ओखलढुंगाको रुम्जाटार हुँदै प्रदेश १ को राजधानी विराटनगरसम्मको हवाइ सेवा सुरु हुने भएको हो।

करिब तीन वर्षदेखि ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान सुरु गर्न लागिएको प्रदेश सांसद अम्बिरबाबु गुरुङले जानकारी दिए।

रुम्जाटार विमानस्थल नियमित सञ्चालनमा आएपछि पर्यटन प्रबर्धनसँगै यस क्षेत्रका नागरिकलाई आवतजावतमा निकै सहज हुने उनको भनाइ छ।

यसअघि गत असोजमा तयारी गरिए पनि यात्रु अभावका कारण रुम्जाटारमा उडान सुरु हुनसकेको थिएन। नेपाल वायुसेवा निगमको विमानले हरेक शुक्रबार रुम्जाटारमा उठान भर्ने तयारी गरिरहेको निगमका क्षेत्रीय प्रबन्धक नारायण पुरीले बताए।

अहिले सातामा एक दिन सेवा दिने र यात्रुको चापका आधारमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरेर थप अरु दिन पनि उडान भर्ने योजना रहेको प्रबन्धक पुरीको भनाइ छ।

उनका अनुसार हरेक शुक्रबार काठमाडौं–रुम्जाटार–विराटनगर र विराटनगर–रुम्जाटार–काठमाडौं उडान भर्ने निगमको तयारी छ।

प्रतिक्रिया दिनुहोस