नदीको प्रदूषण व्यवस्थापन नहुँदा दुई लाख सर्वसाधारण प्रभावित « प्रशासन

नदीको प्रदूषण व्यवस्थापन नहुँदा दुई लाख सर्वसाधारण प्रभावित


प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलवार ०९:१३

बर्दिवास । “कैयौँ वर्ष बिते, तर यो विषालु पानीबाट छुटकारा भने पाइएन”, आफ्नै बस्ती नजिकबाट बग्ने बिग्ही नदीको प्रदूषित पानी देखाउँदै महोत्तरीको भङ्गाहा नगरपालिका–५ कर्पुरगञ्जका सामाजिक कार्यकर्ता रामजुलुम सरदारले भने । धनुषाको महेन्द्रनगरस्थित एभरेष्ट पेपर इण्डष्ट्रिज (उद्योग) ले ढलबाट आफ्नो उद्योगको प्रदूषित पानी बिग्ही नदीमा झारेपछि त्यसको असरले खेतीपाती र पशुपालन व्यवसाय प्रभावित भएको तर्फ कुनै निकायले चासो नदिएको नदी किनार बस्तीका सरदारसहितका बासिन्दाको गुनासो बढेको हो ।

“झण्डै ४० वर्ष हुन थाल्यो, हामी कराएको करायै छौँ, तर कसैले चासो दिएनन्”, बिग्ही प्रदूषणविरुद्ध लामो सङ्घर्षमा होमिदै आएका भङ्गाहा–९ सखुवाटोलका अर्का सामाजिक कार्यकर्ता घुरन यादव भन्छन्, “चरन क्षेत्रमा विषाक्त पानी बगिरहेपछि त्यो पानी पिएर वर्षेनी गाईवस्तु मर्ने र बिरामी हुने क्रम निकै बढेको छ, हामीले निरन्तर विषाक्त पानी व्यवस्थापनको माग राखेर लामो आन्दोलन नै चलायौँ, तर कुनै निकायले हाम्रा कुरा सुनिदिएनन् ।”

महोत्तरी जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका हुँदै भारत झर्ने बिग्ही नदीको प्रदूषित पानीले महोत्तरीका करीब दुई लाख जनसङ्ख्या प्रभावित भएका छन् । धनुषा उद्गमस्थल रहेर केही ठाउँ महोत्तरी–धनुषाको सीमा नदी पनि हो बिग्ही । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिकासम्म धनुषासँग सीमा नदी रहेको र लोहारपट्टी नगरपालिका टेकेपछि दुवैतर्फ महोत्तरीका बस्ती हुँदै भारतको मधुवनी जिल्ला झर्ने बिग्ही नदी वस्तुभाउको सघन चरनक्षेत्रमा नै बग्ने गरेको छ । महोत्तरीका भङ्गाहा, लोहारपट्टी, जलेश्वर र मटिहानी गरी चार नगरपालिका एवं महोत्तरी र पिपरा गरी दुई गाउँपालिकासहित छ स्थानीय तह बिग्ही नदी बहाव क्षेत्रमा पर्छन् । यसैगरी धनुषाका मिथिला र क्षिरेश्वर नगरपालिका एवं लक्ष्मीपुरबगेवा गाउँपालिका यो नदी प्रभावित क्षेत्र हुन् ।

एकताका खानेपानीका मूल कैयौँ ठाउँमा रहेको यो नदी क्षेत्रमा विसं २०३९ (सन् १९८२० मा धनुषाको महेन्द्रनगरमा एभरेष्ट पेपर उद्योग स्थापना भएयता उद्योगको ढलबाट झार्ने प्रदूषित पानी मिसिएपछि खानेपानीका मुहान (भुल्कने जरुवा पानीको मुहान) सुकेका छन् । “हेर्नोस् हजुर, हाम्रो यहाँको भूल (जरुवा) को पानी खान बटुवा निकै बेर प्यास (तिर्खा) खपेर यहाँ आउँथे”, भङ्गाहा–९ भीमगढका बासिन्दा श्यामनारायणसिंह थारूले पुरानो भुल्के पानी आउने खाल्डो देखाउँदै भने, “अहिले उद्योगले बगाएको गन्हाउने दूषित पानीले खाल्डो भरिएको छ ।”

बिग्ही नदी आफूहरुको जीवन रहेको विगत सम्झँदै नदी छेउका बस्तीका बासिन्दा अब नर्क बनेको गुनासो गर्छन् । “पशुपालन हाम्रो मुख्य पेशा थियो, बिग्ही किनारको घाँसेमैदान चरन थियो”, लोहारपट्टी नगरपालिकाको महदैया बस्तीका ७५ वर्षीय रामसुन्दर सहनीले बिरक्तिँदै भने, “बिग्ही नदी त हाम्रो जीवन थियो, प्रदूषित ढलको पानी झारिएयता अत्यन्त शुद्ध मानिने भुल्के पानीका मुहान सबै सुकेका छन्, प्रदूषित पानी खाएर पशु चौपाया बिरामी हुने र चाँडै मर्ने क्रम पनि बाक्लिएपछि हाम्रो पशुपालन चौपट भयो ।” प्रदूषित पानी खाएपछि दुधालु पशुको दूध स्याप्पै घट्ने गरेको पनि सहनीले बताए ।

उद्योगले ढल झारेको ठाउँदेखि नै नदीको पानी कालो भएको छ । नदीको पानी प्रदूषित भएपछि विसं. २०४० यता कैयौँ आन्दोलन भएका अहिले प्रदेश नं २ का प्रदेशसभा सदस्य भङ्गाहा–९ हरिनमरीकी बासिन्दा मञ्जु यादव बताउँछन् । “नदीमा झारिएको विषाक्त पानी व्यवस्थापनका लागि निकै लामा आन्दोलन भए”, प्रदेशसभा सदस्य यादवले भने, “पछि यो मुद्दा सर्वोच्च अदालत पुग्यो, अदालतले नदीमा झारिएको ढल अन्तै व्यवस्थापन गर्न आदेश पनि दियो, तर अदालती त्यो आदेश कहिल्यै कार्यान्वयन भएन ।”

महोत्तरीका पाँच स्थानीय तहका ४० बाहेक धनुषाका मिथिला र क्षिरेश्वर नगरपालिका एवं लक्ष्मीनियाँ गाउँपालिकाका धेरै बस्ती बिग्ही नदी किनारमा छन् । दुवै जिल्लामा बेग्लाबेग्लै र संयुक्त गरी विसं २०४० देखि २०६० सम्म कैयनपटक स्थानीय प्रशासन कार्यालयमा धर्ना, जुलुस र घेराउका आन्दोलन गरिएको विगत सम्झँदै अहिले जिल्ला समन्वय समिति महोत्तरीका अध्यक्ष रहेएका सुरेशप्रसाद सिंहले भने, “त्यत्रा आन्दोलन भए, सर्वोच्च अदालतले तत्काल नदीमा झारिएको ढल अन्त व्यवस्थित गर्न आदेश दिएको पनि २० वर्ष नाघ्यो, तर त्यो किन कार्यान्वयन भएन, बुझ्न सकिएन ।”

नदीमा बगेको प्रदूषित पानीले बालीनालीको उत्पादन र गुणमा समेत ह्रास ल्याएको महोत्तरीको यस भेगका पाका किसान बताउँछन् । नदी क्षेत्र नजिकका सर्वसाधारण तर्दा पैदलयात्रुलाई विषाक्त पानीको असरले छाला चिलाउने समस्या पनि हुने गरेको लोहारपट्टी नपाको बगडा बस्तीका सामाजिक, राजनीतिक कार्यकर्ता जगन्नाथ यादव बताउँछन् । “नियम कानून हेर्दा सरकारले वातावरणमा प्रतिकूल असर पर्न नदिन उद्योग स्थापना र सञ्चालनको मापदण्ड तोकेको देखिन्छ”, यादव भन्छन्, “तर उद्योग क्षेत्र वरपर कतै वृक्षरोपण गरेको वा वातावरण संरक्षण, प्रवर्द्धनका लागि केही गरेको देखिँदैन, विधिले अह्राएअनुसार खुरुखुरु काम भएको कहिले देखिएला ?”

पछिल्लोपटक विगतमा प्रदूषणविरुद्ध लामो आन्दोलन गरेका राजनीतिक कार्यकर्ता अहिले स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभामा पुगेर सरकारको जिम्मेवारीमा आएपछि केही नयाँ काम हुने आश पालेका यस भेगका बासिन्दा अब भने निराश भएका छन् । “यही प्रदूषणविरुद्ध कैयौँपटक धर्ना र घेराउ कार्यक्रममा सरिक भएका थुप्रै नेता अहिले नेतृत्वदायी ठाउँमा पुगेका छन्”, मटिहानीका बासिन्दा ८० वर्षीय प्रेस स्वतन्त्रता सेनानी विन्देश्वरीप्रसाद मण्डलले भने, “तीनै तहका सरकारले काम थालेका दुई वर्ष हुनै लाग्यो, तर यो प्रदूषित पानी व्यवस्थापनमा कसैको रुचि देखिएन, अब यो काम कहिले होला ?”

यसैबीच प्रदेश नं २ का उद्योग, वन तथा वातावरणमन्त्री रामनरेश रायले बिग्ही नदीको प्रदूषणबारे आफ्नो चासो रहेको बताएका छन् । “उद्योगले नदीमा झारेको ढलको प्रदूषित पानी अन्तै व्यवस्थित वा भरपर्दो वैज्ञानिक विधिले शुद्धीकरण गर्नैपर्छ”, मन्त्री रायले सञ्चारकर्मीसँग भने, “प्रदेश सरकारका तर्फबाट उद्योगलाई यसबारे सचेत गराइने छ ।” पछिल्लोपटक प्रदेश सरकारका मन्त्रीले यसबारे चासो बढाएपछि प्रदूषित पानीपीडित महोत्तरी र धनुषाका बासिन्दामा बिग्हीमा शुद्ध पानी बगेको हेर्ने दिन फेरि आउने झिनो आश जागेको छ । “खै गर्छौँ त भन्दैछन्, हुने कहिले हो, हेरौँ ?”, भङ्गाहा–३ का ६५ वर्षीय साहेव कवारीले भने ।

प्रदूषित पानी व्यवस्थापनको कुरा यस भेगका बासिन्दाले उठाइरहेबीच उद्योगले भने सधैँजसो आपूmले झारेका ढलको पानीले नदीको पानीको रङ कालो बनाएको भए पनि विषाक्त भने नभएको बताउँदै आएको छ । यस भेगका सर्वसाधारणको माग र उद्योगको अडानले भने समस्या सुल्झने छाँट नदेखिएको यहाँका बूढापाकाले आशङ्का गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस