आज विहानै सामाजिक सञ्जालमा एकजनाको उद्गार आयो ” म सवैको लागि थिएँ , तर मेरो लागि कोही थिएन ,” यो उद्गारमा ठूलो पीडा र रोदन छ । यसमा परिवार , समाज र मित्रहरुप्रति गुनासो र अत्यन्त निराशा छ। मलाई उहाँसित सोध्न मन लागेको छ , तपाईं अरुको लागि हुनुहुँदो रहेछ , तर तपाईं तपाईंको लागि हुनुहुन्छ कि हुनुहुन्न ? मलाई सोधौं सोधौं लागेको छ , तपाईंले अरुलाई त चिन्नुभएछ , तर आफैलाई चिन्नुभयो ? तपाइंलाई तपाईं कस्तो लाग्छ ? मानौं तपाइंलाई आफू राम्रो लाग्छ रे ! तर आफूलाई अरुको नजरबाट हेर्नु भएको छ कि छैन ? तपाईंलाई अरुले कस्तो मान्दछन ?
काशीमा एकजना ब्राह्मण थिए , पण्डित विश्रामनाथ । विश्रामनाथको चारैतिर ठूलो नाम र इज्जत थियो , बडो उदार , दानी र दयालुको छवि थियो । उनले एकशय पटक भागवत सुनेका थिए , सातपटक चारधाम गरेका थिए , रोज गङ्गास्नान गर्दथे , विश्वनाथको दर्शन गर्दथे । प्रत्येक बिहान शिवस्तोत्र , विष्णु सहस्रनाम र गीता पाठ गर्दथे । वैकुण्ठवास सुनिश्चित थियो , मानिसहरु यसै भन्थे ।
एकदिन पण्डितले सपना देखे , भयङ्कर सपना , आफ्नै मृत्युको सपना ! लास तात्तातै थियो , छिमेकी र कुटुम्बका मानिसले कत्ति पनि बिलम्ब नगरी बाँधबुँध कसकास गरे र रामनाम सत्य हो भन्दै गंगाजीमा लिएर गए । उनलाई जलाइयो , पण्डित खरानी भए । उनी सपनामा देख्दै छन् , उनको मृत्युमा कोही रोए , कोही भन्दै थिए जाओस यो वाँच्नु के मर्नु के ! तर कोही भन्दै थिए यो पण्डित बाहिर जे हो भित्र त्यही होइन , यो ढोंगी हो आडम्बरी हो जाली हो ।
भौतिक शरीरविहीन पण्डितलाई कुनै अज्ञात शक्तिले इशारा गर्दै एउटा ठूलो चोकमा लिएर गयो । त्यही चोकबाट लोक परलोक जाने धेरै बाटाहरु छुट्टिन्थे । उनलाई एउटा अजङ्गको , मोटो कालो र राता राता आँखा भएको यमदूतको सामुन्ने उभिन लगाइयो । उनी थरथर काँपे , तर अर्को मनले भन्यो , मैले यत्रो धर्मकर्म गरेको छु , मलाई केको डर ! दूतले उनीमाथि यसो नजर मात्र लगायो , न सीताराम न राधेश्याम न जय शम्भो ! यत्रो तिरस्कार ? दूतले पण्डितलाई हातको इशाराले नर्कको बाटो देखायो , ट्राफिक प्रहरीले जस्तैगरी । धेरै सवालजवाफ गर्ने गुन्जायस थिएन । यमट्राफिक प्रहरी खाता हेर्थे , इशारा गर्दथे र ट्राफिक क्लियर गर्दै जान्थे। यो अन्याय पण्डितलाई चित्त वुझेन , उनले भने ” मैले सातपटक चारधाम गरेको छु , एकशय पटक भागवत सुनेको छु , दिनदिनै गङ्गास्नान गरेको छु , विश्वनाथको दर्शन गरेको छु , विष्णु सहस्रनाम पाठ गरेको छु , गीता र शिवस्तोत्र पाठ गरेको छु। मैले गरिव र निमुखाहरूलाई मुफतमा खाना खुवाएको छु , आजीवन एकपत्नीव्रत वसेको छु , राम्रोसङ्ग खाता पल्टाएर हेर। ”
यमदूतले जवाफ दियो ” तिमी भागवत सुने , चारधाम गरें भन्दै दम्भ गर्दथ्यौ , चारधाम नगएकाहरुलाई खिसी गर्दथ्यौ , विश्वनाथ मन्दिरका दर्शनार्थीहरूलाई ” सव पापी हैं , पापका घडा भर्नेको है , दानपुण्यमे किसीका ध्यान नहीं है ” भन्दै निन्दा गर्दथ्यौ । गीता आदि पाठ गर्दा एक्लै हुँदा लटरपटर पार्थ्यौ , मानिसले सुनेको बेला जोडजोडले हल्ला गर्दै पाठ गर्थ्यौ । तिमी एकपत्नीवाला त हौ तर एकापत्नीब्रती थिएनौ। गङ्गास्नान गर्न जाँदा वेश्यालाई देखेर मुखले धिक्कार धिक्कार भन्थ्यौ , तर मनमनमा आफ्नी पत्नीमा त्यही वेश्या खोज्थ्यौ , वेश्याप्रति आशक्त थियौ ।
गरिवहरुलाई मुफतामा खाना त खुवाउंथ्यौ , तर त्यसको दोब्बर चन्दा उठाएर नाफा खान्थ्यौ । चित्रगुप्तको खाता हो यो , वनारसी बनियाको खाता हैन । लौ भन पण्डित अव के भन्छौ ? ” पण्डित सपनाबाट झल्यास्स जागे , उनको शरीर काँपिरहेको थियो , उनी पसिनाले छपक्क भिजेका थिए । पण्डितलाई महसुस भयो , उनले त आफ्नो मूल्यांकन गर्नै बाँकी छ , जीवनभर अरुलाई खोजेरै बिताए , अरुको मूल्यांकन गर्नमा समय खर्च गरे । अरुमा खरावी खोज्नमै र निन्दा गर्नमै मग्न भए , तर आफैमा आफूलाई खोजेनन I किन्तु यो स्वीकारोक्ति पसिना ओभाएपछी खत्तम भयो , जीवन पूर्ववत अरुको खोजीमै बित्न थाल्यो।
राजकुमार सिद्धार्थले सुरुसुरुमा मानव जीवनबारे अरुसङ्ग नै प्रश्न गरेका थिए , तर उत्तर चित्त वुझेन । सिद्धार्थ आफैलाई खोज्न निस्के घरबाट , त्यो चानचुने गमन थिएन , सानो प्रस्थान थिएन , युगान्तकारी महाप्रस्थान थियो। उनले आफैसङ्ग प्रश्न गरे , किनकि उनले आफैलाई खोज्नु थियो । तर अर्जुनले आफ्ना प्रश्नहरु आफैसङ्ग हैन अरुलाई सोधे किनकि उनले आफूलाई जित्नु थिएन , अरुलाई जित्नु थियो । युवराज देवब्रतले आफ्नो खुसी अरुमा खोजे , कामुक र मदान्ध वाबुको खुसीमा आफ्नो खुसी खोजे . जो क्षणिक भावावेस मात्र थियो । उनी मिथ्यामा जोसिए। उनमा त्यागी बन्ने भूत सवार भयो जसले उनको जीवन मात्र वर्वाद पारेन कुरुबंशको विनासको कारक समेत बन्यो । भीष्म आफ्नो प्रतिज्ञाको बन्दी बनेर जीवनभर तड्पिरहे ।
महेन्द्र आफै राजा थिए , जनताले सम्मान र श्रद्धा गर्थे , देशमा निर्वाचित सरकार थियो , राजावादी प्रधानमन्त्री थिए । तर राजा महेन्द्रको अतृप्त चेतनाले बीपीलाई प्रतिष्पर्धी देख्यो , बीपी रहे आफू नरहने ठहर गरे । महाशक्ति अमेरिकाको राष्ट्रपति ट्रम्प सायद आफूमा आफू हैन उत्तर कोरियाली युवा तानाशाह किमलाई खोज्दै छ । उत्तर कोरियामा किमले जे भन्यो त्यही हुन्छ , उसले कसैलाई सोध्नु पर्दैन , कसैको व्यवधान छैन उसलाई , सर्वेसर्वा छ , सर्वोच्च छ , सार्वभौम छ , एक्लै सिंगो राष्ट्र हो ऊ । त्यो युवा तानाशाहमा उसको देशको मिडियाले भगवान देख्दछ , तर अमेरिकाको जननिर्वाचित राष्ट्रपतीमा आफ्नै देशको मिडियाले राक्षस देख्दछ ।
नरेन्द्र मोदीको अतृप्त चेतनाले इन्दिरा गान्धी खोज्दै होला । गिरिजा बाबुले आफैमा बीपीलाई खोजे होलान , तर बीपी खोज्दैमा कहाँ भेटिन्छ ? राजा ज्ञानेन्द्रले आफूमा आफैलाई खोजेनन वाबु महेन्द्र खोजे , महेन्द्र बन्न खोजे तर त्यो असफल प्रयास थियो । केपी ओलीका कतिपय फ्यानहरु आफूलाई केपी ओली जस्तै बनाउने असफल धुनमा छन् । एक समयमा सवैजसो माओवादीले आफूमा आफू हैन प्रचण्ड खोज्दथे । उनीहरु आफ्नो बोली र हाउभाउलाई प्रचण्डमय बनाउँथे र उनकै अभिनय गर्दथे । प्रचण्ड स्वयंले पूर्वकालमा आफूमा माओत्सेतुंग खोजे , अहिले वुद्ध गान्धी खोज्दै छन् । उनी अझै पनि आफूलाई खोजेर आफैलाई चिन्ने र शान्तिसंग जीवन बिताउने मुडमा देखिंदैनन । सायद प्रचण्ड असीमित क्षमता भएका व्यक्ति हुन , तर उनी आफ्नो मौलिक पहिचान खोज्ने तर्फ लागेनन , बनीबनाउ सिद्धान्तको पछि लागे भावावेशमा I सायद उनी धेरै धपडी भई पसिनाले लुछुप्प भिजेको बेला काशीको पण्डित विश्रामनाथले जस्तै आफूलाई खोज्ने प्रयास गर्दछन होला , तर पसिना सुक्नासाथ पण्डितकै जस्तो पुनः पुरानै ढर्रा सुरु हुन्छ। आफूलाई खोजेर भेट्टाउने लगन टलिसक्यो , वुद्ध बन्छु भन्ने कुरा महामरुमा धान रोपे जस्तै हो । उनले सायद सानोसानो माओ त भेट्टाए होलान तर वुद्ध भेटाउनु असम्भव छ , उनी वुद्धलाई चिन्दैनन ।
जीवन आफूलाई दोष दिन तयार छैन , खोज्न तयार छैन , आफ्नो मूल्याङ्कन गर्न तयार छैन । यस्तो गर्ने हिम्मत नै गर्दैन जीवन । आफ्ना दु:ख , पीडा , मर्म , आफूमाथि भएको अन्याय र आफूलाई अरुले सताएका विषयको मात्र बखान गर्न तयार हुन्छ जीवन । अरुको कारण आफू मर्माहत भएको वेदना पोख्दछ जीवन । जीवन आफ्नो जीवनका काला पक्षबारे , आफ्ना कमजोरीबारे , आफ्नो स्वार्थ , लोभ काम र ईर्श्याबारे बाहिर पोख्नै मान्दैन । आफ्नो जीवनका कटु र सम्भावित आलोचनाका विषयलाई लुकाउने प्रयत्न गर्छ जीवन , आफूले आफैलाई झुक्याउने प्रयत्न गर्छ जीवन । घरबार बिगारेको जुवाडे , चौबीसघन्टे जंड्याहा र चोर जीवनले समेत आफ्नो दोष स्वीकार गर्दैन , संगतको कारण धोकामा परेको भन्दै चित्त बुझाउँछ । सार्वजनिक जीवन विताएका केही हिम्मतीले मात्र आफ्नो कमजोरी स्वीकार गरेको पाइन्छ । महात्मा गान्धीका बाबु बिरामी थिए , गान्धी बाबुको खुट्टा चांप्दै थिए , तर मन भने श्रीमतीको सम्झनामा व्याकुल थियो ।
बिरामी बाबुको गोडा चांप्दा पनि जुनसुकै नवविवाहित युवकलाई श्रीमतीको सम्झना आउँछ स्वाभाविक रुपमा । तर यो कुरालाई गान्धीले स्वीकार गरे । गान्धीले लेखेका छन् , बिरामी बाबुलाई परिवारको अर्को सदस्यले हेरचाह गर्ने पालो लिएपछि उनी आफ्नो कोठामा जान्छन र श्रीमतीसंग शारीरिक सम्बन्ध राख्न थाल्दछन , यस्तैमा कसैले ढोका ढकढक्याउंछ , अहो ! बाबु त मरेछन । गान्धीलाई ठूलो ग्लानी भयो , त्यो ग्लानीलाई आफ्नो आत्मवृतान्तमा पोखेर आफैलाई हलुका पारेका छन उनले। दिवाङ्गत गणेशमानले आफू किशोर वयमा हुँदा हुल्याहा र गुण्डो भएको वर्णन गरेका छन् । उनले घरबाट पैसा चोरेको , हजुरआमाको सुनको गहना उज्यालो पारेर ल्याउने निहुले मागेर लगेको र सो बेची उस्तै पित्तलको गहना ल्याएर दिएको कुरा स्वीकार गरेका छन । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराइले आफू अविवाहित भए तापनि कुमार नरहेको कुरा स्वीकार गर्नु सानो हिम्मत थिएन । राजनीतिज्ञ , लेखक तथा प्रखर वक्ता प्रदीप गिरीले आफू कुनै जनकल्याण गर्न या क्रान्तिकारी बन्न राजनीतिमा नलागेको , आफ्नी प्रथम प्रेमिकाले राजनीति पनि गर्नुपर्छ भनेकाले आफू राजनीतिमा लाग्न वाध्य भएको र त्यो निर्णय आफ्नो जीवनको ठूलो दुर्घटना भएको स्वीकार गरेका छन् ।
मानव आफूलाई खोज्ने झन्झट गर्ने मुडमा पहिले पनि थिएन , अहिले पनि छैन । राजा भ्रतृहरि प्रतापी थिए , विद्वान थिए , प्रजावत्सल थिए । उनी धेरै कुरा जान्दथे , तर आफूलाई अरुमा खोज्ने प्रवृत्ति उनमा पनि थियो । उनकै राज्यका एकजना महात्मालाई देवताहरुले एउटा अमर फल दिएका रहेछन , महात्माले प्रजाको सुख राजामा देखे र फल राजालाई दिए , ताकी राजा सधै तरुण , सुन्दर र अमर बनुन । राजाले सोचे यो त कान्छी रानी पिङ्गलालाई दिए पो फल खाएर सदा जवान , सुन्दर र अमर होलिन , राजाले त्यो फल रानीलाई दिए । तर बिडम्बना ! रानीले आफ्नो जीवनको खुसी एउटा नोकरमा देख्दथिन , रानीले त्यो फल प्राणप्यारो नोकरलाई दिइन । नोकर एउटी वेश्यालाई प्रेम गर्दथ्यो , उसले फल लगेर त्यही वेश्यालाई दियो , वेश्याले मनमनै राजालाई प्रेम गर्थी , उसले त्यो फल राजाकहाँ पठाई । मर्माहत भएका राजाले यस्तो श्लोक वाचन गरे –
याम् चिन्तयामी सततम् मयी सा विरक्ता
साप्यन्यमिच्छती जनम् स जनोंन्यशक्त
अस्मत्कृते च परिशुष्यति काचिदन्या
धिक्ताम् च तम् च मदनम् च इमाम् च माम् च
अर्थात ” मैले जसलाई दिलोज्यानले माया गर्दछु , उसले अरु कसैलाई माया गर्दछे , उसले जसलाई माया गर्दछे ऊ अरु कसैलाई प्रेम गर्दछ , ऊ जसको लागि मर्न तयार छ त्यो स्त्री म याने राजाप्रति आकर्षित छे । म यी सवै पात्र , यो सवै खेल रच्ने कामदेव र म आफैलाई समेत धिक्कार्दछु । ” जीवन सधै भोको , नाङ्गो र दरिद्र छ , किनकि ऊ आफूलाई हेर्दैन , आफूलाई पढ्दैन , आफ्ना आवश्यकतालाई पहिचान गर्दैन , कामनाको पहिचान गर्दछ । जीवन भौतिक रुपमा नहोस तर मानसिक रुपमा महा व्यभिचारी छ । जीवनले मानसिक भावमा शयौं बलात्कार गरिसक्यो , शयौंसंग पोइल गइसक्यो , शयौं डाँका डालिसक्यो , शयौंको घरमा आगो झोसिसक्यो । जीवन श्रीमानमा , श्रीमतीमा , प्रेमिकामा , हाकिममा , कारिन्दामा सवैमा अर्कै व्यक्ति खोज्दछ ।
वुद्धको निचोड छ , जीवन दुखी छ । वुद्धले दुखको कारण र त्यसको निवारण पनि पहिल्याएर जीवनलाई सरल बनाउने प्रयासमा आजीवन उपदेश दिइरहे। तर बिडम्बना , जीवनले आफ्नो सुख आफ्नो खोज र आफ्नो सन्तुष्टिमा हैन वुद्धलाई भगवान बनाउनेमा देख्यो । वुद्ध जीवनलाई भगवानको चक्करबाट बाहिर निकाल्न चाहन्थे , तर जीवनले वुद्धलाई नै भगवान बनाइदियो । यति गरेपछि जीवनलाई सजिलो भयो , वुद्धको उपदेश कितावमा लेखिदियो , उपदेश जीवनमा लागू गर्ने कुराबाट पढ्ने कुराना परिणत भयो । जीवनले वुद्धलाई पूजा गर्न थाल्यो , ऊ आफूलाई चिन्ने र खोज्ने झन्झटबाट मुक्त भयो ।
एकपल्ट भगवान नारायण इन्द्रसित खुव खुसी भएछन । भगवानले भनेछन – हे इन्द्र के माग्छस् ? माग् ! इन्द्रले भने – मलाई एकहज्जार जना विश्वसुन्दरी दिनुहोस । भगवानले भने – वेवकुफ ! अरु कुरा माग् , स्त्रीहरु त तँसंग जति पनि छन् । इन्द्रले भने – भगवन म त ती स्त्रीहरुमा अर्कैलाई खोज्दछु , तर पाउन्न । भगवान वचनमा चुकीसकेका थिए , एकहजार अप्सराहरु लाइन लगाइदिए । वाफ्रे ! सवैभन्दा अगाडि उभिएकी अप्सरा नै यति सुन्दर र आकर्षक थिई , इन्द्रको होस् हवास उड्यो। इन्द्रले भने – भगवन मलाई यही एकजना भए पुग्छ , अरु कोही चाहिन्न । भगवानले झपारे – वेवकुफ ! पछाडि अझै सुन्दर , वुद्धिमान , वलवान , ज्ञानी र शीलवान कन्याहरु छन् । तर इन्द्र एउटी परम सुन्दर तर परम मूर्ख केटीमै मुग्ध भए । जीवन इन्द्र जस्तै हो , पछाडि धेरै अवसर होलान , धेरै ज्ञान होलान , वुद्धि होलान र प्रज्ञा होलान , भन्ने विचार गर्दैन । अगाडि देखिने वस्तु सुन्दर र आकर्षक भए पुग्यो । चन्चल मनले लालच गर्यो , दिमागले पछिसम्म हेर्न चाहेन , फन्दामा पर्यो। अनि फेरि वेचैनी , फेरि अर्काको खोजी , फेरि असन्तुष्टि ! फिर वही साम वही गम वही तनहाई !
एकजना राजा घना वनमा दौडिरहेछन मृग लखेट्दै । आज इज्जतको सवाल छ । संगै आएका सेनापति परै छुटे , सिपाहीहरु वनमा बाटो बिराएर कताकता पुगे केही थाहा छैन । भोक लागिसक्यो , तिर्खा लागिसक्यो , हातखुट्टा गलिसके , तर इज्जतको सवाल छ ! राजालाई आफ्नो चिन्ता छैन , अरुको चिन्ता छ , अरुको अगाडि सान देखाउनु छ । विशेष मृग लखेट्दै छन् उनी , तेजिलो छ , राजाको वाणको परिधिभित्र आउँदै आउँदैन । सूर्यास्त हुनै लाग्यो । अचानक पछाडिबाट कोही गर्जेको आवाज आयो । राजाले पछाडि फर्केर हेरे , मेरा बाब्बै ! उनलाई ललकार्ने त सिंह पो रहेछ , बब्बर शेर , वन राजा ! भर्खर अघिसम्म राजाले अरु कसैलाई लखेट्दै थिए , अहिले कसैले उनलाई लखेट्दै छ । अव राजाको मनमा मृग छैन , काल छ महांकाल ! उनी बडो जोडले भागे । काल नआई मरिन्न रे , सिंहले त्यही मृगको शिकार गर्यो जसलाई राजा लखेट्दै थिए । राजा भौंतारिदै , थकित , पराजित र लज्जित हुँदै अर्कोदिन विहान मात्र दरवार पुगे । दरवारमा उनको व्यग्र प्रतिक्षा भइरहेको रहेछ। उनी थोरै चङ्गा भएर राजगद्दीमा वसे । अव कति निन्दा गर्ने होलान , कति खिसी गर्ने होलान ! तर आश्चर्य ! दरवारमा त उनको प्रतापको गुणगान हुँदै छ , विकट र निर्जन वनमा एक्लै रात विताएर सकुशल फर्कनु सानो कुरा हो ? जो कोहीले सक्छ यस्तो वीरता देखाउन ? प्रशस्तिवाचन हुँदै छ। यति सुनेपछि राजाको हिम्मत बढ्यो , केही मिनेट अघिको लज्जा , खेद र पराजय विजयमा परिणत भयो , राजाले आफ्ना कमजोरी र नालायकी बिर्से । राजाले घोषणा गरे – म त्यो मृग मारेर आउँदै थिएँ , बाटोमा एउटा वृद्ध भोको सिंह देखेर ज्यादै दया लाग्यो , मृग उसैलाई दिएर आएँ । सिंहले मृगको छाला , टाउको र खुर खाँदैन , सिपाही पठाएर खोजेर ल्याउनु I मृगको टाउको छाला र खुर दरवारमा ल्याएर सजाइयो , राजाको शिकार गाथा लेखियो । राजाले आफूलाई अरुमार्फत नै भेट्टाए , आफैमा खोज्ने लेठा गर्ने परेन I धेरै जीवनहरु यिनै राजाजस्ता छन , आफूलाई खोज्ने अरुहरु छँदैछन , आफूले खोज्नु पर्दैन ।
एउटा हाइस्कूलमा बडा परिश्रमी हेडमास्टर थिए। उनले जीवनका बिभिन्न पहलुबारे आफ्नै स्कूलमा विभिन्न प्रयोग र अनुसन्धान गर्दथे । एकदिन उनले कक्षा दशका चालीसजना छात्रछात्रालाई एउटा गृहकार्य दिएर पठाए। उनले भनेका थिए आफ्नो कक्षाका सवैजनाको नराम्रा बानीहरु लेखेर ल्याउनु । कुनै ढाकछोप नगरी लेखेर ल्याउनु , डराउनु पर्दैन , मेरै हातमा दिनु म गोप्य राख्नेछु। सवै छात्रछात्राले गृहकार्य वुझाए। उनीहरुले कसैलाई बाँकी राखेका थिएनन , एकसे एक दुर्गुणगरुको पुलिन्दा थियो गृहकार्य। तर कसैले पनि आफ्नो दुर्गुणको वर्णन गरेको थिएन , सबैले अरूकै निन्दा गरेका थिए , पोल खोलेका थिए । हेड सरले दुई कक्षाका छात्रछात्रालाई पनि गृह कार्य दिए । उनीहरुले बुझ्ने भाषामा यस्तै प्रश्न गरिएको थियो , कक्षाका सवैको दुर्गुणबारे लेखेर ल्याउनु पर्ने थियो । यहाँ हेडसरले गोप्य राख्छु पनि भन्नु परेन । दुई कक्षाका सवै छात्रछात्राले कक्षाको रोल नम्बर अनुसार क्रमशः सवैका दुर्गुणबारे लेखेर बुझाए । कुनै पनि बालबालिकाले आफूलाई छुटाएका थिएनन , आफूले पहिचान गरेका आफ्ना दुर्गुणहरु इमान्दारीसाथ लेखेर ल्याएका थिए । जीवन जति वयस्क र बाठो हुँदै जान्छ , त्यति नै आफूलाई खोज्न छाड्दै जान्छ ।