सरकारी कर्मचारीको तलब बढ्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारी कर्मचारीको तलब बढ्यो


प्रशासन विशेष ब्युरो

१६ जेष्ठ २०७६, बिहिबार


काठमाडौँ । सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ ।

बुधवार संसदमा आर्थिक वर्ष २०७६/०७७ को बजेट पेस गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलववृद्धि गरेका बताएका हुन् ।

बजेट भाषण अनुसार फरक–फरक अनुपातमा आधारभूत तलब बढाएको छ । राजपत्र अनंकित(नायव सुब्बा)सम्म २० र राजपत्रांकित(अधिकृत) भन्दा माथिका कर्मचारीको १८ प्रतिशत तलब वृद्धि गरिएको छ ।

जसअनुसार ५५ हजार दुई सय २० विद्यमान तलबमान रहेका मुख्यसचिवको १८ प्रतिशत वृद्धिपछि ६५ हजार एक सय ३६ हुने छ भने २२ हजार एक सय ७० रहेको खरिदारले २० प्रतिशत वृद्धिपछि २६ हजार ६ सय चार तलब बुझ्नेछन् ।

शिक्षक, कर्मचारी, सेना, पुलिसलगायत सरकारी तलब खाने सबैको तलब २० प्रतिशतले बढ्ने छ ।

सरकारी तलब भत्ता खाने राष्ट्रसेवक कर्मचारीको तलबसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, मन्त्री, सांसद, मन्त्री र राज्यमन्त्रीको पनि तलब वृद्धि हुनेछ ।

तीन वर्ष यता तलब नबढेपछि सरकारी कर्मचारीले सरकारमाथि दबाब सिर्जना गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली आफैँले पनि कर्मचारीको तलब बढाउने प्रबन्ध गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस