गोलाई जिउलो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गोलाई जिउलो


गोकर्णप्रसाद उपाध्याय

११ जेष्ठ २०७६, शनिबार


पारिपट्टि वरिपरिका भीरपाखा र पहाड थर्काउँदै कहिलेकाहीँ झुल्किने अनि घोप्टिँदै आएर केही बेर बस्ने र केही थान मान्छे बोकेर खोंचैखोच उड्दै छिनभरमै ओझेल हुने ‘चिल गाडी’ बस्न बनाइएको देउलको समतल ‘एयरपोर्ट’ ।

बिचमा दिनमा कम र राती बेसी सुसाउने, हिउँदमा शान्त र वर्षामा उच्शृङ्खल हुने साइपालबाट हाम फाल्दै आएर समुन्द्रमा विलीन हुन हतारो भए झै गरी बगेकी कञ्चन सेती ।

बारी लटरम्म अन्न फल्ने, कहिले पहलपुर त कहिले हरियाली भई वर्षै भरी रङ् फेरिरहने विशाल, अर्धचन्द्राकार गोलाई जिउलो ।

त्यही जिउलोको भित्तोमा गरिब र सोझा मेरा हजुरबालाई खातीवाडा नर्या खातीले सित्तैमा जग्गा दिएपछि ठडिएको मेरो बुढो पुर्ख्यौली घर । जहाँ म जन्मिएँ, हुर्किए । कहिलेकाहीँ फुर्किए । उस्तै परे घुर्किए । जसको साक्षी छ घर तलको समतल गोलाई जिउलो । अनि घर माथिको उवडखावड चैते डाँडो ।

अद्भुतै राम्रो गोलाई जिउलो रङ् र भूमिका फेरिरहन्छ, तर धर्म फेरेको छैन । त्यसैले उ गाउँलेको सहारा हो । अन्न दाता हो । खोचा हुँदै सेती नदीबाट निकालिएको एउटा र गोलाई गाडको पानी बाँडेर बनाइएको अर्को गरी दुइटा कुलोको सिञ्चनले उर्वर छ ।

उसलाई चैत, वैशाखमा गहँु पाकेर सुनौलो देखिनबाट कसैले रोक्न सक्दैन ।

गहुँ काटेर गहुँका ‘पुला’ पिठ्युँमा बोकेर घरका खला खलामा झार्न लगिसकेपछि खुला जिउलो गाईबस्तुको चरिचरन स्थल बन्छ । त्यहाँका गाईबस्तु ठुलो फुटबल मैदानका खेलाडी जस्ता हुन्छन् । पुरापुर पशु स्वतन्त्रता । जे गरे पनि हुने । चाहे घाँस चरुन् । चाहे स्वच्छन्द दौडिउन । चाहे मैथुनमा सहभागी होउन् । चाहे जोसँग जुधुन् । चर्दाचर्दै भिरबाट लडेर मर्ने डर यो जिउलोमा कहाँ ?

चौपायाको भीडमा भैँसी अक्कल झुक्कल देखिन्थे । गाउँमा कसैले भैँसी पालेको खासै सुनिँदैनथ्यो । एक त गाई धार्मिक हिसाबले शुद्ध र शुभ मानिने । अनि पहाडमा पाल्न सजिलो भएकोले पनि होला ।

हामी केटाकेटीलाई सबैभन्दा मजा त गोरुहरू हुक्कारिदै एकापसमा जुध्दा लाग्थ्यो । कहिलेकाहीँ त जिउलोरुपी चौरका ठाउँठाउँमा धुलो उडाउँदै एकसाथ कैयौँ गोरुहरू जुध्थे । जता ठुलो भिडन्त, हामी उतै । अझ जित्ने गोरुले हार्नेलाई वल्लो छेउबाट पल्लो छेउसम्म खेदाएको हेर्ने रहर हुन्थ्यो । कसैको जुरो ठुलो, कसैका सिङ । कुन गोरु मोटो ? कुन तारे, कुन माले ? कुन राम्रो ? कसले जित्छ ? हाम्रो गोरु बुद्धि यस्तै यस्तै कुरामा रमाउँथ्यो ।

रोपाई सुरु भएपछि कालोबाट बिस्तारै हरियो बन्दै जाने जिउलो भित्तामा बस्ती र मुटुमा ‘डाँडीमान्या स्कुल’ राखेर बसेको थियो । बस्तीका अधिकांश घर तल्लो आधा भाग रातो माटो र माथिल्लो आधा भाग सेतो कमेरोले पोतेर स्लेटले छाइएका । अहिले पो पक्की घर बनेर गाउँको मौलिकता हराउदैछ ।

सफेदपोषमा ‘टिप टप’ भएर सदरमुकामबाट खोचा हुँदै मेरा बा र ठुला बालाई घरसम्म आउन अनि मलाई अक्षर चिनाउने स्कुलसम्म जान छातीमा बाटो दिने यही जिउला हो । यही जिउलो हो बेलामौकामा माइती आउँदा आलु उसिनेर पटुकीमा बाँधेर कोसेली ल्याउने डाँडागाउँकी फुपू हिँडेर आउने । बुढेसकालमा कम्मर कुप्रिसक्दा माया मात्रै भए पनि बोकेर दालवाडाकी फुपू आउने बाटो अन्त हुँदै होइन । बच्चै हुँदा मलाई छत्तिस बट्टा दूध पाउडरका बोकेर मेरा मामाले पचासौं पटक त्यही बाटो ओहोर दोहोर गरे हुन् ।

यी त भए घरका कुरा । तल्लो माथिल्लो गाउँ समाजका मान्छे मर्दा होस् या सहनाई बजाउँदै छोरीलाई बिदाइ गर्दा । पञ्चेबाजा ठोकेर दुलही लिन जाँदा किन नहोस् । काम खोज्न माल (तराई) झर्नेहरू । चौकीदारी गर्न बङ्रोट (बेङ्लोर) हिड्नेहरु । स्याउ टिप्न मन्सुरी पहाड जानेहरू । तीर्थाटनका लागि काशी, प्रयोग, बनारस, बद्री, केदार प्रस्थान गर्नेहरू । सबै सबै यही जिउलो ‘तरेर’ जान्थे । फरक यत्ति हो कोही जिउलोको वल्लो कुनाबाट प्रवेश गर्थे, कोही पल्लो ।

परिस्थिति, मनस्थिति र गन्तव्य अलग अलग भए पनि बाटो उही । हरेक खाले बटुवालाई गन्तव्यमा पु¥याउन गोलाई जिउलो जहिल्यै ‘रेडी’ । जानेहरू कोही खुसी लिएर फर्किन्थे, पल्लो गाउँसम्म गाइँगुई चल्ने गरी । कोही दुःख पाएरै भए पनि फर्किन्थे, दुईचार गाउँ चर्चा फैलिने गरी । र, जानेहरूको भीडमा कोही न आफू फर्किन्थे, न खबर आउँथ्यो, जिल्लै भरी चर्चा हुने गरी । तर ती सबैको पदचाप त्यही जिउलोमा हुन्थ्यो ।

मेरो घर परिवारको भातको स्रोत । त्यही भात निल्न सजिलो होस् भनी निकालिने भातको माडको स्रोत, यही जिउलो थियो । माड नभए कहिलेकाहीँ मेरी आमाले एक पन्यूँ भात निकालेर दुई अम्खोरा पानी र तीन दाना नुन हालेर बनाउने ‘सित्यापानी’ नामक दालको स्रोत पनि यही जिउलो ।

आली आलीमा गाउँलेका लागि मास र भटमास फलाउने र चौपायालाई घाँस उमार्ने भूमि यही हो । प्राय सिस्नुको झोल, भातको माड, ‘सित्यापानी’लाई दालको रूपमा खाने हामीलाई मास वा गहतको ‘तिहुन’ पाउनु ठुलै कुरा हुन्थ्यो । अझ हरियो भटमास उसिनेर खान पाउँदा ‘हेप्पी बड्डे’ पार्टी झै हुन्थ्यो । यो सबको श्रेय गोलाई जिउलोलाई जान्छ । यस्तो लाग्छ गोलाई जिउलो हुँदैनथ्यो भने त्यहाँको सभ्यता पनि हुँदैनथ्यो ।

बयेली चल्दा खेतमा लहलहै झुलेका धान वा गहुँमा हावा बगेको देख्न पाइन्छ । ढुङ्गा हान्दा तरङ्गित हुने शान्त पोखरी झै गोलाई जिउलालाई तरङ्गरत पार्न मात्रै आउँछ हावा पनि । उसलाई पनि जिउलाका फाँटहरूमा लडीबुडी गर्दै रमाउन खुब मज्जा आउँदो हो ।

अँधेरी रातमा झ्याउँकिरीको ‘झ्याउ झ्याउ’ र जुनकिरीको ‘पिलपिल’ । यस्तो लाग्थ्यो गोलाई जिउला माथि उड्ने जुनकिरी स–साना तारा हुन् र जिउलो आफैमा ‘मिनी’ आकाश । आकाशतिरको आकाश नभई जुनकिरीरुपी तारा चम्किने ‘भुईँतिरको आकाश’ ।

छुट्टै किसिमको समाजशास्त्र छ गोलाई जिउलोमा । जिउलोका गह्रागह्रा अनि कित्ता कित्तामा छन् धनी र गरिबका मुहार । यो फलानोको ‘फास्र्या’ त्यो फलानोको ‘मात्या’ ।

यही जिउलोले सिकाउँछ अन्नको महता । पाक्नै लागेका गहुँका हरिया बाला पोलेर ‘न्वा’ खानुपर्छ अनि हरियै धान भुटेपछि ओखलमा कुटेर ‘श्रीआमल’ बनाएर पहिले देउताको भाग छुट्ट्याउन पर्छ अनि आफूले खानुपर्छ । बाली भित्र्याउन लगिसकेपछि खेतका गह्रा गह्रामा छुटपुट धान वा गहुँका बाला टिपेर अन्नका गेडागेडाको सम्मान गर्नुपर्छ । सबै थोक यही जिउलोले सिकाउँछ ।

श्रमको न्यायिक बाँडफाँट पनि देखिन्छ यहाँ । खेत जोत्ने, खन्ने पुरुष जात । अनि रोप्ने, गोडमेल गर्ने, काट्ने महिला जात । बीउ छर्नु परे पुरुषकै खोजी । अन्नबाली झार्न पुरुष नै अघि सर्नुपर्ने । भकारीबाट झिकेर कुट्ने, पिस्ने र पकाउने काम भने महिलाको जिम्मेवारीमा आउने । महिला पुरुष एकै रथका दुई पाङ्ग्रा भन्ने प्रमाणित गर्ने गोलाई जिउलो अहिले पनि रङ् र भूमिका फेरिरहन्छ । आउने जानेलाई हेरिरहन्छ ।

(उपाध्याय नेपाल सरकारका उपसचिव हुन् ।)

प्रतिक्रिया दिनुहोस